ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण : बीआरआई कार्यान्वयनमा सँगै अघि बढ्ने प्रतिबद्धता

नेपाल र चीनबीच १८ समझदारी र २ लेटर अफ एक्सचेन्ज

Oct 14, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । नेपाल र चीनले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना कार्यान्वयनको सन्दर्भमा सँगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालको दुई दिने राजकीय भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएलगत्तै परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको १४ बुँदे संयुक्त विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ । चीनले अगाडि सारेको बीआरआईको रणनीतिलाई नेपाल र चीन दुवै देशले साझा विकास र समृद्धिको आधारका रूपमा स्वीकारेका छन् ।

विज्ञप्तिअनुसार चीनले अघि सारेको बीआरआई कार्यान्वयनको सन्दर्भमा दुवै देश सँगै अघि बढ्ने, बीआरआईको माध्यमबाट कनेक्टिभिटी, सडक, रेलवे, हवाई, सञ्चार र बन्दरगाहजस्ता भौतिक पूर्वाधार संरचनाको विकास गर्ने सहमति भएको छ । शनिवार आफ्नो सम्मानमा दिइएको रात्रिभोजमा चिनियाँ राष्ट्रपति सीको भाषणमा उल्लेख भएका कनेक्टिभिटीका कुराहरू, नेपाल–चीन सीमापार रेल आयोजना, उत्तरी नाकाहरू सुचारु गर्ने विषय संयुक्त विज्ञप्तिमा परेका छन् । चिनियाँ राष्ट्रपतिले बहुआयामिक कनेक्टिभिटी सञ्जालको निर्माणले नेपाललाई भूपरिवेष्टित मुलुकबाट भूजडित मुलुक बन्न सहयोग गर्ने र त्यसमा चीनको सहयोग रहने बताउनु भएको थियो । 

संयुक्त विज्ञप्तिमा हिमालय वारपार बहुविविधतापूर्ण कनेक्टिभिटी नेटवर्कमार्फत नेपालको विकासका एजेन्डालाई सम्बोधन गर्ने, सन् २०३० सम्म मध्यम आय मुलुकमा नेपालको स्तरोन्नति (अपग्रेड) गर्ने कुरामा दुवै मुलुक सहमत भएका छन् । 

नेपाल–चीन सीमापार रेल 
आयोजनाको सम्भाव्यता अध्ययनका लागि भएको समझदारीले सो रेलमार्ग निर्माणको आधार तयार पारेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । साथै, दुवै मुलुकले काठमाडौं–पोखरा–लुम्बिनी रेलवे परियोजनामा सहकार्य विस्तार गर्न प्रतिबद्धता व्यक्त गरेका छन् ।

विज्ञप्तिमा दुवै देशले झाङ्गमु÷खासा सुक्खा बन्दरगाह पुनः खोल्ने, जिलोंग/केरुङ बन्दरगाह र लिजी/नेचुङ बन्दरगाह समयमै खोलिसक्ने प्रतिबद्धता व्यक्त गरेको छ । अरनिको राजमार्गको मर्मत सम्भार र विस्तार, स्याफ्रुबेसी–रसुवागढी राजमार्गको मर्मतका लागि चिनियाँ पक्षले तत्परता देखाएको छ भने दुवै देशले जिलोङ/केरुङ–काठमाडौं सुरुङमार्गका लागि सम्भाव्यता अध्ययन गर्ने भएका छन् ।

उत्तर–दक्षिण कोरिडोर, कोशी आर्थिक कोरिडोर, गण्डकी आर्थिक कोरिडोर र कर्णाली कोरिडोरको विकासप्रति दुवै देशले प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै हवाई क्षेत्रमा पनि दुवै देशले सम्बन्ध विस्तारलाई जोड दिएको छ । विश्वव्यापी मुद्दा जलवायु परिवर्तन र वातावरणको संरक्षणको विषयमा पनि सहकार्य गर्ने तथा दुवै देशले सर्वोच्च शिखर सगरमाथाको उचाई वैज्ञानिक अनुसन्धानबाट मापन गरेर सार्वजनिक गर्ने उल्लेख छ । चिनियाँ पक्ष चीनको सिचुआन प्रान्तको चङ्तुमा नेपालको वाणिज्य दूतावास स्थापना गर्न सहमत भएको छ । दुवै पक्ष संयुक्त राष्ट्र संघ र अन्य बहुपक्षीय समुदायमा सहयोग अभिवृद्धि गर्न र विकासशील देशहरूको साझा हितको रक्षा गर्न सहमत भएका छन् ।

१८ समझदारी र २ लेटर अफ एक्सचेन्ज 
यसैबीच नेपाल र चीनबीच १८ समझदारी र २ लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीको उपस्थितिमा आइतवार ती समझदारीमा हस्ताक्षर भएको हो । यसअघि काठमाडौंको सोल्टी होटलमा आइतवार विहान प्रधानमन्त्री ओली र सी नेतृत्वको दुबै देशका प्रतिनिधि मण्डलबीच औपचारिक वार्ता भएको थियो । 

दुईपक्षीय वार्तापछि चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौं महानगरपालिका तथा केही उपमहानगरपालिका तथा सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको हो । ती समझदारीपत्र दुवै देशका परराष्ट्रमन्त्री, अर्थसचिव, गृह, परराष्ट्रसचिवलगायत सम्बन्धित मन्त्रालयका सचिव एवं नेपालका लागि चिनियाँ राजदूतले आदानप्रदान पनि गरेका थिए । नेपाल सरकार र चीन सरकारका उच्च अधिकारीले ती दस्तावेजमा आइतवारै हस्ताक्षर गरी आदान प्रदान गरेका थिए  ।

द्विपक्षीय हस्ताक्षरपछि सी आइतवार त्रिभुवन विमानस्थलबाट सिधै चीनको राजधानी पेइचिङ प्रस्थान गर्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओलीले सीलाई विदाई गर्नुभएको थियो । 

नेपालको दुई दिने राजकीय भ्रमणका लागि सी शनिवार भारतको चेन्नई हुँदैं नेपाल आउनु भएको थियो । सीले नेपाल रहँदा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री लगायत नेकपाका नेताहरूसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

सीको नेपाल भ्रमण पछिल्लो २३ वर्षमा चीनबाट भएको पहिलो उच्चस्तरीय भ्रमण हो । यसअघि सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गर्नुभएको थियो । राष्ट्रपति सीको साथमा विदेशमन्त्री वाङ यी, चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य दिङ सुइसियाङ, सीपीसीका विदेश मामला आयोगका निर्देशक याङ जेइची, सीपीसीका तिब्बत क्षेत्र हेर्ने सचिव यु यिङ जी लगायतका नेताहरू सहभागी थिए ।

हस्ताक्षर भई आदानप्रदान भएका दस्तावेज 
१.     नेपाल र चीनबीच सीमा व्यवस्थापन प्रणाली सम्झौता ।  
२.     नेपाल र चीनबीच शासकीय क्षमता अभिवृद्धि तथा आदानप्रदानसम्बन्धी समझदारीपत्र ।   
३. नेपाल र चीनबीच आपराधिक मामिलामा पारस्परिक कानूनी सहयोगसम्बन्धी सन्धि ।   
४.     नेपाल र चीनबीच सगरमाथा क्षेत्रको पर्यावरणीय संरक्षणसम्बन्धी समझदारीपत्र ।   
५.     नेपाल र चीनबीच राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच लगानी तथा सहयोग अभिवृद्धिसम्बन्धी समझदारीपत्र ।
६.     नेपाल र चीनबीच सिचुआन प्रान्तको राजधानी छन्दुमा नेपालको महावाणिज्यदूतावास स्थापना गर्नेसम्बन्धी ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र) ।
७.     भौतिक तथा यातायात मन्त्रालय तथा चीनको यातायात मन्त्रालयबीच चीन–नेपाल सीमापार रेल परियोजनाको सम्भाव्यता अध्ययनसम्बन्धी समझदारीपत्र  ।   
८.     काठमाडौं  महानगरपालिका र चीनको नान्जिङ शहरबीच भगिनीसम्बन्ध स्थापनाको सम्झौता ।    
९.     बुटवल उपमहानगरपालिका र चीनको सियान नगरबीच भगिनीसम्बन्ध स्थापनाको सम्झौता ।    
१०.    स्वास्थ्य मन्त्रालय र चीनको परम्परागत औषधि व्यवस्थापन राष्ट्रिय प्रशासनबीच परम्परागत उपचार पद्धतिमा सहयोगसम्बन्धी समझदारीपत्र ।
११.    गृह मन्त्रालय र चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालय मन्त्रालयबीच दैवीविपत्ति न्यूनीकरण तथा आपत्कालीन द्रुत उद्धारका लागि सहयोगसम्बन्धी समझदारीपत्र ।
१२.    महान्यायाधिवक्ताको कार्यालय र चीनको सर्वोच्च महान्यायाधिवक्ताको कार्यालयबीच सहयोगसम्बन्धी समझदारीपत्र ।
१३.    त्रिभुवन विश्वविद्यालय र कन्फ्युसियस अध्ययन संस्थानको मुख्यालयबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस अध्ययन संस्थान स्थापन गर्नेसम्बन्धी सम्झौता ।
१४.    कृषि विभाग र चीनको सामान्य भन्सार प्रशासनबीच अमिला वर्गका फलपूmल चीन निर्यात गर्नेसम्बन्धी फाइटोस्यानेटरी आवश्यकतासम्बन्धी प्रोटोकल ।  
१५.    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच व्यापारसम्बन्धी संयुक्त कार्यदल गठनको समझदारीपत्र ।
१६.    चिनियाँ सहयोगमा नेपालमा भूकम्प अनुगमन सञ्जाल परियोजना आपूर्ति तथा स्वीकार प्रमाणपत्र ।   
१७.    अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानी सहयोग कार्यदल गठनसम्बन्धी समझदारीपत्र ।
१८.    अर्थमन्त्रालय र चिनियाँ अन्तरराष्ट्रिय विकास सहयोग नियोगबीच सुरुङ निर्माण सहयोगसम्बन्धी समझदारीपत्र  ।   
१९.    सीमा सुरक्षा तथा कार्यालय उपकरणका लागि ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र)  ।   
२०.    चीनको सहयोगमा काठमाडौं उपत्यकाका नगर क्षेत्रमा खानेपानी आपूर्ति सुधार परियोजनाको सम्भाव्यता अध्ययनसम्बन्धी बैठकका निर्णय  ।
राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र द्रुत आर्थिक विकासका आधारमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणालाई चीन सरकारको सहयोग कायम रहनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)