ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विद्युतीय ट्याक्सी चलाउने तयारीमा सुन्दर यातायात

Oct 15, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar काशीराम बजगाईं

काठमाडौं । काठमाडौैंको सार्वजनिक यातायातमा विद्युतीय बस सेवा शुरू गरेको सुन्दर यातायात प्रालिले अब विद्युतीय ट्याक्सी सञ्चालन गर्ने तयारी गरेको छ । कम्पनीले तिहारलगत्तै काठमाडौंका सडकमा १५ विद्युतीय ट्याक्सी गुडाउने बताएको छ । 

भदौ चौथो सातादेखि चारओटा विद्युतीय बस काठमाडौंको चक्रपथमा सञ्चालन गरिरहेको सुन्दर यातायातले चिनियाँ कम्पनी बीएकेकै ट्याक्सी खरीद गर्ने बताएको छ । हाल सञ्चालनमा रहेका विद्युतीय बस पनि सोही चिनियाँ कम्पनीले निर्माण गरेको हो । 

तिहार अगाडि खरीद सम्झौता हुने र तिहारलगत्तै काठमाडौंमा  ट्याक्सी सञ्चालन हुने सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए । ‘खरीद सम्झौता गर्न कम्पनीले बोलाइसकेको छ,’ उनले भने, ‘तिहारअघि सम्झौता गरी तिहारलगत्तै ट्याक्सी सञ्चालन गर्ने हाम्रो योजना छ ।’

कम्पनीका अनुसार सवारी चालक अनुमति पत्र (लाइसेन्स) भएका जुनसुकै नेपाली चालकले केही प्रतिशत शेयर ट्याक्सीमा लगानी गरी चलाउन सक्नेछन् । सुन्दरले सञ्चालन गरेका बसमा अन्य सार्वजनिक बसभन्दा २० प्रतिशत सस्तोमा सेवा दिइरहेकोमा ट्याक्सीमा अन्यभन्दा ३० प्रतिशतसम्म सस्तोमा यात्रा गर्न सकिने अध्यक्ष थापाले बताए ।

सुन्दरले विद्युतीय ट्याक्सी सञ्चालन गर्ने भने पनि सहजै उसले सञ्चालन गर्न पाउने अवस्था भने छैन । यातायात व्यवस्था विभागले नयाँ ट्याक्सी दर्ता नखोल्दा ट्याक्सीमा सिन्डिकेट कायम छ ।

विभागले अहिलेको अवस्थामा नयाँ ट्याक्सीको दर्ता नहुने बताएको छ । विभागले १ हजार २०० सीसीभन्दा बढी क्षमताका ट्याक्सीको दर्ता खोल्न यातायात मन्त्रालयमा सुझाव पठाएकोमा मन्त्रालयले कुनै निर्णय गरेको छैन । मन्त्रालयले नयाँ ट्याक्सी दर्ताको ठोस निर्णय नगरेसम्म नयाँ ट्याक्सी दर्ता नहुने विभागमा प्रवक्ता तीर्थराज खनालले बताए । ‘विगत लामो समयदेखि नयाँ ट्याक्सी दर्ता बन्द छ जसकारण यतिबेला विद्युतीय ट्याक्सीका लागि मात्र दर्ता खुल्न सम्भव छैन,’ उनले भने । 

विभागको तथ्यांकअनुसार उपत्यकामा २०५७ जेठ १७ गतेसम्म ७ हजार ५०० ट्याक्सी दर्ता भएका थिए ।

त्यसपछि बन्द भएको नयाँ ट्याक्सी दर्ता भूकम्पपछि २०७२ जेठ २८ गते खुलेको थियो । उक्त समयमा ३ हजार ३५० ओटा नयाँ ट्याक्सी दर्ता भए । 

यातायात अञ्चल कार्यालय, बाग्मतीले २०६९ माघमा विभागलाई दिएको जानकारी अनुसार २०५७ सालमा दर्तामा भएका १ हजार ९०० ओटा ट्याक्सी हाल सञ्चालनमा छैनन् । नयाँ र पुराना गरी हाल उपत्यकामा ८ हजार ९५० ओटा मात्र ट्याक्सी सञ्चालनमा रहेका छन् । 

सरकारले २०७२ असोज १२ गते २० वर्ष पुराना ट्याक्सीको नम्बर प्लेटमा दर्ता गर्न नदिने निर्णय गरे पनि व्यवसायीले गरेको आन्दोलनले गर्दा २०७५ पुस १८ गतेदेखि विभागले पुरानो नम्बर प्लेटमा दर्ता खोलेको थियो । हाल कसैले नयाँ ट्याक्सी सञ्चालन गर्न चाहेमा २०५७ र २०७२ मा दर्ता भएका नम्बर प्लेट किन्नुपर्ने हुन्छ । सरकारले नयाँ ट्याक्सी दर्ता नखोल्दा सित्तैमा पाइने एउटा नम्बर प्लेट झन्डै १० लाख रुपैयाँसम्ममा बिक्ने गरेको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)