ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कृषि बीमाको व्यवसाय ८० प्रतिशतले वृद्धि, निर्जीवन बीमामा मोटर बीमाको हिस्सा बढी

Oct 15, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । गत आर्थिक वर्षमा कृषि तथा बाली बीमाको व्यवसाय करीब ८० प्रतिशतले बढेको छ । कृषि बीमा मार्फत आव २०७४/७५ मा रू. ५४ करोड २० लाख बीमाशुल्क उठाएका निर्जीवन बीमा कम्पनीहरूले आव २०७५/७६ मा रू. ९७ करोड ५१ लाख उठाएका छन् । 

बीमा समितिले २०६९ सालदेखि कृषि बीमा कार्यक्रम शुरू गरे पनि शुरूका वर्षहरूमा यस बीमाको व्यवसाय निराशाजनक नै थियो । तर, पछिल्ला वर्षहरूमा भने कृषि बीमा विस्तार हुँदै गएको तथ्यांकले देखाउँछ । यद्यपि हाल निर्जीवन बीमा व्यवसायमा कृषि बीमाको हिस्सा अझै चार प्रतिशत नै छ ।

बीमा समितिले सबै जिल्लामा कृषि बीमाको सेवा पुर्‍याउने गरी बीमा कम्पनीहरूलाई जिल्ला पनि तोकिदिएको छ भने स्थायीय तहसँग सहकार्य गरेर बीमा सम्बन्धी अन्तरक्रिया पनि गर्दै आएको छ । फलस्वरूप कृषि बीमाको व्यवसाय बढेको समितिका प्रवक्ता निर्मल अधिकारीले बताए । यसैगरी कृषि बीमा सम्बन्धी नयाँ प्रडक्टहरू ल्याइएकाले पनि व्यवसाय बढेको बीमा कम्पनीको भनाइ छ ।

गत आवमा निर्जीवन बीमा कम्पनीहरूले रू. २४ अर्ब ३२ करोड ९८ लाख कुल बीमाशुल्क संकलन गरेका छन् । त्यसमा सबैभन्दा बढी रकम मोटर बीमाबाट उठेको छ । समितिको तथ्यांक अनुसार गत आवमा मोटर बीमाबाट रू. १० अर्ब ५ करोड ५७ लाख बीमाशुल्क संकलन भएको देखिन्छ । निर्जीवन बीमामा मोटर बीमाको हिस्सा सबैभन्दा बढी अर्थात ४१ प्रतिशत छ । 

निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा सधैँ उच्च भएको  तथ्यांकले देखाउँछ । मोटर बीमालाई सरकारले अनिवार्य गरेको हुनाले यसको हिस्सा बढी हुनु स्वाभाविक रहेको बीमा कम्पनीहरूको भनाइ छ । 

युनाइटेड इन्स्योरेन्सका कामु प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बीमा सम्बन्धी जनचेतना अभावका कारण पनि अन्य प्रकारका बीमाको व्यवसाय बढ्न नसकेको बताए । यदि सरकारले राम्रो नीति ल्याएमा अन्य प्रकारका बीमाको व्यवसाय पनि बढ्ने उनको विश्वास छ । उनले भने, ‘मोटर बीमा सम्बन्धी सरकारले सकरात्मक नीति ल्याउँदा यसको व्यवसाय बढेको हो । अन्य बीमाको व्यवसाय बढाउन पनि सरकारले आवश्यक नीति ल्याउन आवश्यक देखिन्छ । तथापि निर्जीवन बीमाको समग्र बजार भने सन्तोषजनक नै छ ।’ 

उनका अनुसार गत वर्ष बीमा समितिले निजी आवासको बीमा पहिलेभन्दा ६७ प्रतिशत सस्तोमा हुने गरी सम्पत्ति बीमा निर्देशिका जारी गरेकोले अब घरको बीमा गर्नेको संख्या बढ्ने सम्भावना छ । भट्टराईले व्यावसायिक भवन र सम्पत्ति बीमा भने महँगो भएकोजस्तो पनि देखिएका कारण यिनको बीमा व्यवसाय बढाउन थप चुनौती छ ।’

यस्तै, निर्जीवन बीमाको दोस्रो स्थानमा भने अग्नि बीमाले ओगेटेको छ । गत आवमा अग्नि बीमा मार्फत रू. ५ अर्ब २ करोड ५८ लाख बीमाशुल्क उठेको छ । तथ्यांकअनुसार निर्जीवन बीमामा यसको हिस्सा २१ प्रतिशत छ । हाल नेपालमा २० ओटा निर्जीवन बीमा कम्पनी रहेका छन् । उनीहरूले अग्नि, मोटर, हवाई, ईन्जिनीयरिङ, दुर्घटना लगायत विभिन्न प्रकारका बीमाको व्यवसाय गर्दैआएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)