ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल–भारत ऊर्जा संयन्त्र बैठक बैंगलोरमा सम्पन्न, नेपाल–भारत–बंगलादेश बैठक ३ महीनाभित्र

Oct 15, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दुर्गा लामिछाने

असोज २८, काठमाडौं । नेपाल–भारत–बंगलादेश ऊर्जा व्यापारका लागि तीन महीनाभित्र त्रिपक्षीय बैठक बस्ने भएको छ । मंगलवार भारतको बैंगलोरमा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय (जोइन्ट स्टेयरिङ कमिटी–जेएससी) बैठकले यस्तो निर्णय गरेको हो ।

भारतले बैठक डाक्ने निर्णय भएको बैठकमा सहभागी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ‘नेपाल–भारत–बंगलादेश त्रिपक्षीय विद्युत् व्यापारका लागि अबको तीन महीनाभित्र तीनै देशको बैठक बस्ने भएको छ,’ घिसिङले भने, ‘भारतको मिनिस्ट्री अफ पावरले नेपाल र बंगलादेशका सम्बन्धित पक्षलाई बैठकका लागि बोलाउने पनि तय भएको छ ।’

सोमवारबाट भारतको बैंगलोरमा आयोजित सातौं नेपाल–भारत ऊर्जा संयन्त्र बैठक दुई दिनसम्म चलेको थियो । सोमवार दुबै देशका ऊर्जा सहसचिवस्तरीय (जोइन्ट वर्किङ ग्रूप–जेडब्ल्यूजी) बैठकले उठाएका एजेन्डाहरूलाई मंगलवार बसेको दुबै देशका ऊर्जा सचिवस्तरीय (जोइन्ट स्टेयरिङ कमिटी–जेएससी)ले पूर्णता दिँदै बैठक सकिएको हो । जेएससीको नेपाल तर्फको नेतृत्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारत तर्फको नेतृत्व भारतको पावर मिनिस्ट्रीका सचिव एससी गर्गले गरेका थिए ।

न्यू बुटवल–न्यू गोरखपुर दोस्रो अन्तरदेशीय ४०० केभी प्रसारण लाइन निर्माणमा दुबै देशको ५०/५० प्रतिशत लगानी हुने निर्णय पनि बैठकले गरेको छ । त्यसैगरी, नेपाल–भारत इनर्जी बैंकिङका लागि भारतले आफ्नो सीमापार विद्युत् व्यापार निर्देशिकामा थप्ने, डे अहेड (भोलिका लागि आजै बूक गर्ने) बजारबाट विद्युत् किन्ने व्यवस्था १५ दिनभित्रै गरिसक्ने जस्ता  विषयमा बैठकले निर्णय गरेको छ । ‘यो पटकको बैठक हामीले राखेका सम्पूर्ण प्रस्तावमा भारतीय पक्ष एकदमै सकारात्मक रह्यो,’ प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने ।

नेपाल–भारत ऊर्जा सहकार्यका लागि २०७१ मंसिरदेखि बैठक हुन शुरू भएको हो । बैठक दुई देशको विद्युत् प्रसारण नीति तथा संरचना निर्माणका साथै क्षेत्रीय सञ्जाल विस्तारतर्फ अघि बढ्दै गएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)