ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

टोखा–छहरे र बेत्रावती–स्याफ्रुबेंशी सुरूङमार्ग : सम्भाव्यता अध्ययन ३ महीनामा शुरू हुने सम्भावना

Oct 16, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । काठमाडौं–केरुङ सडकमार्गमा पर्ने दुई सुरुङमार्गको सम्भाव्यता अध्ययन ३ महीनापछि शुरू हुने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि जारी संयुक्त विज्ञप्तिमा नेपाल र चीनबीच कनेक्टिभिटी अभिवृद्धि गर्न केरुङ–काठमाडौं सुरुङमार्ग निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने उल्लेख गरिएअनुरूप सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोली करीब ३ महीनाभित्र नेपाल आउने सडक विभाग स्रोतले जानकारी दिएको छ । सडक विभागका अनुसार काठमाडौं–केरुङबीच दुई सुरुङमार्ग निर्माण हुनेछ, पहिलोले काठमाडौंको टोखा र नुवाकोटको छहरेलाई जोड्नेछ भने दोस्रोले रसुवाको बेत्रावती र स्याफ्रुबेशींलाई जोड्नेछ ।

यी दुई सुरुङमार्गमध्ये टोखा–छहरे खण्डको पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ भने बेत्रावती–स्याफ्रुबेंशीको अध्ययन भएको छैन । स्रोतका अनुसार टोखा–छहरे खण्डको पूर्वसम्भाव्यता अध्ययन भइसकेकाले सोही अध्ययनलाई आधार मान्ने वा पुनः नयाँ अध्ययन गर्ने भन्ने विषय चिनियाँ टोलीले टुंगो लगाउनेछ । यस खण्डको पूर्वसम्भाव्यता अध्ययन नेपाल सरकारले २०१३ मै गरिसकेको छ । सडक विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार सुरुङमार्ग निर्माणमा नेपालमा दक्ष जनशक्ति नहुँदा त्यसपछिको विस्तृत अध्ययन हुनसकेको थिएन । पूर्वसम्भाव्यता अध्ययनअनुसार यो सुरुङमार्ग न्यूनतम ३ दशमलव ५५ किलोमीटरदेखि अधिकतम ५ दशमलव २० किलोमीटर लम्बाइको हुने विभागको भनाइ छ ।

स्याफ्रुबेशीं–बेत्रावती सुरुङमार्ग २५ किलोमीटर लामो हुने विभागको प्रारम्भिक अनुमान छ । त्यस हिसाबले दुवै सुरुङमार्गको कुल लम्बाइ ३० किलोमीटर हुनेछ । महानिर्देशक शर्माले स्याफ्रुबेंशी–बेत्रावती खण्डमा पहिरो खस्दा सडक अवरुद्ध हुने समस्या समधान गर्न सुरुङमार्ग आवश्यक भएको बताए । ‘टोखामा मात्रै अध्ययन भएको छ, तर स्याफ्रुबेशीं–बेत्रावतीमा भने कुनै अध्ययन नभएकाले कुनकुन विन्दुमा सुरुङमार्ग बनाउन सकिन्छ भन्ने विषय अध्ययनपछि मात्रै थाहा हुनेछ,’ उनले बताए ।  

चीनले केरुङलाई अन्तरराष्ट्रिय पोर्टका रूपमा विकास गरेको सन्दर्भमा त्यहाँबाट काठमाडौंसँग जोड्ने भरपर्दो मार्ग बनाउन यी सुरुङमार्ग प्रस्तावित गरिएको सरकारी अधिकारीहरूको भनाइ छ । हाल नेपाल–चीन व्यापार रसुवागढी नाकाबाट भए पनि काठमाडौंदेखि रसुवागढीसम्मको सडक स्तरीय छैन । नेपालको उत्तरी नाका रसुवागढीलाई जोड्ने यी दुई सुरुङ मार्ग बनेपछि काठमाडौं–केरुङको जम्मा लम्बाइ ८२ किलोमीटरमा झर्नेछ भने, काठमाडौं–केरुङबीच बाह्रै महीना सडक यातायात निर्बाध चल्नेछ । यसको निर्माणले नेपाल–चीन द्विपक्षीय व्यापारलाई अभिवृद्धि गर्नेछ, साथै, चीनका बन्दरगाहसम्म नेपालको पहुँच पनि सुनिश्चित हुनेछ । नेपाल र चीनबीच पारवहन सन्धि र त्यसको प्रोटोकलमा हस्ताक्षर भइसकेको छ । विभागका एक अधिकारीका अनुसार १ किमी सुरुङमार्ग बनाउन झन्डै रू. ३ अर्बभन्दा बढी लागत लाग्ने सम्भावना छ । सोहीअनुसार टोखा र स्याफ्रुबेशीं गरी दुई सुरुङमार्गका लागि करीब रू. १ खर्ब लगानी आवश्यक हुने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)