ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सडक, पर्यटन, रोजगारीमा नेपाललाई विश्व बैंकको सहयोग

Oct 16, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । अमेरिकाको वासिङटनमा विश्व बैंक समूह र अन्तरराष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठक चलिरहँदा नेपालले निकट भविष्यमा सडक, पर्यटन, रोजगारीका क्षेत्रमा विश्व बैंक समूहको सहयोग पाउने देखिएको छ । अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार नागढुंगा–मुग्लिन सडकखण्ड विस्तार, पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति, पर्यटन पूर्वाधार निर्माण तथा सम्भाव्यता अध्ययन लगायतमा विश्व वैंकले सहायता गर्दै छ । 

नागढुंगा– मुग्लिन सडकखण्ड विस्तारका लागि रू. २० अर्ब ऋणको तयारी सरकारको छ । नागढुंगा–मुग्लिन सडकखण्ड विस्तारका लागि ऋण सहायताबारे अर्थ मन्त्रालयले छिट्टै नै विश्व बैंकसँग सम्झौता गर्ने तयारी गरेको छ ।  यसअघि पनि नारायणगढ–मुग्लिन सडक खण्डमा विश्व बैंकले लगानी गरेको थियो । ‘तिहारलगत्तै यसबारे सम्झौता गर्नेगरी प्रक्रिया अघि बढेको छ,’ मन्त्रालय स्रोतले भन्यो ।

अर्थ मन्त्रालयका अनुसार पर्यटनका क्षेत्रमा विश्व बैंकले गर्ने सहायता सम्भाव्यता अध्ययन र पर्यटन पूर्वाधार निर्माणमा परिचालन हुनेछ । ‘पर्यटन क्षेत्रको विकासका लागि ७ अर्ब सहयोग विश्व बैंकको हुनेछ,’ अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए । 

विश्व बैंक बोर्डले गत महीना नै नेपालमा रोजगारी प्रवर्द्धनका लागि रू. १३ अर्ब ६५ करोडको अनुदान स्वीकृत गरिसकेको छ । अर्थ मन्त्रालयका अनुसार ‘युथ इम्प्लोयमेन्ट ट्रान्सफर्मेशन इनिसिएटिभ प्रोजेक्ट’ का लागि विश्व बैंकले सो सहायता आउन लागेको हो । श्रम मन्त्रालय अन्तर्गत रहने यस प्रोजेक्टमार्फत प्राप्त सहयोग प्रधानमन्त्री रोजगार कार्यक्रममा पनि खर्च हुने प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक प्रकाश दाहालले जानकारी दिए । 

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ७५३ ओटै स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रको आईटी सिस्टम सुधार्न, रोजगार नीति तयार गर्न र कार्यक्रमको अनुगमन गर्न पनि उक्त ऋण परिचालन  गरिँदै छ ।

यसैबीच अर्थमन्त्री डा. युवराज खतिवडा संयुक्त राज्य अमेरिकाको वासिङटन डी.सी. मा आयोजना हुने विश्व बैंक समूह र अन्तरराष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन मंगलवार अमेरिका प्रस्थान गरेका छन् ।  

खतिवडाले अन्तरराष्ट्रिय विकास संस्थाबाट नेपालको नीतिगत सुधारका लागि प्राप्त हुँदै आएको सहायतालाई थप प्रभावकारी बनाउने उपाय लगायत सहायताका थप क्षेत्र र सम्भावनाबारे विस्तृत छलफल गर्ने अर्थ मन्त्रालयले बताएको छ ।

साथै विश्व बैंकअन्तर्गतको अन्तरराष्ट्रिय विकास संस्था (आईडीए)सँग नेपालको सहकार्य ५० वर्ष पुगेको अवसरमा आयोजना हुने कार्यक्रममा खतिवडाको सहभागिता हुनेछ । 

विश्व बैंकको बैठकमा अहिले दिने सहुलियत ऋण बढाउन समेत अर्थमन्त्रीले प्रस्ताव राख्ने तयारी गरेको अर्थ मन्त्रालयको उच्च स्रोतले बतायो । ‘अहिले विश्व बैंकले ३ वर्षका लागि १३० अर्ब सहायता गर्दै आएको छ, त्यस्तो सहायता बढाउन अर्थमन्त्रीले प्रस्ताव गर्नुहुनेछ,’ मन्त्रालय स्रोतले भन्यो । ≈युमन क्यापिटल, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा लगानी बढाउन नेपालले विश्व बैंकसँग प्रस्ताव राख्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)