धनगढी । धनगढी–अत्तरिया ६ लेन सडकको आधा काम सकिए पनि सडकअन्तर्गत पर्ने तीनओटा पुल निर्माणका लागि भने विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) नै बन्न सकेको छैन । धनगढी उपमहानगरपालिकाको मोहनापुल तथा गोदावरी नगरपालिकाभित्र गेटास्थित मनहरा र गेटा खोलामा पुल निर्माण गरिने योजना छ । तर, डीपीआर नबन्दा पुल निर्माण अन्योलमा परेको सडक योजना कार्यालयले जानकारी दिएको छ ।
सडक विभाग अन्तर्गतको उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाले पुल महाशाखामा परामर्शदाताले तयार पारेको डीपीआर पठाएको भए पनि उक्त प्रतिवेदन सुधारका लागि भन्दै फिर्ता पठाइएको पुल महाशाखाका डिभिजन इन्जिनीयर थानेश्वर खत्रीले बताए । पुल निर्माणका लागि डीपीआर तयार नहुँदा ठेक्का आह्वान प्रक्रियासमेत नथालिएको मोहनापुल–अत्तरिया सडक योजना कार्यालय धनगढीका प्रमुख होमबहादुर एसीले बताए ।
संघीय सरकारको बजेटमा निर्माणाधीन कुल साढे १४ किलोमिटर लामो यो सडक खण्डको १० किमी ६ लेनको र साढे ४ किमी ४ लेनको हुनेछ । १ अर्ब ६८ करोड रुपैयाँ लागत रहेको उक्त सडक निर्माणका लागि ३ खण्डमा छुट्याई ठेक्का दिइएको छ । धनगढी–अत्तरिया सडक निर्माणका लागि शुरुआतदेखि साढे ४ किलोमिटरसम्म ५८ करोड १७ लाखमा ठेक्का सम्झौता भएको छ । त्यस्तै, साढे ४ देखि ९ किमीसम्म ५२ करोड १४ लाख र ९ देखि १४ किमीसम्म ५८ करोड ३३ लाख रुपैयाँमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिएको छ ।
भन्सार–रोडस्थित मोहना पुलदेखि अत्तरिया चोकसम्म १४ दशमलव १७ किलोमिटर लामो तथा ३२ दशमलव दुई मिटर चौडा सडक निर्माण गरिनेछ । दुवैतिर तीनतीन मिटर फुटपाथ रहने ६ लेन सडकमा ८० किलोमिटर प्रतिघण्टाका दरले सवारी कुदाउन सकिने योजना डिजाइनमा उल्लेख छ ।
२०७४ जेठमा मोहनापुल–अत्तरिया ६ लेन सडकको निर्माण कार्य शुरू भएको थियो । २४ महीनाभित्र सडक निर्माणको काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरिए पनि निर्माण थालेको २८ महीना बितिसक्दा ६० प्रतिशत मात्र काम भएको सडक योजना कार्यालयले बताएको छ । सडक निर्माणको सम्झौता अवधि सकिएको ४ महीना बितिसक्दा पनि न त सडक निर्माणले पूर्णता पाएको छ न त समयमा निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गरिएको छ । निर्माणको म्याद पनि थपिएको छैन ।
हाल म्याद नथपेरै ६ लेन सडक निर्माण सुस्त गतिमा अघि बढेको छ । सडक निर्माण सुस्त गतिमा अघि बढ्दा अत्तरिया–धनगढी यात्रा गर्ने यात्रुहरू हिउँदयाममा धूलाम्य तथा वर्षायाममा हिलाम्य भएर यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय मानबहादुर साउदले बताए ।