असोज ३०, पर्वत । कालीगण्डकी नदीमा जलयात्रा (र्याफ्टिङ ) शुरु भएको छ । छोटो तथा लामो दुरीको जलयात्राका लागि आन्तरिक तथा बाहिय पर्यटकको भीड लाग्ने गरेको छ ।
नदीमा पानीको वहाव घटे लगत्तै दशैंबाट र्याफ्टिङ शुरु भएको हो । एकसातामै २ हजारले र्याफ्टिङ गरिसकेका छन् । पर्वतको कुश्मा नगरपालिका १ नयाँपुलदेखि स्याङजाको मिर्मिसम्म लामो दुरीको र मालढुंगादेखि नयाँपुलसम्मको छोटो दुरीको र्याफ्टिङ सञ्चालन हुँदै आएको छ ।
गत वर्ष अक्टुबरबाट शुरु हुने गरेकोमा यस वर्ष भने ढिलो गरि र्याफ्टिङ शुरु भएको हो । नदीमा पानीको वहाव नघटेकाले गत साताबाट मात्रै शुरु भएको स्विसा र्याफ्टिङ एन्ड ट्रेकिङ एक्सपिडेसन कम्पनीका प्रबन्ध निर्देशक देव रेग्मीले बताए ।
एक सिजनमा कम्तीमा पनि २ देखि ३ हजार पर्यटकले जलयात्रा गर्ने गरेका छन् । तर यो सिजनमा वर्षा, बाढी, पहिरो जाने क्रम लम्बिएकाले सेप्टेम्बरको शुरुमै बुक गरेका धेरै पर्यटकले र्याफ्टिङ रद्ध गरेको उनले बताए ।
‘भदौ महीनाको अन्तिम साताको लगातारको वर्षाले नदीमा पानीको वहाव बढ्यो,’ उनले भने, ‘यसपाली सिजन ढिलो शुरु भएपछि केहिले बुकिङ क्यान्सिल गरे ।’कालीगण्डकी नदीमा १० ओटाभन्दा धेरै कम्पनीले र्याफ्टिङका लागि पर्यटक भित्र्याउँदै आएका छन् ।
तीन दिन लाग्ने जलयात्रा, पर्यटकका लागि निकै आकर्षक गन्तव्यका रूपमा रहेको छ । कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् ।
यहाँ धेरैमात्रामा इजरायली पर्यटक आउने गरेका छन् भने अस्ट्रेलिया, युरोप र अमेरिकाका पर्यटकको रोजाइमा पनि कालीगण्डकी नदी पर्दै आएको छ ।कालीगण्डकी नदीमा पानीको सतह बढेपछि गत जेठ अन्तिम सातादेखि जलयात्रा बन्द भएको थियो ।