पर्वत । अन्तरराष्ट्रिय पर्वत समाजले पर्वतका तीन ग्रामीण क्षेत्रमा प्रसूति अस्पताल निर्माणमा सहयोग गर्ने भएको छ । गत बिहीवार जिल्लाको पैयुँ गाउँपालिकामा सम्पन्न समाजको भेलाले प्रसूति अस्पताल निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
प्रवासी नेपालीले बेलायत, यूएई, जापान, बेल्जियम लगायत देशमा गरेको च्यारिटी कार्यक्रमबाट संकलित आर्थिक सहयोगले जिल्लामा प्रसूति अस्पताल बनाउने योजना तय भएको समाजका अध्यक्ष पुरन गिरीले बताए । उनका अनुसार पैयुँ गाउँपालिकाको केन्द्र हुवास, फलेवास नगरपालिका–१ कार्कीनेटा र जलजला गाउँपालिका–७ मिलनचोकमा प्रसूति अस्पताल निर्माण गरिनेछ । ‘हामीले अहिलेसम्म च्यारिटी कार्यक्रमबाट डेढ करोड रुपैयाँ संकलन गरेका छौं,’ गिरीले भने, ‘थप १ करोड संकलन गर्ने लक्ष्य छ ।’ चालू आवमै प्रसूति गृहको निर्माण थालिने उनले बताए ।
जिल्लाका ग्रामीण क्षेत्रमा प्रसूति अस्पताल नहुँदा महिलाले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ । यो अवस्था अन्त्य गर्न अस्पताल बनाउने योजना ल्याइएको समाजका महासचिव गुणराज शर्माले बताए । उनले भने, ‘उपचारका लागि टाढा जानुपर्ने बाध्यता हटाउन अस्पताल निर्माणमा सघाउन लागेका हौं ।’ संस्थाले हुवासमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र र पर्वत अस्पताललाई आवश्यक उपकरण समेत सहयोग गरिने बताएको छ । अन्तरराष्ट्रिय पर्वत समाजको अभियानमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पनि सघाउने भएको छ । पूर्वाधार निर्माणमा प्रवासी नेपालीले सहयोग गरे पनि व्यवस्थापनको जिम्मा भने स्थानीय तहलाई दिइने समाजले बताएको छ ।