ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मालपोतका सेवाग्राहीलाई सास्ती

एउटै फाँटमा ३ दिनसम्म लाइन

Oct 18, 2019  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का चक्रबहादुर ठकुराठी ३ दिनदेखि लगातार भूमिसुधार तथा मालपोत कार्यालय महेन्द्रनगरमा धाए । धितो जग्गाको लालपुर्जा फुकुवाका लागि ठकुराठीले ३ दिनदेखि एउटै फाँटमा लाइन बस्न बाध्य हुनुपर्‍यो । 

बैंकबाट क्रण लिनका लागि लालपुर्जा फुकुवा गर्न आएका ठकुराठीले मालपोलका कर्मचारी समयमा सेवा नदिँदा सास्ती खेप्नुपरेको गुनासो गरे । ठकुराठीको जस्तै समस्या अन्य सेवाग्राहीको पनि छ । मुठ÷रोक्का फाँटमा बैंक तथा वित्तीय संघसंस्थाबाट पुर्जा धितो राखेर क्रण लिने सेवाग्राहीको जग्गा कारोबार रोक्का गरिन्छ भने क्रण लिएर चुक्ता गरिसकेका सेवाग्राहीको पुर्जा फुकुवा गरिन्छ । 

भूमिसुधार तथा मालपोत कार्यालयको नागरिक बडापत्रमा उक्त सेवा लिन चाहेको सेवाग्राहीको काम सोही समय हुने उल्लेख गरे पनि सेवाग्राहीले ३÷३  दिनसम्म लाइनमा कुर्नुपर्ने बाध्यता छ । त्यस्तै, महाकाली नगरपालिका–६ का प्रकाश सुनारको गुनासो पनि उस्तै छ । मालपोत कार्यालयको मुठ÷रोक्का  फाँटमा सेवा लिन ३ दिनदेखि लाइन बस्नु परेको उनले बताए । 

त्यस्तै, मोलपोतका कर्मचारीलाई सेवाग्राहीबाट आर्थिक लेनदेन गर्ने गरेको समेत आरोप लागेको छ । भीमदत्त नगरपालिका–१८ का सेवाग्राही सुरजदत्त जोशीले मालपोतका कर्मचारी आर्थिक लेनदेनमा संलग्न रहेको आरोप लगाए । ‘जसले कर्मचारीलाई पैसा दिन सक्छ, उसको काम चाँडै हुन्छ, पैसा दिन नसक्ने गरीब सेवाग्राहीले घण्टौं लाइन कुर्नुपर्छ,’ उनले भने । 
 
जिल्ला मालपोत कार्यालय कञ्चनपुरका प्रमुख खेमप्रसाद चौधरीले सेवाग्राहीलाई नियमित रूपमा सेवा दिइरहेको दाबी गरे । उनले मुठ÷रोक्का फाँटको सबै काम अनलाइनबाट हुने भएकाले सर्भर समस्याका कारण सेवा सम्पादनमा समस्या हुने गरेको उनले बताए । ‘धेरै जसो कामकाज अनलाइनबाटै हुन्छ, केन्द्रीय सर्भरमा समस्या देखिए सेवाग्राहीलाई सेवा दिन समस्या हुने गरेको छ,’ उनले भने ।  

साथै कार्यालयमा कुनै पनि किसिमको आर्थिक लेनदेन नहुने उनको दाबी छ । ‘मैलै सबै कर्मचारीलाई गैर–कानूनी काम नगर्न र समयमै सहज तरीकाले सेवा दिन निर्देशन दिएको छु । कहीँकतै त्यस्तो भेटिए सीधै कारबाही गर्छु,’ उनले भने । उनले मालपोतका कर्मचारीले रसिदभन्दा बढी पैसा लिए सीधै आफूलाई खबर गर्न सेवाग्राहीलाई आग्रहसमेत गरे । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)