ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाहिरी चक्रपथ आयोजना : डिजाइन/रेखांकन पुनर्मूल्यांकन हुँदै

Oct 18, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.


काठमाडौं । बाहिरी चक्रपथ निर्माणका लागि लगानी बोर्डले चिनियाँ कम्पनीलाई ‘सर्टलिस्ट’ गरेसँगै बाहिरी चक्रपथ आयोजनाका बारेमा हालसम्म भएका अध्ययनहरूको पुनर्मूल्यांकन/पुनरवलोकन हुने भएको छ । ७२ किलोमीटर (किमी)को बाहिरी चक्रपथ निर्माणका लागि यसअघि भएका सम्भाव्यता अध्ययनका साथै ५६ किमी खण्डको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) समेतको पुनर्मूल्यांकन चिनियाँ कम्पनी चाइनिज कम्युनिकेशन कन्स्ट्रक्शन कम्पनीले गर्ने भएको हो ।

लगानी बोर्ड नेपालले असोजको पहिलो साता उक्त आयोजना निर्माणका लागि चाइनिज कम्युनिकेशन कन्स्ट्रक्शन कम्पनीलाई सर्टिलिस्ट गरी पुनर्मूल्यांकन तथा पुनरवलोकनको प्रतिवेदन पेश गर्ने जिम्मा दिइसकेको छ ।

बढ्दो शहरीकरणका कारण बाहिरी चक्रपथमा पर्ने रूटमा बस्ती तथा भौतिक संरचना विकास भइसकेको, लागत मूल्य पनि बढेको र क्षतिपूर्तिका विषयहरू पनि साथसाथै आउने भएकाले यसअघिका अध्ययनहरूको पुनरवलोकन आवश्यक देखिएको शहरी विकास मन्त्रालयको भनाइ छ । 

बाहिरी चक्रपथको डिजाइन, लगानी र रेखांकन तथा अध्ययन भएको लामो अवधि भइसकेको र त्यस अध्ययन अनुसार चक्रपथ विकास गर्न नसकिने निष्कर्ष निकालिएको छ । काठमाडौं उपत्यकामा छिटोछिटो बस्ती विकास भएको र रेखांकन गरिएको रूटमा बस्ती विकास गर्न रोक नलगाउँदा बस्ती थपिएको हुनसक्ने सो आयोजना प्रमुख दिलीप भण्डारीले जानकारी दिए । 

सरकारले आर्थिक वर्ष २०६१/६२ मै बाहिरी चक्रपथ निर्माणको घोषणा गरेको थियो । साविक ७२ किमीको चक्रपथमध्ये ५६ किमीको डीपीआरसमेत तयार भइसकेको छ भने गतवर्ष सरकारले चोभार सतुंगलको ६ दशमलव ६ किमी सडकको ट्र्याक खोल्ने तयारीसमेत गरिसकेको थियो ।

‘७२ किमीमध्ये ५६ किमीको डीपीआर सम्पन्न भइसकेको छ । अरनिको राजमार्गको भातेढिकुर–ठिमी र बूढानीलकण्ठदेखि खड्गभगवतीसम्म १६ किमीको मात्रै डीपीआर तयार भएको छैन,’ भण्डारीले बताए । 

काठमाडौं उपत्यका विकास प्राधिकरणले चिनियाँ कम्पनीलाई चक्रपथ निर्माणका लागि जग्गा विकास (ल्यान्ड पुलिङ) प्रविधि र प्रक्रिया अपनाएर जग्गा उपलब्ध गराउने बताएको छ ।

भण्डारीका अनुसार ‘खासगरी प्रस्तावित रूटमा बस्ती विकास गर्न रोक नलगाइएका कारण पुनः अध्ययन गर्दा आवश्यक देखिए हाल तय भएको रेखांकन परिवर्तन हुनसक्छ । प्राधिकरणले केही महीनाअघि गरेको आकलन अनुसार चक्रपथ निर्माणका लागि डेढ खर्ब रुपैयाँ लगानी आवश्यक हुने देखिएको छ ।

काठमाडौं उपत्यकालाई जोड्दै व्यवस्थित शहरीकरण गर्ने लक्ष्यका साथ बाहिरी चक्रपथ आयोजनालाई सरकारले अघि बढाएको थियो । उपत्यकाका तीनओटै पुराना शहर र अन्य नवघोषित नगरपालिकाहरूलाई एउटै सडक सञ्जालमा जोडेर व्यवस्थित शहरीकरणको दीर्घकालीन सोचअनुरूप यो आयोजनाको परिकल्पना गरिएको हो । 

त्यसैअनुरूप शहरी विकास मन्त्रालयले २०७४ वैशाख १४ गते निर्णय गर्दै आयोजनामध्ये पहिलो चरणमा चोभार–सतुंगल खण्ड निर्माण शुरू हुने घोषणासमेत गरेको थियो । हालकोे अध्ययनअनुसार बाहिरी चक्रपथको कुल लम्बाइमध्ये काठमाडौंमा ३५ दशमलव  शून्य ८ किमी, ललितपुरमा १५ दशमलव ८० किमी र भक्तपुरमा २१ दशमलव  शून्य ५  किमी रहनेछ । पछिल्लो अध्ययन अनुसार बाहिरी चक्रपथको सडकको चौडाइ ५० मीटर हुनेछ । आठ लेनको सडकसहित साइकल लेन, ग्रीन बेल्ट, पूmटपाथ तथा अपांगमैत्री पेटीको परिकल्पना गरिएको छ ।

त्यसैगरी, ५ सय मीटर (दायाँ–बायाँ २५०/२५० मीटरको सडक किनाराबाट चौडा क्षेत्रमा जग्गा एकीकरणबाट व्यवस्थित शहरीकरण हुने उल्लेख गरिएको छ । 

काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले चिनियाँ कम्पनीलाई चक्रपथ निर्माण गर्दा जग्गा विकास (ल्यान्ड पुलिङ) प्रविधि र प्रक्रिया अपनाएर जग्गा उपलब्ध गराउने जानकारी दिए । उनका अनुसार बाहिरी चक्रपथ निर्माण गर्ने कम्पनीले भौतिक संरचना विकास गर्ने र त्यसका लागि संघीय सरकारले नै लगानीको स्रोत जुटाइदिनेछ । 

तिवारीले भने, ‘चक्रपथ बनाउने लगानी नेपालको संघीय सरकारले नै व्यवस्थापन गर्नेछ । त्यसका लागि वैदेशिक अनुदान, सहुलियत ऋण तथा स्वदेशी स्रोत नै प्रयोग गर्ने विषयमा अझै टुंगो लागेको छैन ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)