ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुख्य १० स्रोत बजारमा पर्यटन प्रवर्द्धनका लागि बजेट बढाइँदै 

चिनियाँ पर्यटक बढाउने रणनीति तय कार्यदल गठन 

Oct 18, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल


काठमाडौं । सरकारले नेपालमा सबैभन्दा बढी पर्यटक आउने प्रमुख १० मुलुकमा पर्यटन प्रवर्द्धनका लागि बजेट बढाउने तयारी गरेको छ । नेपाल भ्रमण वर्ष २०२० आउन केही महीनामात्र बाँकी रहँदा ती मुलुकमा पर्यटन प्रवद्र्धनका लागि बजेट बढाइने भएको हो । 

पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण सचिवालयबाट वर्षबाट व्यवस्थापन हुने गरी छिट्टै थप बजेटको व्यवस्था गरी ती ठाउँहरूमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिने सरकारी तयारी छ । नेपालमा सबैभन्दा बढी पर्यटक आउने प्रमुख १० देशमा भारत, चीन, अमेरिका, श्रीलंका, बेलायत, दक्षिण कोरिया, जर्मनी, जापान र बंगलादेश पर्छन् । 

चिनियाँ पर्यटक भित्र्याउन नयाँ रणनीति तय गर्न बिहीवार नेपाल पर्यटन बोर्डमा सरोकारवालाहरूसँगको छलफल कार्यक्रममा पर्यटन मन्त्री योगेश भट्टराईले पर्यटन प्रवद्र्धनको बजेट बढाइने जानकारी दिए । 

पर्यटन व्यवसायीहरूले नेपालको पर्यटन प्रवर्द्धनका लागि भौतिक पूर्वाधारको विकास, कनेक्टिभिटी, नयाँ प्रडक्टहरूको विकास र प्रवद्र्धन आवश्यक रहेको बताएका थिए । पर्यटकको लागि आवश्यक आधारभूत कुरा नै पूरा नगरी हाम्रो देशमा आइज मात्र भनेर पर्यटन प्रवद्र्धन नहुने बताउँदै उनीहरूले पूर्वाधारमा सरकारले थप जोड दिनुपर्ने बताए । 

कार्यक्रममा होटल एशोसिएशन नेपाल (हान) की अध्यक्ष सृजना राणाले मुस्कानसहित नेपाल आएको पर्यटक फर्किंदा पनि मुस्कानसहित फर्किन सक्ने वातावरण बनाउनुपर्ने बताइन् । उनले यसको लागि सरकारले पहल गर्नुपर्ने र त्यसमा निजीक्षेत्र सधैं साथमा रहेको बताइन् ।

प्यासिफिक एशिया टाभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुरले चिनियाँ र भारतीय पर्यटक भित्र्याउन पाटाले पहिलो पटक नेपाल, भारत, चीन सम्मिलित (नाइस) टुरिजम् एक्सपो पर्न लागेको जानकारी दिए । 

जवाफमा पर्यटन मन्त्री भट्टराईले नेपालको हवाई पूर्वाधार विकास तथा कनेक्टिभिटी क्रमशः बढ्दै जाने स्थिति बन्दै गएको बताए । ‘त्रिभुवन विमानस्थलको स्तरोन्नति भइरहेको तथा गौतम बुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल द्रुत गतिमा बनिरहेकाले हवाई पूर्वाधारमा ठूलो परिवर्तन हुँदै छ । कनेक्टिभिटीका लागि नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले छिट्टै चीनमा उडानको तयारी गर्दै छन् । यसले पनि हामीलाई केही सहजता पक्कै थप्नेछ,’ उनले भने । 

चिनियाँ पर्यटक बढाउने रणनीति तय कार्यदल गठन 
यसैबीच सरकारले चिनियाँ पर्यटक बढाउने रणनीति तय गर्न नेपाल–चीन चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेको छ । सो कार्यदलमा पर्यटनसँग सम्बद्ध विभिन्न संस्था तथा स्वतन्त्र पर्यटन व्यवसायीहरू पनि सम्मिलित रहेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए ।

चीनका राष्ट्रपति सी चिनफिङले हालैको नेपाल भ्रमणका क्रममा नेपाल भ्रमण वर्ष सफल पार्न चीनबाट पर्यटक पठाउन उत्पे्ररित गर्ने बताउनु भएपछि यो कार्यदल गठन गरिएको हो ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)