ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाख्रामा पनि कृत्रिम गर्भाधान सेवा शुरू 

Oct 20, 2019  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी


पर्वत । पर्वतका स्थानीय तहले स्थानीय बाख्रामा पनि कृत्रिम गर्भाधान सेवा शुरू गरेका छन् । जिल्लाको मोदी गाउँपालिकाले पहिलो पटक बाख्रामा नश्ल सुधारको कार्यक्रम शुरू गरेको हो । गाउँपालिकाले बाख्रामा बोयर जातको बोकाको वीर्य ल्याएर यहाँका स्थानीय बाख्रामा क्रस गराउन थालेको पशु सेवा शाखा प्रमुख विमल शर्मा पौडेलले जानकारी दिए । 

स्थानीय रूपमा खरी र जमुनापारी जातको बाख्रामा बोयर जातको गर्भाधान गराउने कार्यक्रम छ । ‘स्थानीय जातमा क्रस गराएर नश्ल सुधार गर्ने कार्यक्रम शुरू गरेका हौं,’ पौडेलले भने, ‘किसानहरू यो कार्यक्रमबाट उत्साहित छन् ।’ पौडेलका अनुसार गाउँपालिकाले सहुलियत दरमा किसानलाई गर्भाधान सेवा दिन थालेको हो । मोदी गाउँपालिकाको तिलाहार, भुकदेउराली, देउपुर, क्याङ, राम्जादेउराली र चित्रे लगायतका गाउँमा बाख्रापालन हुँदै आएको छ । 

गाउँपालिका मासु र दूधमा आत्मनिर्भर हुने क्रममा छ । मासुमा आत्मनिर्भर हुनका लागि परम्परागत रूपमा बाख्रापालन गर्दै आएका किसानलाई व्यावसायिक बनाउन गाउपालिकाले अनुदानसमेत दिने गरेको छ । बाख्रापालनमा लाग्ने किसानलाई गाउँपालिकाले बाख्रा खरीद, खोर निर्माण, औषधोपचार, स्वास्थ्य शिविर लगायतका कार्यक्रममा अनुदान दिँदै आएको गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले जानकारी दिए । 

बोयर बाख्राको प्रजाति उन्नत जातमा पर्छ । पछिल्लो समय नेपालमा बोयर जातको बोका ल्याएर नश्ल सुधार गर्ने अभ्यास बढिरहेको छ । व्यावसायिक बाख्रापालन गर्नेहरूले बोयर जातको कृत्रिम गर्भाधान गराउने क्रम बढ्दै गएको छ । बोयर जातको बाख्रामा दैनिक २ सय ५० ग्रामदेखि ३ सय ग्रामसम्म मासुको वृद्धि हुने पशु प्राविधिकहरू बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)