ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखरा रंगशालाको ६० प्रतिशत काम सम्पन्न

परियोजना पूरा गर्न १ अर्ब ३० करोड लाग्ने अनुमान

Oct 20, 2019  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

कास्की । तेह्रौं दक्षिण एशियाली खेलकुद (साग) को मिति नजीकिएसँगै पोखरा रंगशालाको भौतिक पूर्वाधार निर्माणको काम द्रुत गतिमा अगाडि बढाइएको छ । पोखरा रंगशालाभित्र निर्माणाधीन अन्तरराष्ट्रिय मापदण्डको फुटबल मैदानलगायत आवश्यक पूर्वाधार निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १५ कात्तिकभित्र मैदान तयार गर्न निर्माण कम्पनीलाई निर्देशन दिएसँगै निर्माण कार्यले तीव्रता पाएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर दीपक बरालले बताए । मैदानका निर्माणका लागि १ अर्ब ३० करोड रुपैयाँसम्म लागत लाग्ने अनुमान गरिएको छ । आगामी १ डिसेम्बरदेखि १० तारिखसम्म सञ्चालन हुने १३औं संस्करणको प्रतियोगिताका लागि आवश्यक फुटबल मैदान निर्माण गरिसक्ने उनले बताए ।

मैदान बनाउन अहिले डेढ सय मजदूरले काम गरिरहेका छन् । तोकिएको मितिमा ८ देखि १० हजार सिट क्षमताको प्यारापिटसहितको फुटबल मैदान तयार हुने बरालको भनाइ छ । पोखरा रंगशालाको फुटबल मैदानमा तिहारसम्म भारतको कोलकाताबाट ल्याइएको दुबो रोपिसक्ने तयारी छ । अहिले निर्माणाधीन रंगशालाको फुटबल मैदानमा करीब महीना दिन अघिदेखि कोलकाताको बर्माडा ग्रास (दुबो) रोप्ने काम धमाधम भइरहेको छ । रंगशालाको फुटबल मैदानमा ९० हजार वर्गफिट बर्माडा ग्रास रोपिने उनले बताए । 

उनका अनुसार १७ ओटा शौचालयमध्ये हालसम्म ११ ओटा शौचालयको भवन फिनिसिङको चरणमा छन् । १३औं सागमा महिला फुटबल खेल खेलाइने भएपछि फुटबल मैदानको निर्माण कार्य तीव्र बनाइएको राष्ट्रिय खेलकूद परिषद् (राखेप) सदस्य राजेशकुमार गुरुङले बताए । निर्माण कम्पनीले सागको खेल सञ्चालन हुने समयभित्र रंगशाला नबनाए कारबाही गर्ने उनले जानकारी दिए ।

खेलकुद मन्त्रालय, राखेप तथा क्षेत्र र जिल्ला खेलकुद समितिले समेत निर्माण कार्यप्रति निरन्तर चासो राख्दै आएका छन् । सागअन्तर्गत पोखरामा महिला क्रिकेटसहित ९ ओटा खेलको आयोजना गरिनेछ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)