धनगढी । पाँच वर्षअघि कृष्णपुर नगरपालिका–४ का कञ्चनपुरका रामलाल चौधरीसँग तीन जोडी हलगोरु र दुई जोडी राँगा थिए । ६ बिघा खेतबारी जोत्नका लागि तिनीहरूको प्रयोग गरिन्थ्यो । यस्तै, गोदावरी नगरपालिका–१, कैलाली गेटाका श्रीराम रानासँग पनि तीन जोडी हलगोरु थिए, जसले साढे ७ बिघा जोत्न सघाउ पुग्थ्यो । तर, आजभोलि उनीहरूको खेतबारीमा हलगोरु नभएर पावर टिलर (ट्र्याक्टर) लगायत आधुनिक कृषियन्त्र प्रयोग गर्न थालिएको छ । यसले समय र लागत घटाएको उनीहरूको भनाइ छ ।
यी त केही प्रतिनिधि उदाहरण मात्र हुन् । केही वर्ष अघिसम्म कैलाली तथा कञ्चनपुरमा हलगोरु, राँगा तथा ठेलागाडा नभएको किसान भेटाउन मुस्किल पर्थ्यो । खेतबारी जोत्नेदेखि कृषि उत्पादन ग्रामीण भेगदेखि बजारसम्म ढुवानीका मुख्य साधन मानिन्थे गोरुगाडा । तर पछिल्लो पाँचवर्षयता अवस्था फेरिएको छ । हलगोरु, राँगा र गोरुठेला कैलाली कञ्चनपुरबाट विस्थापित क्रम बढ्दो छ ।
कृषि कार्यमा सहज तथा कम समयमा धेरै काम गर्न सकिने भएकाले किसानको आकर्षण पावर टिलरमा बढ्दै गएको सुदूरपश्चिम प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री विनीता चौधरीले बताइन् । कैलाली तथा कञ्चनपुरमा अधिकांशजसो किसानले पावर टिलरको उपयोग गर्दै आएको पाइएको हो । प्रदेश मन्त्री चौधरीका अनुसार कृषि प्रयोजनका लागि आयात गरिने पावर टिलरमा भन्सार छूटलगायत सुविधाका कारण पनि यसको प्रयोग बढ्दै गएको हो ।
राष्ट्रिय गौरवको आयोजना रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको कृषितर्फको कार्यालयले गत आर्थिक वर्षमा किसानलाई ५० प्रतिशत अनुदानमा ६ सय कृषि यन्त्र वितरण गरेको थियो । उसले पावर टिलर मात्र ३०० भन्दा बढी अनुदानमा वितरण गरेको कार्यालयका प्रमुख भरत कँडेलले बताए । गत आवकै हाराहारीमा चालू आवमा पनि किसानलाई कृषियन्त्र वितरण गर्ने कार्यक्रम रहेको उनले जानकारी गराए ।
एउटै पावर टिलरबाट खेत जोत्न, बोरिङबाट सिँचाइ गर्न, बाली काट्न, थ्रेसिङ गर्न, मिल चलाउन, ढुवानी गर्न, जेनेरेटर चलाउन सकिने भएकाले कृषिका लागि यो बहुउपयोगी यन्त्र भएको अगुवा कृषक नन्दराज भट्टले बताए । तर, प्रदेश सरकार तथा स्थानीय तहले किसानलाई वितरण गर्ने यस्ता कृषियन्त्रहरू वास्तविक खेतीकिसानी गर्ने किसानले सहज रूपमा पाउन सकेमात्र यसको सदुपयोग हुने उनको भनाइ छ ।