ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिमालय एयरलाइन्स : काठमाडौं–पेचिङ सीधा उडान कात्तिक १० गतेदेखि

Oct 20, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
पेचिङस्थित नवनिर्मित तासिङ अन्तरराष्ट्रिय विमानस्थल
author avatar टीपी भुसाल

काठमाडौं । निजीक्षेत्रको हिमालय एयरलाइन्सले कात्तिक १० गतेदेखि काठमाडौं –पेचिङ सीधा उडान शुरू गर्दै छ । चीनको राजधानी पेचिङ र काठमाडौंबीच हाल सीधा उडान नभएको सन्दर्भमा हिमालय एयरलाइन्सको यो उडानलाई निकै महत्त्वका साथ हेरिएको छ । हिमालयले हाल काठमाडौं–पेचिङ रूटमा सातामा ३ उडान गर्ने योजना बनाएको छ । कम्पनीका अनुसार पहिलो उडानका लागि बुकिङ खुल्ला गरिसकेको तथा हालसम्म १३० जनाको एकतर्फी बुकिङ भइसकेको छ । 

काठमाडौं–पेचिङ सीधा उडानले नेपाल भ्रमण वर्ष २०२० मा चिनियाँ पर्यटक आगमनमा गुणात्मक सुधार ल्याउने पर्यटन क्षेत्रका सरोकारवालाको अपेक्षा छ । हाल पाँच चिनियाँ वायुसेवा कम्पनी– एयर चाइना, चाइना साउदर्न, चाइना इस्टर्न, सिचुवान एयरलाइन्स तथा तिब्बत एयरलाइन्सले नेपालमा उडान गर्दै आएका छन् ।  तर, यीमध्ये कसैले पनि चीनको राजधानीबाट काठमाडौंसम्म प्रत्यक्ष उडान सेवा शुरू नगरेकाले चङतु, क्वाङचाओ, ल्हासा, कुन्मिङ हुँदै आउनुपर्ने बाध्यात्मक अवस्था छ । 

हिमालयले एयरबसको ए–३२० सिरिजकै जहाजबाट पेचिङस्थित नवनिर्मित तासिङ अन्तरराष्ट्रिय विमानस्थलमा उडान गर्नेछ । हालै मात्र औपचारिक रूपमा सञ्चालनमा आएको तासिङ विमानस्थल १५ अर्ब अमेरिकी डलरको लागतमा निर्माण गरिएको हो । नेपाल र चीनबीच गत साउनमा हवाई सेवा सम्झौता पुनरवलोकन भएपछि दुवै देशका वायुसेवा कम्पनीले साताको ९८ उडान गर्न पाउँछन् । साथै नेपाली वायुसेवा कम्पनीहरूले चीनका विभिन्न १५ विमानस्थलहरूमा उडान गर्न पाउने भएका छन् । त्यही अनुरूप हिमालयले चीनमा आफ्नो सेवा विस्तार गर्न लागेको हो ।  

कम्पनीले पेचिङसँगै सन् २०१९ भित्रै चीनका अन्य तीन शहरमा उडान थप गर्ने योजना बनाएको एयरलाइन्सकी ब्रान्ड तथा सर्भिस डिपार्टमेन्ट प्रमुख उज्ज्वला दलीले जानकारी दिइन् । उनका अनुसार चीनको कुइयाङ, चाङ्सा र नाङचिङमा हप्ताको एक उडान गर्ने तयारी छ । हिमालयसँग १५८ सीट क्षमताका एयरबस ए–३२० सिरिजका तीनओटा जहाज छन् । ती प्रत्येक विमानमा ८ बिजनेश र १५० इकोनोमी क्लासका सीट छन् । एयरलाइन्सले निकट भविष्यमा नै ल्हासाजस्ता उच्च स्थानमा उडान गर्न ए–३१९ जहाज खरीद गर्ने योजना छ ।

हिमालय एयरलाइन्सको चिनियाँतर्फको शेयर स्वामित्व हालै मात्र परिवर्तन भएको छ । चीनकै तिब्बत एयरलाइन्सको शेयर तिब्बत सिभिल एभिएशन डेभलपमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनीले खरीद गरेको हो । तिब्बत सिभिल एभिएशन डेभलपमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनी चीन सरकारको स्वामित्वको कम्पनी हो ।

एयरलाइन्समा नेपाली पक्ष यती वर्ल्ड इन्भेस्टमेन्टको ५१ प्रतिशत र चिनियाँ पक्षको ४९ प्रतिशत शेयर अंश रहेको छ । नेपाल–चीन संयुक्त उद्यमका रूपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्स अन्तरराष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो । एउटा जहाज र एउटा गन्तव्यबाट उडान सेवा शुरू गरेको एयरलाइन्सले ३ वर्षको अन्तरालमै आफ्नो स्वामित्वमा ३२०–२१४ सिरिजका तीनओटा न्यारो–बडी एयरक्राफ्टमार्फत पाँचओटा गन्तव्यमा उडान गर्दै आएको छ । अहिले हिमालय एयरलाइन्सले अबुधाबी, दमाम, दोहा, ढाका र क्वालालम्पुरमा उडान गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)