ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विद्युतीय बस किन्ने प्रक्रिया रोक्न साझालाई पत्र

Oct 21, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । साझा यातायातको ३०० ओटा विद्युतीय बस किन्ने प्रक्रिया हालका लागि अवरुद्ध हुनपुगेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तत्कालका लागि किन्ने प्रक्रिया रोक्न पत्र पठाएपछि १ महीनादेखि विद्युतीय बस किन्ने प्रक्रिया रोकिन पुगेको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत असोज १ गते नै बस किन्ने प्रक्रिया रोक्न साझालाई पत्र पठाएको हो । यसबीचमा साझाले किन्ने प्रक्रिया अघि बढाउन सरकारलाई पत्र लेखे पनि सरकारले कुनै निर्णय गरेको छैन । मन्त्रालयका अनुसार सरकारले विद्युतीय बसको मापदण्ड बनाई साझालाई दिएकोमा साझाले उक्त मापदण्ड फेरेर किन्ने प्रक्रिया अघि बढाउन खोजेपछि किन्ने प्रक्रिया रोक्न निर्देशन दिइएको हो । 

मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले सरकारले बस किन्ने प्रक्रिया रोक्न नभई मापदण्ड बदलिएपछि तत्काल प्रक्रिया अघि नबढाउन मात्र साझालाई पत्र लेखिएको बताए । ‘मन्त्रिपरिषद्ले दिएको मापदण्ड फेरेर साझाले बस किन्न सक्दैन,’ उनले भने, ‘साझाले बनाएको नयाँ मापदण्ड पनि मन्त्रिपरिषद्ले पास गर्नुपर्ने भएकाले अध्ययनका लागि प्रक्रिया रोक्न भनिएको हो ।’ उनले सरकारले बनाएको मापदण्डमध्ये एक मात्र मापदण्ड पनि साझाले पूरा गरेन भने सरकारले त्यसको अध्ययन गर्न सक्ने बताए । 

साझा यातायातले भने सरकारी मापदण्ड अनुसार नै बस किन्नका लागि मापदण्ड बनाइएको दाबी गरेको छ । सरकारले बस किन्नका लागि खाका मात्रै तयार पारेकोमा त्यसलाई आवश्यक परिमार्जन गरी विस्तृत मापदण्ड बनाएको साझाका प्रमुख कार्यकारी अधिकृत भूषण तुलाधरले बताए । ‘सरकारले बसको पूरा मापदण्ड नबनाएर खाका मात्रै बनाएको थियो,’ उनले भने, ‘जस्तो एसी बस कि नर्मल केही थिएन, हामीले मापदण्डमा एसी बस बनाएका हौं ।’ यातायात व्यवस्था विभाग, यातायात मन्त्रालय, महानगरपालिका, विद्युत् प्राधिकरणका पदाधिकारीसहितको समिति बनाएर छलफलबाट बसको मापदण्ड बनाइएकाले त्यसमा समस्या नभएको उनले बताए ।

यसअघि साझाले दशैंसम्म गाडी सञ्चालन गर्न नसकिने भन्दै सरकारलाई पत्र लेखेको थियो । टेन्डरमा जाँदा प्रक्रिया लामो हुने भएकाले समय बढी लाग्ने भन्दै दशैंसम्म गाडी चलाउने भए ‘सरकार–सरकार’ प्रक्रियाबाट बस किन्न साझाले सुझाव दिएको थियो ।

साझाले तत्काल बस किन्ने प्रक्रिया रोक्ने निर्देशनको पत्र आफूलाई प्राप्त भएको बताउँदै अन्य कुरा थाहा नभएको बताएको छ । ‘सरकारले किन्ने प्रक्रिया यथास्थितिमा राख्न पत्र पठाएको छ,’ साझाका अध्यक्ष कनकमणि दीक्षितले भने, ‘सरकारले अन्य कुनै निर्णय नगरेसम्म हामी काम रोकेर बस्छौं ।’ उता, मन्त्रालयका प्रवक्ता ज्ञवालीले बैठक बसेर मात्रै आगामी दिनमा के हुन्छ भन्न सकिने बताए ।

२०७५ पुसको दोस्रो साता मन्त्रिपरिषद्ले सरकारको लगानीमा ३०० ओटा विद्युतीय बस किन्ने निर्णय गरेको थियो । २०७६ वैशाखदेखि काठमाडौंमा विद्युतीय बस सञ्चालन गर्ने घोषणा गरेको सरकारले गत असारको अन्तिम साता मात्रै विद्युतीय बस किन्ने निर्णय गरेको थियो । 

काठमाडौं उपत्यकामा यातायात प्राधिकरण बनाई सोही प्राधिकरणमार्पmत विद्युतीय बस सञ्चालन गर्ने तयारी सरकारको थियो । तर, प्राधिकरण बन्न नसकेपछि सरकारले असार ३१ गते साझासँग सहकार्य गरी दशैंसम्म विद्युतीय बस किनी सञ्चालन गर्न रू. ३ अर्ब निकासी गरेको थियो । विद्युतीय बस किन्न प्रदेश ३ सरकार, काठमाडौं र ललितपुर महानगरपालिकाले पनि साझासँग सहकार्य गरेका छन् । साझालाई प्रदेश ३ सरकारले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोड र ललितपुर महानगरपालिकले साढे २ करोड रुपैयाँ सहयोग गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)