ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेप्सेमा रहेको बाँकी शेयर विक्री गर्ने तयारीमा राष्ट्र बैंक

Oct 21, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रहेको आप्mनो ३४ दशमलव ६० प्रतिशत शेयर सबै विक्री नभएपछि नेपाल राष्ट्र बैंक फेरि बोलपत्र आह्वान गर्ने तयारीमा छ । यसअघि असार अन्तिम साता बोलपत्र आह्वान गर्दा २० प्रतिशत शेयरमात्र विक्री भएपछि बाँकी शेयर विक्री गर्न फेरि बोलपत्र आह्वान गर्न लागिएको हो । 

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले अर्को बोलपत्र आ≈वानका लागि मिति तोक्ने निर्णय गर्न बाँकी भए पनि त्यसबारेको निर्णय कात्तिक महीनाभित्रै हुने प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । बाँकी रहेको १४ दशमलव ६० प्रतिशत शेयर सबै विक्री गर्ने वा नीतिगत व्यवस्थाअनुसार १० प्रतिशत राखी बाँकी विक्री गर्नेबारेमा केन्द्रीय बैंकको सन्चालक समितिले निर्णय गर्नेछ । 

‘नीतिगत व्यवस्थाअनुसार कम्तीमा १० प्रतिशत शेयर राख्न पाउने व्यवस्थाकै कारण शेयर विक्रीको प्रक्रिया अघि बढाइएको हो । अब केन्द्रीय बैंकले बाँकी रहेको सबै शेयर विक्री गर्ने वा १० प्रतिशत राखेर ४ दशमलव ६० प्रतिशत मात्र विक्री गर्ने भन्ने विषयमा भने निर्णय गर्ने छ । बोर्ड बैठकले निर्णय गरेपछि विक्रीको पुरानै प्रक्रिया अपनाउने छौं,’ प्रवक्ता निरौलाले बताए । 

राष्ट्र बैंकको ऐनमा केन्द्रीय बैंकले कुनै पनि संस्थामा १० प्रतिशतभन्दा बढी शेयर लगानी गर्न नपाउने व्यवस्था रहेको छ । तर, नेप्सेमा राष्ट्र बैंकको ३४ दशमलव ६० प्रतिशत शेयर रहेको थियो । त्यसैले उक्त नीतिगत व्यवस्थालाई पालन गर्न राष्ट्र बैंकले नेप्सेमा रहेको आप्mनो शेयर विक्री गर्ने निर्णय गरेको थियो । 

राष्ट्र बैंकले गत असार अन्तिम सातामा नेप्सेको शेयर खरीद गर्न चाहनेले भदौ २ गतेसम्म आवेदन दिन भनी शेयर लीलामका लागि सार्वजनिक सूचना जारी गरेको थियो । नेप्सेमा रहेको १७ लाख २९ हजार ९८९ कित्ता शेयर विक्री गर्न राष्ट्र बैंकले रू. १०० अंकित दरका शेयरलाई प्रिमियमसहित विक्री खुलाएको थियो । त्यसअनुसार केन्द्रीय बैंकले प्रति शेयर न्यूनतम १ हजार ३२ रुपैयाँका दरले नेप्सेको शेयर विक्रीमा बोलपत्र आ≈वान गरेपछि तीनओटा संस्थाको आवेदन परेको थियो । 

बैंक तथा वित्तीय संस्था र सूचीकृत संस्थाले मात्र उक्त शेयर किन्न पाउने व्यवस्थाले गर्दा आवेदनमा दुईओटा वाणिज्य बैंक–लक्ष्मी बैंक र प्रभु बैंक तथा कर्मचारी सञ्चय कोषको प्रस्ताव परेको थियो । कर्मचारी सञ्चय कोषले १ हजार ३२ रुपैयाँकै दरमा १० प्रतिशत (५ लाख कित्ता) शेयर किनेको थियो भने लक्ष्मी बैंकले प्रतिकित्ता १ हजार १०१ रुपैयाँको दरले ५ प्रतिशत (साढे २ लाख कित्ता) तथा प्रभु बैंकले प्रति कित्ता १ हजार ३०० रुपैयाँ दरले ५ प्रतिशत (साढे २ लाख कित्ता) शेयर किनेको थियो ।

सरकारको वित्तीय क्षेत्र विकास रणनीतिले आर्थिक वर्ष २०७७/७८ भित्र नेप्सेको स्वामित्व पूर्णरूपमा हस्तान्तरण गर्ने नीति लिएको छ । यसकारण पनि केन्द्रीय बैंकले नेप्सेमा रहेको आप्mनो स्वामित्व विक्री गरेको हो ।

नेप्सेमा राष्ट्र बैंकबाहेक सरकारकोे ५८ दशमलव ६६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक (साविकको एनआईडिसी) को ६ दशमलव १२ प्रतिशत र धितोपत्र दलाल व्यवसायी (ब्रोकर) संघको शून्य दशमलव ६२ प्रतिशत शेयर रहेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)