काठमाडौं । चीनको ७०औं वार्षिकोत्सवले कोरला नाकामा हुने उपल्लो मुस्ताङ–चीन मेला एक महीना पछाडि सर्दा नाकाको राजस्व संकलन प्रभावित भएको छ । भदौ १५ गतेदेखि शुरू गर्ने भनी तय भएको मेला वार्षिकोत्सवका बेला विदेशीलाई सीमा प्रवेशमा रोक लगाइँदा एक महीनापछि (असोज २४) मा शुरू गरिएको थियो । उपल्लो मुस्ताङ र सीमापारी (कोरला नाका) आसपासका स्थानीयका लागि आर्थिक वर्षको दुई पटक (भदौ र असारमा) चीनपट्टि मेला लगाइन्छ । यिनै दुई मेला नै नेपालको कोरला नाकाको भन्सार संकलनको एक मात्र आधार हो ।
सरकारले कोरलास्थित भन्सार कार्यालयलाई चालू आर्थिक वर्ष २०७६/७७ का लागि रू. १६ लाख ८८ हजार राजस्व संकलनको लक्ष्य दिएको छ । तर, यो पटक मेलाबाट केवल रू. ५ लाख ६१ हजार संकलन भएको भन्सार प्रमुख यादवराज पहाडीले जानकारी दिए । उनका अनुसार यो कुल लक्ष्यको ३३ प्रतिशत मात्र हो ।
कार्यालयले गत आव २०७५/७६ मा वार्षिक लक्ष्यको ६० प्रतिशत राजस्व यही समयको मेलाबाट संकलन गरेको थियो । गत आवमा राजस्व संकलन लक्ष्य रू. १२ लाख ५० हजार रहेको यो समयको मेलाबाट मात्रै रू. ७ लाख ६० हजार राजस्व संकलन भएको थियो । कार्यालयले गत आवमा रू. १४ लाख ८६ हजार राजस्व संकलन गरेको थियो ।
यसले लक्ष्यअनुरूप राजस्व संकलनमा चुनौतीका साथै वार्षिक राजस्व संकलन लक्ष्य प्रभावित हुने सम्भावना रहेको भन्सार प्रमुख पहाडीले बताए । पहाडीले भने, ‘आउँदो असारको मेलाबाट बाँकी ११ लाख २६ हजार संकलन हुन्छ कि हुँदैन भन्ने चुनौती छ ।’
चीन स्थापनाको ७०औं वार्षिकोत्सव, असोज १४ गते (अक्टोबर १) परेको थियो । ‘त्यसको तयारीस्वरूप चीनले त्यसअघिको केही समयदेखि आफ्ना सीमाभित्र विदेशीका गतिविधिमा रोक लगाएकाले थियो,’ उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल बिष्ट (राजु) ले जानकारी भने, ‘दुई पक्षबीच सल्लाह भएरै मेला निर्धारित मितिभन्दा १ महीनापछि सारिएको थियो ।’
दशैंपछि जाडो बढ्ने तथा दशैंमा व्यापार पनि राम्रो हुने कारणले दशैंअघि नै मुस्ताङीहरू भेडाच्यांग्राका साथै आफ्ना उत्पादन लिएर पोखरा झर्ने गर्दछन् । नेपालीले यो पटकको मेलाबाट घ्यू, चियापत्ती, ऊन, चाउचाउ, चकलेट, बिस्कुट, कम्बल र सिरक लगायतका सामान आयात गरेका छन् । यो मेलामा नेपालीले विक्री गर्ने खासै सामान नहुने र त्यसमा पनि दशैंपछिको मेला भएकाले निर्यात नभएको भन्सार प्रमुख पहाडीले बताए ।