ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नागढुंगा–नौबीसे सुरुङमार्गको शिलान्यास आज

औपचारिक निर्माण कार्य भने मङ्सिरदेखि मात्र

Oct 21, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । नेपालको पहिलो ट्रान्सपोर्ट टनेल (सुरुङमार्ग) ‘नागढुंगा–नौबीसे सुरुङमार्ग आयोजना’ सोमवार (आज) प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्दै छन् । गत असोज ६ गते सडक विभाग र जापानको हाज्माआन्दो कर्पाेरेशनबीच ठेक्का सम्झौता भएसँगै कुल ५ दशमलव ७ किलोमीटर (किमी) को सुरुङमार्ग निर्माणको काम अगाडि बढेको हो । सोमवार प्रधानमन्त्री ओलीले सुरुङमार्ग निर्माणको शिलान्यास गरे पनि यसको औपचारिक निर्माण कार्य भने मङ्सिरदेखि मात्र शुरू हुनेछ । 

सुरुङमार्गमा ठेकेदार कम्पनीले अहिले आवास भाडामा लिने, सुरुङमार्गको विभिन्न खण्डमा क्याम्प (अस्थायी) बनाउने कार्य र मेशिन तथा उपकरणहरू जुटाउने काममा केही समय लाग्ने भएको बताएकाले औपचारिक निर्माण शुरू गर्न अझै १ महीना लाग्ने आयोजनाका निर्देशक श्याम खरेलले बताए । 

सम्झौतअनुसार सो सुरुङमार्ग साढे ३ वर्ष (४२ महीना) मा निर्माण गरिसक्नु पर्ने छ । नेपाल सरकार र जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) बीच यो सुरुङमार्ग बनाउने विषयमा सन् २०१६ मा सम्झौता भएको थियो । जापान सरकारको सहुलियत ऋणमार्फत बन्न लागेको यस सुरुङमार्गको कुल लागत रू. २२ अर्ब रहेको छ, जसमध्ये जाइकाले रू. १६ अर्ब तथा नेपाल सरकारले रू. ६ अर्ब बेहोर्ने छन् ।

नेपाल सरकारले सुरुङमार्ग निर्माणमा भन्दा पनि जग्गाको मुआब्जामा मात्रै लगानी गर्नेछ । नौबीसे–नागढुंगा सुरुङमार्ग निर्माणअन्तर्गत दुईओटा फ्लाईओभर, सर्भिस सेन्टर, २४ घण्टा नै उपलब्ध हुने किसिमले एम्बुलेन्स, टोल गेट, कल्भर्ट, पुल, अन्डरपास लगायत संरचनाहरू बन्ने आयोजनाले जानकारी दिएको छ । काठमाडौंको थानकोटदेखि धादिङ जिल्लाको नौबीसेमा पर्ने झ्याप्ले खोलासम्म बन्ने सुरुङमार्गमा २ दशमलव ७ किमी सुरुङ हुनेछ भने बाँकी ३ किमी सडक बन्नेछ । 

आयोजना निर्माणका लागि काठमाडौंको थानकोट÷नागढुंगा र धादिङमा गरी ३४४ रोपनी जग्गा अधिग्रहण गरिँदै छ । त्यसमध्ये काठमाडौंमा पर्ने ३०० रोपनीमध्ये ८५ प्रतिशतको मुआब्जा वितरण भइसकेको र धादिङको ४४ रोपनी जग्गा अधिग्रहणका लागि प्रक्रिया सम्पन्न भइसकेको छ । आयोजनाका अनुसार धादिङमा मात्रै मुआब्जाका लागि रू. ८० करोड बजेट आवश्यक छ । काठमाडौंको प्रमुख प्रवेशद्वारमध्येको यस नाकामा सुरुङमार्ग बनेपछि दूरी कम हुनुका साथै ट्राफिक जामसमेत घट्ने देखिएको छ ।

सुरुङमार्ग निर्माणमा सिन्धुली राजमार्गमा प्रयोग भएका केही मेशिनहरू प्रयोग गरिने र बाँकी जापानबाट नै ल्याउने तयारी भएको छ । त्यसैगरी सुरुङमार्ग निर्माणका लागि जापानबाट २० जना प्राविधिकहरू काठमाडौं आइसकेका छन् । खरेलले भने, ‘टेक्नोलोजी ट्रान्सफर होसु भन्नका लागि आयोजनामा नेपाली इन्जिनीयरहरू सहभागी हुनेछन् ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)