ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भुरुङ तातोपानीमा पर्यटकको भीड

Oct 22, 2019  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ तातोपानी कुण्डमा नुहाउने आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ । अन्नपूर्ण पदयात्रामा जाने र फर्कने पर्यटकहरू भुरुङ तातोपानी कुण्डमा नुहाउन आउने आउने क्रम बढेको कुण्डका व्यवस्थापक बाबुराम गर्बुजाले बताए । उनका अनुसार अहिले दैनिक ५ सय पर्यटक तातोपानीको धारा र कुण्डमा स्नान गर्न आएका छन् । 

यहाँको प्राकृतिक तातोपानीमा स्नान गर्दा थकान मेटिने र शारीरिक स्फूर्ति बढ्ने पर्यटकहरूको भनाइ छ । लोमान्थाङ क्षेत्रको ३ दिनको भ्रमणपछि बेनी फर्कने क्रममा तातोपानी कुण्डमा स्नान गरेका पोखराका शिव हमालले यहाँको कुण्डमा डुुबेपछि निकै आनन्द महसूस भएको अनुभव सुनाए । कुण्डमा बिहान ६ देखि साँझ ८ बजेसम्म स्नान गर्न सकिन्छ । कुण्डमा स्नानका लागि स्वदेशीका लागि ५० र विदेशीका लागि १५० रुपैयाँ शुल्क तोकिएको छ । 

कुण्डमा प्रवेश शुल्क संकलन तथा होटल सञ्चालन गर्न गाउँपालिकाले यस वर्ष ५८ लाख रुपैयाँमा ठेक्का लगाएको छ । गतवर्ष यसबाट ५३ लाख रुपैयाँ आम्दानी भएको थियो । कुण्डबाट हुने आम्दानी तातोपानीस्थित सर्वोदय मावि र हिमालय आधारभूत विद्यालयका निजी स्रोतका शिक्षकको तलब, स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन, कुण्डको पूर्वाधार निर्माण र संरक्षणमा खर्चिएको वडाध्यक्ष ओमप्रकाश फगामीले बताए ।

कुण्डको आर्थिक सहयोगमा कक्षा ११ र १२ सञ्चालन गरिएको सर्वोदय मावि व्यवस्थापन समितिका अध्यक्ष बुद्धि पुनले बताए । कुण्डको आम्दानीबाट गतवर्ष दुई विद्यालय र स्वास्थ्य चौकीलाई ३० लाख रुपैयाँ सहयोग गरिएको थियो । यस्तै यसबाट कालीगण्डकी नदीको कटान नियन्त्रण तथा संरक्षणको काम गरिँदै आएको छ ।

पर्यटकको आवास सुविधाका लागि तातोपानी बजारमा दर्जनको हाराहारीमा सुविधासम्पन्न होटल सञ्चालन भएका छन् । यहाँका होटलमा १ दिनमा ३ सयभन्दा बढी वास बस्न सक्ने क्षमता छ । पुराना होटलले क्षमता तथा सुविधा बढाउने र नयाँ होटल थपिने क्रम बढेको हिमालयन होटलका सञ्चालक आत्मा तुलाचनले बताए । उनका अनुसार पछिल्लो समय मुस्ताङ भ्रमणमा जाने र फर्किने स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)