ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नागढुंगा–नौबीसे सुरुङमार्ग शिलान्यास " राजमार्गमा सुरुङ निर्माणको शुरुआत : प्रधानमन्त्री"

Oct 22, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजमार्ग तथा सडकमा टनेल (सुरुङमार्ग) प्रविधिको शुरुआत भएको बताउनु भएको छ । नागढुंगा–नौबीसे सुरुङमार्गको सोमवार शिलान्यास गर्दै ओलीले सडक पूर्वाधार तथा राजमार्ग÷बाटो निर्माणमा एक कदम अघि बढेको बताउनु भएको हो । 

जलविद्युत्, सिँचाइ र खानेपानीमा सुरुङमार्गको प्रयोग नेपालले गरिसकेको बताउँदै ओलीले भन्नुभयो, ‘योजना, प्रविधि र विकासको नयाँ तरीकाले थप नयाँ उचाइमा उठेका छौं । हामी आगामी ४२ महीनाको पर्खाइमा छौं ।’ गत असोज पहिलो साता सडक विभाग र सुरुङमार्ग निर्माण गर्ने जापानको कम्पनी हाज्माआन्दो कर्पाेरेशनबीच ४२ महीनामा सुरुङमार्ग निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । 

कुल ५ दशमलव ७ किलोमिटर (किमी) को एप्रोच मार्गसहितको सडकमा सुरुङमार्ग भने २ दशमलव ६८ किमीको हुने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जानकारी दिएको छ । सुरुङमार्गमा ७ ओटा पुल, ११ ओटा बक्स कल्भर्ट, दुवैतर्फ सडक दस्तुर संकलन गर्न टोल संरचना, सुरुङमार्गको सम्पूर्ण अवस्थाको अनुगमन गर्न नियन्त्रण कक्ष, छुट्टै विद्युत् लाइन र  २ ओटा फ्लाइओभर ब्रिज बन्नेछन् । 

उक्त सुरुङमार्ग त्रिभुवन राजमार्गको काठमाडौं जिल्लास्थित बलम्बुबाट शुरू भई आकाशटोल, त्रिवेणीघाट, दहचोक, टुटीपाखा हुँदै सोही राजमार्गको धादिङ जिल्लास्थित सिस्नेखोलामा जोडिनेछ । नेपाल सरकार र जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) बीच यो सुरुङमार्ग बनाउने विषयमा सन् २०१६ मा सम्झौता भएको थियो ।   

कार्यक्रममा प्रधानमन्त्री ओलीले टोखा–छहरे र बेत्रावती–स्याफ्रुबेँशी सुरुङमार्ग अघि बढाउने भन्दै सर्वे र सम्भाव्यता अध्ययनका लागि बढी समय लागे पनि त्यसपछि निर्माण भने द्रुत गतिमा गर्ने बताउनु भयो । उहाँले अन्य आवश्यक भएका राजमार्गहरूमा पनि सुरुङमार्ग निर्माण गर्दै जाने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘फास्ट ट्रयाक दु्रत गतिमा अघि बढेको छ, पूर्व–पश्चिम राजमार्ग चौडा गर्ने काम विभिन्न खण्डबाट शुरू भइसकेको छ, हुलाकी राजमार्ग छिटै बन्नेछ ।’ राजमार्गबाट सीधै सदरमुकामसम्म बन्ने सडकहरूको स्तरोन्नतिका साथै, फराकिला बनाइँदै लैजाने योजना तिब्रताका साथ अघि बढेको उहाँको भनाइ छ । सिंगल लेनको सडक अब नबनाउने र कम्तीमा २ लेनदेखि ४ र ६ लेनका सडक मात्रै बन्ने प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो ।

कार्यक्रममा तातोपानी सडक पनि दुई लेन बनाई स्तरोन्नति गरिने उल्लेख गरिएको छ । उत्तरी नाकासँग जोडिने नाका पनि अघि बढेको ओलीको भनाइ छ । २०२० लाई नेपालले भ्रमण वर्ष घोषणा गरेकोले त्यसलाई सफल बनाउन गुणस्तरीय र स्तरीय सडक बनाउन ढिलाइ नगर्न उहाँले निर्देशन दिनुभयो । 
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले चालू आर्थिक वर्ष २०७६÷७७ मा मुलुकभरका विभिन्न ७ स्थानमा सुरुङमार्गको सम्भाव्यता अध्ययनका साथै विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाइसक्ने जानकारी दिए । यो सुरुङमार्ग ४२ महीना भनिए पनि ३६ महीनामा सम्पन्न गर्न कम्पनीलाई भनिएको मन्त्री महासेठको भनाइ छ । 

‘काठमाडौं उपत्यका माघ/फागुनसम्ममा नयाँ स्वरूपमा देख्न सकिनेछ,’ मन्त्री महासेठले भने, ‘काठमाडौंलाई आधुनिकीकरण र व्यवस्थित यातायात सञ्चालन गर्न कोटेश्वर, नयाँ बानेश्वर, गौशाला, चाबहिल, थापाथली, त्रिपुरेश्वर र कालिमाटीमा ओभरहेड ब्रिज र टनेलसहितको अन्डरपास बनाउन सैद्धान्तिक सहमतिका लागि प्रस्ताव गरिएको छ ।’ सहमति आउनासाथ खरीद प्रक्रिया अघि बढाउने र छिटै निर्माणको काम अघि बढाउने उनले बताए । 

हुलाकी राजमार्गका सबै ठेक्का खरीद प्रक्रियामा अघि बढेको, मध्यपहाडी र मदन भण्डारी राजमार्ग पनि समयमै सम्पन्न गरिने उनले जानकारी दिए । नागढुंगा–मुग्लिन सडक स्तरोन्नति र मुग्लिनदेखि पोखरासम्मको सडकलाई चार लेनमा स्तरोन्नति गरिने महासेठले बताए । प्रत्येक सदरमुकामलाई ६ लेन र पहाडमा पनि सोहीअनुसारको सडक बनाउने विषयमा गृहकार्य भइसकेको उनको भनाइ छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)