ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैंकमा प्रविधिको प्रयोग : मोबाइल बैंकिङ प्रयोगकर्ताको वृृद्धिदर उच्च

Oct 22, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । पछिल्ला वर्षमा डेविट कार्ड प्रयोगकर्ताको तुलनामा मोबाइल बैंकिङ प्रयोगकर्ताको वृद्धिदर उच्च हुँदै गएको छ । बैंकहरूले नगद कारोबारसम्बद्ध प्रणालीभन्दा प्रविधियुक्त भुक्तानी प्रणालीलाई बढी जोड दिएका कारण पछिल्लो समय मोबाइल बैंकिङका प्रयोगकर्ता ह्वात्तै बढेको हुन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष (आव) २०७५/७६ मा एटीएम प्रयोगकर्ताको संख्या २१ प्रतिशतले बढेको छ । तर, सोही अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ता भने ६४ दशमलव ११ प्रतिशतले बढेका छन् । संख्याका आधारमा पनि अहिले मोबाइल बैंकिङका प्रयोगकर्ता बढी छन् । २०७५ असार मसान्तसम्म मोबाइल बैंकिङभन्दा डेविट कार्ड प्रयोगकर्ता बढी थिए । 

२०७५ असार मसान्तसम्ममा डेविट कार्ड प्रयोगकर्ताको संख्या ५५ लाख ४४ हजार २५३ रहेकोमा २०७६ असार मसान्तसम्ममा बढेर ६७ लाख ८ हजार ५२१ पुगेको छ । यसैगरी २०७५ असार मसान्तसम्ममा मोबाइल बैंकिङ प्रयोगकर्ता ५० लाख ८६ हजार ६९ रहेकोमा २०७६ असार मसान्तसम्ममा ८३ लाख ४७ हजार १८७ पुगेको तथ्यांकले देखाउँछ । यसबाट नेपालको बैंकिङ क्षेत्र प्रविधियुक्त भुक्तानी प्रणालीमा अगाडि बढेको स्पष्ट हुन्छ ।

अहिले विश्व बैंकिङ बजार प्रविधियुक्त कारोबारमा निकै अघि बढेको छ । भारत, चीनजस्ता छिमेकी मुलुकमा ट्याक्सी भाडादेखि चियापसलको बिलसमेत क्यूआर प्रविधिमार्फत भुक्तानी हुन थालिसकेको छ । नेपालमा पनि यस्तै प्रकृतिका प्रविधिहरू भित्रिने क्रम जारी छ, यस अवस्थामा नेपाल राष्ट्र बैंकसहित बैंकिङ क्षेत्रलाई प्रविधियुक्त कारोबारको विकास गर्नुपर्ने बाध्यता पनि छ । त्यसैले राष्ट्र बैंक र अन्य बैंकहरूले एटीएमलाई प्रमोशन गर्न छोडेर मोबाइल बैंकिङको विस्तारमा जोड दिँदै आएका छन् ।

एटीएमलाई पनि नगद कारोबारको माध्यमको रूपमा लिइने गरिन्छ । 

नगद कारोबार अत्यन्त खर्चालु प्रणाली हो । नोट छपाइमा नै राष्ट्र बैंकले वार्षिक ३/४ अर्ब रुपैयाँ खर्च गर्छ । यसका अतिरिक्त नगद व्यवस्थापन गर्न पनि उत्तिकै रकम खर्च हुने गरेको राष्ट्र बैंकको भनाइ छ । एउटा चेक सटही गर्दा बैंकको करीब ३५ रुपैयाँ र एटीएमबाट एकपटक पैसा झिक्दा करीब १२ रुपैयाँसम्म खर्च हुनेगर्छ । तर, प्रविधिमार्पmत न्यून खर्चमा नै आर्थिक कारोबार गर्न सकिन्छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला भन्छन्, ‘नगदमा आधारित कारोबार गर्दा ठूलो खर्च हुन्छ । अब समयानुसारको प्रविधियुक्त कारोबारमा जानु आवश्यक छ । राष्ट्र बैंकले त्यसमा काम गर्दै आएको छ ।’

प्रविधियुक्त कारोबारलाई प्रोत्साहन गर्न राष्ट्र बैंक सकारात्मक रहेको उनको भनाइ छ । प्रविधियुक्त कारोबारको विकास गर्न नै राष्ट्र बैंकमा भुक्तानी प्रणाली विभागसमेत स्थापना भइसकेको छ । निरौलाका अनुसार केन्द्रीय बैंकले शाखारहित बैंकिङ, वालेट पेमेन्टजस्ता विषयमा पनि काम गर्दै आएको छ । प्रविधियुक्त कारोबारको विकास गर्न राष्ट्र बैंकले चाहेर मात्र नहुने बताउँदै उनले भने, ‘यस विषयमा अन्य सरकारी निकाय पनि गम्भीर हुनुपर्छ र सरकारले डिजिटल नेपाल अभियान सञ्चालन गर्नुपर्छ ।’ 

नेपालमा हिमालयन बैंकले सन् १९९४ (विस २०५०/५१) मा पहिलो पटक अटोमेटिक टेलरिङ मेशिन (एटीएम) भिœयाएको हो । तर, २५ वर्षकै अवधिमा यो प्रविधि पुरानो भइसकेको छ । राष्ट्र बैंकका प्रवक्ता निरौला भन्छन्, ‘नेपालजस्तो भौगोलिक अवस्था भएको देशमा एटीएम सबै ठाउँमा विस्तार गर्न सम्भव पनि छैन । ग्राहकलाई एटीएमसम्म पुग्न पनि घण्टौं हिँड्नुपर्ने हुन्छ । तसर्थ, अब मोबाइलबाट कारोबार गर्न सकिने व्यवस्था नै उपयुक्त हो ।’

नेपाल बैंकिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जीव सुब्बा पनि एटीएमको जमाना सकिएको बताउँछन् । उनले भने, ‘पहिला बैंकका स्टाफले नगद दिन्थे, अहिले एटीएमले दिन्छ, यसमा ठूलो भिन्नता छैन । कारोबारमा केही सहज हुने मात्र हो । नगदरहित अर्थतन्त्रको विकास गर्न पनि एटीएम हट्नुपर्छ र प्रविधियुक्त कारोबारमा जोड दिनुपर्छ ।’ उनका अनुसार शाखा काउन्टरको सट्टामा एटीएम आएको हो, अब एटीएमसँगको सम्बन्ध लामो बनाउनु हुँदैन ।

यद्यपि, एटीएमलाई अहिले नै विस्थापित गर्न भने असम्भव भएको उनी बताउँछन् । सुब्बाले भने, ‘प्रविधियुक्त कारोबारको विकासका लागि पहिले त ग्राहकबाट माग आउनुपर्‍यो, सरकारले आवश्यक नीति ल्याउनुपर्‍यो र विश्वसनीय भुक्तानी प्रणालीको विकास गर्नुप¥यो । त्यसपछि एटीएमजस्ता नगदमा आधारित प्रणाली आफै विस्थापित हुन्छन् ।’

सानिमा बैंकका सीईओ भुवन दाहाल पनि एटीएम पुरानो प्रविधि भइसकेको बताउँछन् । उनले भने, ‘अब जाने भनेको मोबाइल बैंकिङमा नै हो, सोहीअनुसार मोबाइल बैंकिङलाई प्रमोट गर्दै आएका छौं । एटीएम बुथ स्थापना गर्ने कार्यलाई अहिले त्यति प्राथमिकता राखेका छैनौं ।’

प्रविधियुक्त कारोबारलाई प्रोत्साहन गर्न सरकारले समयसापेक्ष नीति ल्याउनुपर्ने उनको भनाइ छ । उनले आगामी ५/६ वर्षमा प्रविधियुक्त कारोबारले ठूलो फड्को मार्ने धारणा राखे । मोबाइल बैंकिङको प्रयोग बढी हुँदा सञ्चालन खर्च कम लाग्ने हुँदा बैंकको नाफा पनि बढ्ने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Giriraj poudel

[Oct 24, 2019 12:19am]

Karobarko sima kati paisa khatama rakhna bank ma janaParne ho ki ke



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)