ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एटीएम ह्याकिङ प्रकरण : प्रतिवेदन सरकारी वकील कार्यालयमा बुझाइँदै

Oct 23, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । महानगरीय प्रहरी परिसर टेकुले भदौ १४ गतेको एटीएम ह्याकिङ प्रकरणको अनुसन्धानको प्रतिवेदन आउँदो २ सातामा सरकारी वकील कार्यालयमा बुझाउने बताएको छ । 

परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले एटीएम ह्याकिङमा संलग्न– ६ जना चिनियाँ तथा तीन जना नेपाली गरी नौ जना ह्याकरलाई प्रहरी हिरासतमा राखी चलाएको अनुसन्धान अन्तिम चरणमा पुगेको बताए । ‘आउँदो २ साताभित्र सो प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गर्दै छौं । त्यसपछि सो कार्यालयले प्रतिवेदन उच्च अदालत पाटनमा बुझाउनेछ,’ उनले भने । यसअघि महानगरीय प्रहरी परिसरले उनीहरूलाई बैंकिङ कसुर सजाय ऐन अन्तर्गत मुद्दा अगाडि बढाएको थियो । 

चिनियाँ ह्याकरहरूको एक समूहले भदौ १४ गते भिषा कार्डको नक्कली एटीएम कार्ड प्रयोग गरेर नेपालका केही एटीएम बुथबाट रू. १ करोड ७६ लाख रकम झिकेका थिए । सोही दिन भारतमा पनि नेपालमै प्रयोग गरिएको तरीकाबाट थप रू. १ करोड ६८ लाख रकम झिकेको तथ्यांक भिषा कार्डले राष्ट्र बैंकलाई पठाएको थियो । प्रहरीले गरेको अनुसन्धानको क्रममा उनीहरूले नविल बैंकको एटीएमबाट मात्रै रू. १ करोड १४ लाख  रकम झिकेको पत्ता लागेको थियो ।  

चिनियाँ ह्याकरहरूले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) को प्रणाली बाइपास गरी करोडौं रुपैयाँ झिकेको करीब २ सातापछि केन्द्रीय बैंकले नेप्सलाई सिस्टम परिवर्तन गरी वैकल्पिक व्यवस्था गर्न निर्देशन दिएको थियो । सो प्रकरणको फरेन्सिक अनुसन्धानको प्रतिवेदन सिंगापुरको भेरीजोन कम्पनीले मङ्सिर दोस्रो सातातिर तयार गर्ने भनिए तापनि प्रतिवेदन आउन अझै केही समय लाग्ने नेप्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण क्षत्रीले बताए ।

एटीएम ह्याकिङपछि केही समय अवरुद्ध भएको यसको सञ्जालमा आबद्ध १७ ओटा बैंकको एटीएम, पोस मेशिनको सुरक्षाका लागि थप सुरक्षा अपनाएको उनले बताए । ‘अन्तरराष्ट्रिय स्तरको सफ्टवेयरको प्रयोग गरी कारोबार पुनः सञ्चालन गर्नुका साथै दशैं/तिहारको समयमा निगरानी चुस्त बनाएका छौ,’ उनले भने । 

पछिल्लो समय यसरी बैंकमा आक्रमण बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले साइबर सुरक्षा थप बलियो बनाउन वाणिज्य बैंकहरूलाई  निर्देशन दिएको थियो । साथै बैंकहरूले हालको म्याग्नेटिक कार्डलाई खारेज गरी अनिवार्य रूपमा चिपवेस्ड एटीएम कार्ड प्रयोगमा ल्याउनुपर्ने र त्यसलाई स्वीकार्ने खालको एटीएम स्थापना गर्नुपर्ने पनि केन्द्रीय बैंकको निर्देशन थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)