पर्वत । पर्वतको एक विकट गाउँमा काम शुरू भएको २३ वर्षपछि खानेपानी आयोजनाको काम पूरा भएको छ । विभिन्न अवरोधले खानेपानी आयोजनाले गति लिन सकेको थिएन । जिल्लाको विहादी गाउँपालिका वडा नं. २ बर्राचौरमा खानेपानी आयोजना सम्पन्न गरी आइतवार उद्घाटन गरिएको हो ।
१९३ घरपरिवारलाई पानीको सुविधा दिनेगरी लिसेगैह्रा खानेपानी आयोजना निर्माण भएको हो । यो खानेपानी आयोजनाको काम २०५३ सालमा शुरू भएको थियो । ७० प्रतिशत काम पूरा भएपछि मूलको विषयमा दुई गाउँबीच विवाद हुँदा काम रोकिएको रोकिएको स्थानीय हीरा केसीले बताइन् । ‘पछि विवाद मिलेपछि बल्ल धारोमा पानी आयो,’ उनले भनिन् ।
पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसरफाइ परियोजनाले विवाद मिलाएर गाउँसम्म पानी ल्याउन सफल भएको हो । खानेपानी योजना १ करोड ४३ लाख रुपैयाँको लागतमा सम्पन्न भएको हो । त्यसमध्ये उपभोक्ताले जनश्रमदान र नगद गरी ५० लाखभन्दा बढी खर्च गरेका छन् ।
एक घर एक धारा अवधारणाअनुसार निजी धारासहित विद्यालय, सार्वजनिक संस्था र मन्दिरहरूमा सामुदायिक धारा समेत बनेका छन । लिसेगैह्रा खानेपानी उपभोक्ता समितिका अध्यक्ष श्यामलाल गिरीले गाउँमा पानी आउँदा खुशीयाली मनाएको जानकारी दिए । पानीको अभावका कारण बिहानै उठ्नुपर्ने, पानीका लागि लाइन लाग्नुपर्ने र रित्तो गाग्री लिएर घर फर्किनुपर्ने बाध्यता हटेकोमा स्थानीय गृहिणी खुशी छन् ।