काठमाडौं । आगामी मंसिर ५ र ६ गते काठमाडौंमा आयोजना हुने ऊर्जा सम्मेलन (पावर समिट) मा छिमेकी मुलुकहरूको विशेष चासो देखिएको छ । सम्मेलनमा खासगरी, भारत, चीन, बंगलादेश तथा भुटानका मन्त्री, सरकारी निकायका साथै निजीक्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जानकारी दिएको छ ।
‘सम्मेलनमा भारतका जलस्रोत मन्त्री र बंगलादेशका पावर, इनर्जी एन्ड मिनरल रिसोर्स राज्यमन्त्रीको सहभागिता हुने भएको छ,’ इप्पानका उपाध्यक्ष कुमार पाण्डेले भने, ‘यसबाहेक अन्य देशका ऊर्जा सम्बद्ध सरकारी निकाय तथा निजीक्षेत्रका अधिकारी वक्ता तथा सहभागीका रूपमा उपस्थित हुनेछन् ।’
नेपाल–भारत ऊर्जा सहकार्यमा जलविद्युत् उत्पादन तथा अन्तरदेशीय प्रसारण लाइन विकासले गति लिइरहेको छ । त्यसैगरी, नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय पहिलो बैठक सम्पन्न भई दोस्रोको तयारी रहेको छ भने नेपाल–चीन सचिवस्तरीय ऊर्जा संयन्त्रको पहिलो बैठक बसिसकेको छ ।
तीन ओटै देश नेपालको जलविद्युत्मा लगानी तथा भविष्यमा यहाँबाट विद्युत् आयात गर्न सकिनेमा आशावादी छन् । बंगलादेशले त सन् २०३० सम्ममा नेपालबाट ९ हजार मेगावाट विद्युत् आयात गर्ने घोषणासमेत गरिसकेको छ । जलविद्युत्को आन्तरिक उत्पादन कम रहेको भारतले आफ्नो विद्युत् प्रणाली बलियो बनाउन नेपालको जलविद्युत् आवश्यक रहेको महशुस गरेको छ । हालै सम्पन्न चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई ओटा जलाशययुक्त आयोजनामा लगानीको इच्छा देखाउनुले चीनले नेपालको जलविद्युत्मा लगानीमा जोड दिने देखिन्छ ।
यसै सन्दर्भमा आयोजना हुन लागेको ऊर्जा सम्मेलन उक्त देशहरूका लागि नेपालको ऊर्जाको अवस्था तथा योजना बुझ्ने र आफ्ना लागि सम्भाव्यता हेर्ने अवसर हुने इप्पानका उपाध्यक्ष पाण्डे बताउँछन् । सम्मेलन ‘पावरिङ दि एशियन सेन्चुरी’ नाराका साथ आयोजना हुन लागेको हो । सन् २०१३ देखि शुरू भएको यो सम्मेलनको यस वर्ष सातौं संस्करण हो । यो संस्करणका मुख्य विषय विद्युत् व्यापार, क्रस बोर्डर कनेक्टिभिटी तथा लगानीको स्रोत जुटाउने रहेका छन् ।