ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमा सूचना केन्द्र स्थापनाको तयारी

बीमाक्षेत्रमा ठगी गर्नेलाई कालोसूचीमा राख्ने प्रावधान ल्याइँदै 

Oct 23, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

काठमाडौं । बीमाक्षेत्रमा हुने ठगीका क्रियाकलापलाई नियन्त्रण गर्न बीमा सूचना केन्द्र स्थापना गरिने भएको छ । बीमा समितिले बीमा कम्पनीहरूसँगको सहकार्यमा बीमा सूचना केन्द्रको स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ । बीमा समितिले सबै बीमा कम्पनीका प्रमुखहरूसँग यस विषयमा छलफल पनि गरिसकेको र बीमा कम्पनीहरू सूचना केन्द्र स्थापनाका लागि शेयर हाल्न पनि सहमत भएको बताएको छ ।

नेपालमा हाल १९ जीवन बीमा, २० निर्जीवन बीमा र एक पुनर्बीमा गरी कुल ४० बीमा कम्पनी सञ्चालनमा छन् । प्रत्येक बीमा कम्पनीबाट १÷१ लाख रुपैयाँ शेयर रकम उठाउने र त्यसमा बीमा समितिले रू. ३ लाख थप गरेर रू. ४३ लाखको चुक्तापूँजी भएको बीमा सूचना केन्द्र स्थापना गरिने बताइएको छ । संसद्मा विचाराधीन रहेको ‘बीमा विधेयक, २०७५’ मा पनि बीमा सूचना केन्द्र स्थापना गर्ने परिकल्पना छ । तर, समितिले भने उक्त ऐन लागू नहुँदै बीमा सूचना केन्द्र स्थापना गर्न आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ । 

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल आवश्यक कार्यविधि बनाएर ढिलोमा पनि आउँदो असार मसान्तभित्र बीमा सूचना केन्द्र सञ्चालनमा ल्याइने बताउँछन् । उनले भने, ‘अहिले कार्यविधि निर्माण र अन्य पूर्वाधार जुटाउने विषयमा छलफल भइरहेको छ । सकेसम्म बीमा सूचना केन्द्र छिट्टै सञ्चालनमा ल्याउँछौं ।’ प्रारम्भिक चरणमा बीमा सूचना केन्द्रको व्यवस्थापन पक्षको जिम्मेवारी समितिले नै लिने उनको भनाइ छ । विदेशी मुलुकका बीमा बजारमा पनि यस्ता प्रकृतिका सूचना केन्द्र सञ्चालन रहेको तथा ती केन्द्रको कानूनी व्यवस्थाका आधारमा बीमा सूचना केन्द्रको संरचना बनाइने पौडेलको भनाइ छ । नेपालमा बैंक तथा वित्तीय संस्थामा हुने ठगीलाई नियन्त्रण गर्न सन् १९८९ मा नै कर्जा सूचना केन्द्र स्थापना गरिएको थियो । सन् २००५ पछि स्वायत्त संस्थाको रूपमा अगाडि बढाइएको यो कर्जा सूचना केन्द्रले बंैक तथा वित्तीय संस्थाको ऋण नतिर्ने ऋणीहरूलाई कालोसूचीमा राख्ने गरेको छ । बीमा सूचना केन्द्र पनि त्यस्तै प्रकृतिको हुने र बीमाक्षेत्रमा ठगी गर्ने व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्ने समितिको परिकल्पना छ । ‘कुनै पनि व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्ने विषय सामान्य होइन । तसर्थ कर्जा सूचना केन्द्र, अन्तरराष्ट्रिय बजारको अभ्यासलाई हेरेर यस सम्बन्धमा आवश्यक व्यवस्था गर्छाै । साथै, कालोसूचीबाट हट्न सक्ने व्यवस्था पनि राख्नेछौं,’ पौडेलले बताए । उनका अनुसार कालोसूचीमा परेका व्यक्ति वा संस्थाले नेपालका बीमा कम्पनीबाट बीमा सेवा उपभोग गर्न पाउने छैनन् । 

बीमा कम्पनीहरूले आफ्ना ग्राहकको जानकारी सूचना केन्द्रमा पठाउनुपर्ने हुन्छ । प्राप्त जानकारीको आधारमा सूचना केन्द्रले ठगी गर्ने व्यक्ति वा संस्थाको पहिचान गरेर कालोसूचीमा राख्न सक्नेछ । यस सम्बन्धमा कार्यविधिमार्फत अझ स्पष्ट व्यवस्था गरिने पौडेलको भनाइ छ । बीमाक्षेत्रमा पहिलेदेखि नै विभिन्न प्रकारका ठगी तथा अपराधका गतिविधि हुँदै आएका छन् । बीमा रकम दाबी गर्न छोरीको हत्या गर्ने तथा औद्योगिक क्षेत्रमा आपैm आगलागी गर्नेजस्ता गतिविधि भएको पाइन्छ । बीमा सूचना केन्द्रले त्यस्ता गतिविधिलाई नियन्त्रण गर्न सहयोग पुग्ने समितिको विश्वास छ ।

युनाइटेड इन्स्योरेन्सका कायममुकायम प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले पनि बीमा सूचना केन्द्र स्थापना हुनु राम्रो पक्ष भएको बताए । उनले भने, ‘पहिले बीमामा ठगी गर्ने व्यक्ति वा संस्थालाई बीमा समिति वा सम्बद्ध कम्पनीले मात्र चिन्थे र उनीहरूले अर्काे कम्पनीमा गएर पुनः ठगी गर्न सक्थे । तर, बीमा सूचना केन्द्र आएपछि त्यस्ताले व्यक्ति वा संस्थाले पुनः ठगी गर्ने अवसर पाउँदैनन् ।’
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)