ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तीन अन्तरराष्ट्रिय एयरलाइन्स नेपाल आउँदै

कुवेतको जजिरा एयरवेज तथा भारतको स्पाइस जेटलाई अनुमति

Oct 23, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा तीन अन्तरराष्ट्रिय वायुसेवा कम्पनीले नेपाल उडान शुरू गर्ने भएका छन् । कुवेतको जजिरा एयरवेज तथा भारतका दुई– स्पाइस जेट एयरलाइन्स र भिस्तारा एयर नेपालमा आफ्नो सेवा शुरू इच्छुक देखिएका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पाइस जेट र जजिरा एयरवेजलाई नेपालमा उडान गर्ने अनुमति दिइसकेको छ । त्यस्तै, भिस्तारालाई अनुमति दिने प्रक्रिया अन्तिम चरणमा पुगेको प्राधिकरणले बताएको छ । 

प्राधिकरणका अनुसार स्पाइस जेट र जजिराले मङ्सिर पहिलो हप्ता (नोभेम्बर २०÷२१) देखि नेपालमा उडान गर्नेछन् । स्पाइस जेटले काठमाडौं–नयाँ दिल्ली–मुम्बई र भिस्ताराले काठमाडौं–नयाँ दिल्ली रूटका लागि १ महीनाअघि निवेदन दिएका थिए । पहिला काठमाडौं–दिल्ली उडान गर्दै आएको स्पाइस जेटले अहिले मुम्बईमा समेत उडान गर्ने अनुमति प्राधिकरणबाट पाएको छ । प्राधिकरणका अनुसार स्पाइस जेटले साताको सातै दिन उडान गर्ने अनुमति पाएको छ । 

स्पाइस जेटका लागि काठमाडौं नयाँ रूट होइन । यसअघि २०६५ देखि काठमाडौं–नयाँ दिल्ली उडान शुरू गरेको स्पाइसले २०७२ पछि यस रूटमा उडान बन्द गरेको थियो । त्यस्तै, भारतको टाटा समूह र सिंगापुर एयरलाइन्सको लगानी रहेको भिस्ताराले काठमाडौं–दिल्ली उडान मङ्सिरदेखि शुरू गर्ने प्रस्ताव गरे पनि प्राधिकरणले अहिले उसको प्रस्ताव अध्ययन गरिरहेकाले केही ढिलो हुनेछ । 

गत वैशाखमा भारतको जेट एयरवेजले काठमाडौं सेवा बन्द गरेयता काठमाडौं–नयाँ दिल्ली रूटमा अहिले नेपालको नेपाल वायुसेवा निगम, भारतको एयर इन्डिया र इन्डिगो एयर सक्रिय छन् । नेपाल वायुसेवाले यस रूटमा साताको १४ उडान गरिरहेको छ भने इन्डिगोले २१ र एयर इन्डियाले १४ उडान गरिरहेका छन् । 

यसैगरी काठमाडौं–कुवेत उडान गर्दै आएको कुवेतको वतानिया एयरवेज बन्द भएपछि सोही देशकै अर्को एयरलाइन्स कम्पनी जजिराले उडान गर्न १ महीनाअघि निवेदन दिएको थियो । प्राधिकरणले जजिरालाई मङ्सिरदेखि उडान गर्न ३ दिनअघि अनुमति दिएको हो । जजिराले हप्ताको ७ दिन नै उडान गर्ने गरी अनुमति पाएको भए पनि शुरुआतमा भने हप्ताको ४ दिन उडान गर्नेछ । 

नेपाल आउने कुल हवाईयात्रुको २५ प्रतिशत नयाँ दिल्ली रूटबाट आउने गरेकाले नेपालका लागि नयाँ दिल्ली प्रमुख ‘गेटवे’ हो । जेट एयरवेजले वैशाखदेखि काठमाडौं उडान बन्द भएपछि काठमाडौं–नयाँ दिल्ली रूटमा भुटानको ड्रुक एयर र भुटान एयरलाइन्सले साताको एक/एक उडान गरिरहेका छन् । काठमाडौं–नयाँ दिल्लीका लागि तीन र काठमाडौं–मुम्बईका लागि दुई गरी जेटले दैनिक पाँच उडान नेपालमा गरिरहेको थियो । 

काठमाडौं–नयाँ दिल्ली रूट वायुसेवा कम्पनीका लागि निकै आकर्षक मानिन्छ । प्रमुख पर्यटकीय सीजनमा यस रूटका जहाजहरूको अकुपेन्सी सरदर ९५ प्रतिशत हुने गरेको छ ।

भारतबाट थप दुई वायुसेवा कम्पनीले नेपाल उडान शुरू गरेमा काठमाडौं–नयाँ दिल्ली भाडा सस्तो हुने पर्यटन व्यवसायीहरू बताउँछन् । वैशाखमा जेटले उडान बन्द गर्दा यस रूटको एकतर्फी भाडा रू. ५० हजारसम्म पुगेको थियो । अहिले यस रूटमा एकतर्फी सरदर भाडा रू. २० हजार रहेको छ । 

प्राधिकरणका अनुसार त्रिभुवन विमानस्थलमा हाल उडान र अवतरण गरी औसतमा १०० अन्तरराष्ट्रिय उडान हुँदै आएको छ । अहिले सबैभन्दा बढी उडान गर्नेमा कतार एयरवेज पर्छ । उक्त कम्पनीले दैनिक चारओटा उडान गर्दै आएको छ । यसैगरी नेपाल एयरलाइन्स कर्पाेरेशनले पनि दैनिक ४ उडान गर्छ । एयर अरेविया, प्mलाइ दुबई, इन्डिगो लगायतले दैनिक तीनओटा उडान गर्छन् । 

प्राधिकरणका अनुसार हाल काठमाडौंमा उडान गर्ने अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनीहरूमा एयर अरेबिया, एयर चाइना, एयर इन्डिया, बिमान बंगलादेश, भुटान एयरलाइन्स, क्याथे ड्रयागन, चाइना इस्टर्न, चाइना साउदर्न, फ्लाइ दुबई, ड्रुक एयर, इत्तिहाद एयरवेज, इन्डिगो रहेका छन् । त्यस्तै, कोरियन एयर, मलेशियन एयरलाइन्स, मालिन्दो एयर, ओमन एयर, कतार एयरवेज, सलाम एयर, सिचुवान एयरलाइन्स, सिल्क एयर, थाइ एयरवेज, थाइ लायोन एयर, तिब्बत एयरलाइन्स, टर्किस एयरलाइन्सले पनि नेपालमा उडान गर्दै आएका छन् । यसैगरी नेपालका बुद्ध एयर, नेपाल एयरलाइन्स कर्पाेरेशन र हिमालय एयरलाइन्सले पनि काठमाडौंबाट अन्तरराष्ट्रिय उडान गरिरहेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)