ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धानमा ‘कालोपोके’ रोगको संक्रमण

Oct 24, 2019  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

पर्वत । पर्वत जिल्लाभर धानमा ‘कालोपोके’ रोगको संक्रमण बढ्दै गएको छ । जिल्लाका कटुवाचौपारी, मुडिकुवा, देवीस्थान, तिलाहार, डिमूवा, मल्लाज र हुवासलगायत बढी धान फल्ने स्थानका खेतमा कालोपोकेको संक्रमण देखिएको हो । काट्ने बेला हुन लागेको धानमा कालोपोके रोगको संक्रमण देखिएपछि किसान निराश भएका छन् ।

कृषि प्राविधिकहरूका अनुसार प्रायःजसो वर्णशंकर जातमा यो रोगको प्रकोप धेरै छ । कृषि ज्ञान केन्द्र पर्वतका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले आफू फिल्डमै गएर हेर्दा स्थानीयमा भन्दा वर्णशंकर जातमा बढी समस्या देखिएको बताए । ‘यो एक प्रकारको ढुसी हो,’ रेग्मीले भने, ‘यहाँको हावापानी, तापमान र माटो नसहने भएकाले हाइब्रिडमा संक्रमण बढी छ ।’ धेरै ठाउँबाट किसानले रोग लागेको जानकारी दिएको र तथ्यांक संकलनको क्रममा रहेको उनले बताए ।

रेग्मीका अनुसार यूएस ३१२, एआरआई जेड ई ६४४४, राधा डिवाई लगायतका उन्नत जातमा यो रोग देखिएको छ । स्थानीय रूपमा पाइने जेठोबुढो, पहेँले, एक्ले, गुडुरा, कनजिरा, विरम्फुले लगायतका जातमा भने रोग देखिएको छैन । रोग लागेका धान कृषि कार्यालयले सिफारिश नगरेका जातका हुन् । 

‘किसानहरूले सिफारिश नगरेका धान लगाउँदा समस्या देखियो,’ कृषि प्राविधिक रामकृष्ण अर्यालले भने, ‘अन्धधुन्ध बीउ ल्याएर किसानले लगाउँछन् । हामीले रोक्न सकेका छैनौं ।’ कृषिले सिफारिश नगरेका धान लगाएर कुनै क्षति भएमा किसानले क्षतिपूर्ति समेत नपाउने उनले बताए । 

कटुवाचौपारीका विष्णुप्रसाद अधिकारीले यूएस ११२ नामक धानमा कालोपोके रोग देखिएको बताए । यो उन्नत जातको धान हो । अधिकारीले स्थानीय लुम्ले बीउ भण्डारबाट उक्त धानको बीउ ल्याएर रोपेको जानकारी दिए । रानीपानीमा पनि उन्नत जातको धानमा यो रोग देखिएको किसान हरि न्यौपानेले बताए । उनले छिमेकीको धानमा रोग लागेपछि आफ्नोमा पनि सर्ने खतरा रहेको सुनाए । न्यौपानेले लगाएको स्थानीय जातको जुठोबुढो र एक्लेमा भने कालोपोके रोगको संक्रमण लागेको छैन ।  

प्राविधिकहरूका अनुसार स्थानीय हावापानी, माटो र तापमान सहन नसक्ने भएकाले उन्नत जातको धानमा यो रोग बढी मात्रामा लाग्ने गरेको छ । रात र दिनको तापक्रममा धेरै बदली हुने, पसाउने बेलामा वर्षा भइरहने र रासायनिक मलको बढी प्रयोगलगायतका कारण यस्तो समस्या देखिने कृषि प्राविधिक कृष्ण तिवारीले बताए । 

‘यस्तो रोग लागेको धान र पराल दुवै विषाक्त हुन्छ,’ तिवारीले भने, ‘मानिसमा यस्तो धानको चामल खाएमा फुड पोइजन, झाडाबान्ता, पेट दुख्ने समस्या हुन्छ । पराल, ढुटो कनिका खुवाएका पशुलाई पेट दुख्ने समस्या देखिन्छ ।’ उनका अनुसार समुद्र सतहदेखि ७ सय मिटरभन्दा माथिल्लो क्षेत्रमा यो धान लगाउनु ह्ँदैन । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)