कात्तिक ७, धनगढी । सुदूरपश्चिम प्रदेशको कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सञ्चालन गरेका कृषि कार्यक्रममा कृषकहरुको पहुँच नै नभएको पाइएको छ ।
मन्त्रालयले तयार पारेका कृषि कार्यक्रम र बजेटको विषयमा समेत यहाँका कृषक अनविज्ञ रहेका छन् ।
मन्त्रालयले एक घर पाँच बिरुवा, उन्नत बीउ वितरण, उत्पादन र उत्पादकत्व वृद्धि, कृषि औजार, कोल्ड स्टोर, बधशाला निर्माणलगायत शीर्षकमा रू.३० करोड भन्दा बढी अनुदान रकम वितरण गरिरहेको बताइरहेका बेला सो विषयमा आफूहरु अनविज्ञ रहेको कृषक अर्जुन खत्रीले गुनासो गरे ।
मन्त्रालयले कृषि अनुदानका कार्यक्रम सञ्चालनका लागि किसानको आवेदन माग गरेपनि त्यसमा टाठाबाठाहरुको मात्र पहुँच पुग्ने गरेको छ । ती कार्यक्रममा भएको अनुदानबारे किसान नै अनविज्ञ बनेकाले कृषिका अधिकांश कार्यक्रम कार्यान्वयनमा समस्या भएको मन्त्रालयका एक अधिकारीले बताए ।
मन्त्रालयले घाँस काट्ने, जोत्ने, रोप्ने मेसिनलगायत कृषि औजारका लागि रू.७ करोड अनुदान वितरण कार्यक्रम पनि प्रभावकारी बन्न सकेन । मन्त्रालयले किसानलाई सुसूचित गर्न नसकेपछि सो कार्यक्रम प्रभाहिन बनेको अगुवा कृषक बताउँछन् । सूचना अभावकै कारण कृषकको आवेदनसमेत न्यून पर्ने गरेको छ ।
त्यस्तै आयआर्जन तथा उत्पादनमूलक कार्यक्रम भनेर सहकारी र कृषक संस्थाका लागि रू.१२ करोड अनुदान वितरण कार्यक्रम पनि प्रभावकारी नहुने निश्चित भएको छ । यो कार्यक्रमका लागि दुर्गम जिल्लाका सहकारी र संस्थाको आवेदन न्यून परेको मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार सुदूरपश्चिमका नौ जिल्लामध्ये कैलाली, कञ्चनपुरलगायत केहि जिल्लाबाट मात्र न्यून रुपमा आवेदन पर्ने गरेको छ । कृषकले जानकारी पाउने गरी मन्त्रालयले कार्यक्रमको विषयमा सूचना सम्प्रेषण गर्नुपर्ने आवश्यकता रहेको अगुवा कृषकहरुको भनाइ छ ।
प्रदेशभित्र कृषि उपात्कत्व विस्तार तथा वृद्धि गर्ने उद्धेष्यले आयोजना हुने कार्यक्रमका बारेमा कृषकले नै जानकारी नपाउनु भनेको मन्त्रालयकै कमजोरी भएको गुनासो किसानको छ ।