ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डुइङ बिजनेशमा नेपालको वरीयता सुधारोन्मुख, भन्सार नाकामा सहजताका लागि गरेको प्रयास सकारात्मक

Oct 24, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

कात्तिक ७, काठमाडौं । व्यावसायिक वातावरणको सूचांक मापक ‘डुइङ बिजनेश–२०२०’ मा नेपालको वरीयतामा सुधार भएको देखिएको छ । गत वर्ष ११० औं स्थानमा रहेको नेपाल यस वर्ष कुल १९० मुलुक समावेश उक्त सूचीमा ९४ औं स्थानमा आइपुग्न सफल भएको हो । विश्व बैंकले व्यवसायसँग सम्बन्धित विभिन्न १० विषयहरुको अध्ययन गरी व्यावसायिक वातावरणहरुबारे अध्ययन गरी हरेक वर्ष देशहरुको सूचांक सार्वजनिक गर्ने गरेको छ । उसको प्रतिवेदन अनुसार नेपालले यस वर्ष ६३.२ अंक प्राप्त गरेको छ । गत वर्ष ५९.६ अंक प्राप्त गरेको थियो । दक्षिण एशियाली मुलुकहरुको वरीयतामा नेपालभन्दा अगाडि भारत ६३ औं र भुटान ८९ औं स्थानमा छन् । दक्षिण एशियाका अन्य मुलुकहरु श्रीलंका ९९ औं, पाकिस्तान १०८ औं, मल्दिभ्स १४७ औं, बंगलादेश १६८ औं र अफगानिस्तान १७३ औं स्थानमा छ ।

डुइङ बिजनेस इन्डेक्स निर्धारणका लागि तय गरिएका १० सूचांकमध्ये नेपालको ५ मा सुधार र ३ मा कमी आएको छ भने २ सूचांक स्थिर छन् । सर्वाधिक सुधार गर्ने २० राष्ट्रमा भने नेपाल परेको छैन । विश्व बैंकको प्रतिवेदनमा निर्माण अनुमति लिँदा लाग्ने समय र शुल्क घटाएर सहज बनाइएको, खरीद व्यवस्थापन सम्बन्धी कठिनाइहरुलाई सुल्झाउन प्रयास गरेको, कर्जासम्बन्धी सूचनाको सहज जानकारी दिएको, वस्तु आयात÷निर्यातका लागि लाग्ने लागत र समयमा कमी आएको, भारतसँगको व्यापारमा भन्सार नाकाहरुमा सहजताका लागि नेपालले गरेको पहललाई सकारात्मक रुपमा लिएको छ । प्रतिवेदनअनुसार नेपालमा व्यापार, व्यवसाय शुरू गर्न अझै कठिन रहेको देखिएको छ । व्यवसाय शुरू गर्न बेहोर्नुपर्ने झन्झटमा सुधार नआएको प्रतिवेदनको ठम्याई छ । नेपालमा लोडसेडिङको अन्त्य भएपनि उद्योगहरूका लागि विद्युत आपूर्तिमा उल्लेख्य रूपमा सुधार नआएको पनि विश्व बैंकले बताएको छ ।

सम्पत्ति दर्ता, हस्तान्तरणमा लाग्ने शुल्क वृद्धि गरेका कारण पनि लगानीको वातावरणमा असर देखिएको विश्व बैंकले बताएको छ । कामदारलाई सामाजिक सुरक्षामा आवद्ध गराउने नीतिका कारण लगानीकर्ताले केही झन्झट महसूस गरेको भन्दै विश्व बैंकको आफ्नो प्रतिवेदनमा त्यसलाई सहज बनाउनुपर्ने उल्लेख गरेको छ । अर्थविद्हरुले डुइङ् बिजनेशमा नेपालले गरेको सुधार सकारात्मक भएपनि उत्साहजनक भने अझै नरहेको औल्याएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)