ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘डुइङ बिजनेश’मा नेपालको सुधार  १६ स्थान माथि उक्लँदै नेपाल ९४ औं वरीयतामा

Oct 25, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । व्यावसायिक वातावरण सूचकांक ‘इज अफ डुइङ बिजनेश’मा नेपालले उल्लेख्य सुधार ल्याएको विश्व बैंकको पछिल्लो प्रतिवेदनले देखाएको छ । विश्व बैंकले प्रकाशित गरेको ‘इज अफ डुइङ बिजनेश इन्डेक्स–२०२०’मा नेपाल १६ स्थान माथि उक्लिएको छ । गतवर्ष ११० औं स्थानमा रहेको नेपाल यस वर्ष ९४ औं स्थानमा पर्न सफल भएको छ । 

विश्व बैंकले व्यवसायसँग सम्बद्ध विभिन्न १० पक्षको सूक्ष्म अध्ययन गरी १९० मुलुकको व्यावसायिक वातावरणबारे प्रत्येक वर्ष ‘इज अफ डुइङ बिजनेश’ प्रतिवेदन निकाल्ने गरेको छ । डुइङ बिजनेस इन्डेक्स निर्धारणका लागि तय गरिएका १० सूचकांकमध्ये नेपालको ५ ओटामा सुधार आएको छ । यद्यपि सर्वाधिक सुधार गर्ने २० मुलुकमा पर्न भने नेपाल असफल भएको छ ।
विश्व बैंकको प्रतिवेदन अनुसार नेपालले पछिल्लो १ वर्षमा निर्माण अनुमति लिँदा लाग्ने समय र शुल्क घटाएर सहज बनाएको छ भने खरीद व्यवस्थापनसम्बन्धी कठिनाइहरूलाई सुल्झाउन प्रयास गरेको छ । त्यस्तै, कर्जासम्बन्धी सूचनाको जानकारी सहज भएकोे, वस्तु आयात/निर्यातका लागि लाग्ने लागत र समयमा कमी आएको, भारतसँगको व्यापारमा भन्सार नाकाहरूमा सहजताका लागि नेपालले गरेको पहललाई सकारात्मक रूपमा लिइएको छ । 

यद्यपि, नेपालमा व्यापार व्यवसाय शुरू गर्न अभैm कठिन रहेको देखिएको छ । व्यवसाय शुरू गर्न बेहोर्नुपर्ने झन्झटमा सुधार नआएको प्रतिवेदनको ठम्याइ छ । नेपालमा लोडशेडिङको अन्त्य भए पनि उद्योगहरूका लागि विद्युत् आपूर्तिमा उल्लेख्य रूपमा सुधार नआएको पनि विश्व बैंकले बताएको छ । सम्पत्ति दर्ता, हस्तान्तरणमा लाग्ने शुल्क वृद्धि गरेका कारण पनि लगानीको वातावरणमा असर देखिएको विश्व बैंकको ठहर छ ।

कामदारलाई सामाजिक सुरक्षामा आबद्ध गराउने नीतिका कारण लगानीकर्ताले केही झन्झट महसूस गरेको भन्दै विश्व बैंकले प्रतिवेदनमा त्यसलाई सहज बनाउनुपर्ने बताएको छ । 
अर्थशास्त्रीहरूले डुइङ बिजनेशमा नेपालको सुधार सकारात्मक भए पनि उत्साहजनक भने नरहेको बताएका छन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहे पनि डुइङ बिजनेशमा देखिएको सुधार पर्याप्त नरहेको बताए । ‘नेपालका छिमेकीहरू भारत, बंगलादेश, पाकिस्तान व्यावसायिक वातावरण सुधार गर्ने २० मुलुकको सूचीमा रहँदा नेपाल त्यसमा नपर्नु समीक्षाको विषय हो,’ वाग्लेले बताए ।

वरीयतामा माथि गए पनि नेपालले व्यवसायमैत्री आर्थिक सुधारलाई थप विस्तारित र गहिरो बनाउने पर्ने उनको भनाइ छ । 
पूर्वसचिव विमल वाग्ले नेपालको सुधार सकारात्मक रहे पनि डुइङ बिजनेशले समेट्न नसकेका भ्रष्टाचार, ढिलासुस्ती, बा≈य लगानी, व्यावसायिक लागत भिœयाउन बाधक रहेका नीतिगत झन्झटलाई सुधार्न आवश्यक रहेको बताउँछन् । 

अर्थमन्त्रीको आग्रह र नीतिगत रूपमा व्यवसायीमैत्री वातावरण निर्माणमा भएका नीतिगत प्रयासले नेपालको स्तरमा सुधार आएको अर्थ मन्त्रालयका उच्च अधिकारीहरूको दाबी छ । अघिल्लो वर्ष डुइङ बिजनेशमा नेपालको वरीयता खस्केपछि अर्थमन्त्री डा. युवराज खतिवडाले त्यसमा असहमति जनाउँँदै त्यसमा पुनरवलोकन गर्न विश्व बैंकलाई आग्रह गरेका थिए । सरकारको आग्रहपछि विश्व बैंकको एक टोली नेपाल आई अर्थ मन्त्रालयका अधिकारीहरूसँग अन्तरक्रिया गरेको थियो । 

मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले लगानी र व्यवसायीमैत्री वातावरणका लागि चालू आवको बजेटमा घोषणा गरिएका विषयलाई सही रूपमा कार्यान्वयन गर्दै जाने बताए । उनका अनुसार बजेट कार्यान्वयनलाई थप प्रभावकारी बनाई अर्को आर्थिक वर्षमा मुलुकको स्तर डुइङ बिजनेशमा थप सुधारिने छ । रिपोर्टमा देखाइएका कमजोरीका विषयमा समेत मन्त्रालयमा छलफल हुने उनी बताउँछन् । 

अन्तरराष्ट्रिय कानूनका जानकार अधिवक्ता सेमन्त दाहालका अनुसार नेपालको सुधारको मुख्य कारण कर्जा सूचना पहुँचमा भएको सुधार हो । ‘सरकारले पछिल्लो वर्ष लगानीसम्बन्धी कानूनमा सुधारको थालनी ग¥यो, जसले व्यावसायिक वातावरणको सुधारको सन्देश दिएकाले पनि नेपाललाई वरियातक्रममा माथि उक्लन मद्दत पुगेको हो,’ दाहालले बताए । तर, व्यापार शुरुआतको सूचकांकमा नेपाल १३५ औं स्थानमा धकेलिएकाले पछिल्लो वर्ष पारित गरेका नयाँ कानूनहरूको असर पर्याप्त नभएको उनको भनाइ छ ।

दक्षिण एशियाली मुलुकहरूमध्ये वरीयतामा नेपालभन्दा माथि भारत (६३ औं) र भुटान (८९ औं) स्थानमा छन् । दक्षिण एशियाका अन्य मुलुकहरू श्रीलंका ९९ औं स्थानमा, पाकिस्तान १०८ औं स्थानमा, माल्दिभ्स १४७ औं स्थानमा, बंगलादेश १६८ औं स्थानमा र अफगानिस्तान १७३ औं स्थानमा छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)