ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मयूर यातायातमा बढ्यो विवाद

Oct 25, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । डेढ वर्षअघि सार्वजनिक यातायातमा रहेको सिन्डिकेटको अन्त्यसँगै चर्चामा आएको मयूर यातायात सञ्चालकबीच विवाद चुलिएपछि विभाजन हुने सँघारमा पुगेको छ । कम्पनीका शेयरधनीहरूले गाडी बेचेर भए पनि आफ्नो लगानी फिर्ता गर्न सञ्चालक समितिलाई दबाब दिएपछि मयूर यातायातको आन्तरिक किचलो सतहमा आएको हो । 

मयूर यातायातका सञ्चालक समितिका सदस्य दीपक भण्डारी कम्पनीका शेयरधनी चार समूहमा विभाजित भई छुट्टाछुट्टै गाडी सञ्चालन गर्न लागेको बताउँछन् । कम्पनीसँग भएका ४४ ओटा बस ३९ जना शेयरधनीबीच शेयरको आधारमा बाँड्न लागिएको भण्डारीको दाबी छ । भण्डारीका अनुसार शेयरधनीले छुट्टाछुट्टै गाडी सञ्चालन गरे पनि सबै गाडी कम्पनीकै मातहत मयूरकै नाममा सञ्चालन हुनेछन् । उनले सार्वजनिक यातायातमा मयूरले सेवा विस्तार गरिरहँदा केही शेयरधनीले असहयोग गरेपछि मयूरभित्र विवाद बढेको बताए ।

तर, कम्पनीका अध्यक्ष मोहन श्रेष्ठ भने भण्डारीको तर्कलाई खण्डन गर्छन् । छुट्टाछुट्टै समूह बनाएर बस सञ्चालन गरे कम्पनीभित्रै अस्वस्थ प्रतिस्पर्धा बढ्ने र कम्पनी नै डुब्ने भएकाले शेयरधनीबीच गाडीको भागबन्डा नहुने उनको भनाइ छ । ‘केही शेयरधनीले आफुले अधिकार पाउनुपर्ने र छुट्टै गाडी सञ्चालन गर्ने माग गर्नुभएको छ । तर, शेयरधनीले ५ वर्षका लागि लगानी गरेकोमा हामीले समयावधि सकिएपछि आउनुस् र हिसाब गरौैंला भनेका छौं,’ उनले भने । 

राजधानीभित्र बस चलाइरहेको कम्पनीले नयाँ रूट इजाजत लिएर २०७४ चैतको पहिलो सातादेखि काठमाडौंदेखि काभ्रेको बनेपासम्म बस सञ्चालन गरेको थियो । मयूरले रूट इजाजत पाएपछि लामो समयदेखि उक्त रूटमा सिन्डिकेटको संरक्षण गरेर बस चलाइरहेका व्यवसायीले मयूरको रूट इजाजत खारेज गर्न दबाब दिँदै आन्दोलन शुरू गरेका थिए । त्यतिबेला मयूरले सिन्डिकेट पक्षधरले मयूरका गाडीमा गरेको आक्रमणको सामना पनि गर्नुपरेको थियो । तर, सरकार मयूरको पक्षमा मात्रै उभिएन, सार्वजनिक यातायातको क्षेत्रमा रहेको सिन्डिकेट खारेज गर्ने निर्णय ग¥यो ।

सिन्डिकेट खारेजीसँगै यात्रुहरूमाझ आफ्नो सेवाका कारण छोटो समयमा मयूर लोकप्रिय बन्न पुग्यो । साथै, कम्पनीले व्यवसाय विस्तारका लागि महŒवाकांक्षी योजना पनि प्रचारमा ल्यायो । कम्पनीले नयाँ गाडी थपेर राजधानीबाहिर पनि आफ्नो सेवा विस्तार गर्ने बताइरहँदा शेयरधनीहरूबीच विवाद आउन थालेपछि गतवर्षदेखि नै मयूर यातायातको गाडी सञ्चालनमा समस्या आउन थालिसकेको थियो । 

चुलिँदो विवादका कारण कम्पनी बढ्दो नोक्सानमा रहेको सञ्चालक भण्डारी बताउँछन् । तर, अध्यक्ष श्रेष्ठ कम्पनी घाटामा नचलेको दाबी गर्छन् । ‘कम्पनी घाटामा चलेको भन्ने हल्ला गलत हो,’ उनी भन्छन् । 

विवादकै कारण कम्पनीले बीचमा बैंकको किस्तासम्म तिर्न सकेको थिएन । तर, कम्पनीका अध्यक्ष श्रेष्ठ कम्पनीले हालै किस्ता तिरिसकेको दाबी गर्छन् । विवाद बढे पनि अध्यक्ष श्रेष्ठ कम्पनीले गाडी थप्न लागेको बताउँछन् । उनका अनुसार, तिहारलगत्तै कम्पनीले थप ८० ओटा बस सञ्चालन गर्ने र आगामी १ वर्षमा विद्युतीय बस पनि ल्याउने योजना मयूरको छ । त्यसो त, मयूरले टाटाको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङसँग १ वर्ष पहिले १०५ ओटा गाडी किन्ने योजना बनाएको थियो, त्यसमध्ये हालका लागि ४१ सीट क्षमताका ८० ओटा बस किनिने श्रेष्ठको दाबी छ । 

तर, सिप्रदी ट्रेडिङका सिनियर प्रोडक्ट म्यानेजर कृष्ण चन्दले मयूरले केही समयअघि ९० ओटा जति बस आफुलाई चाहिने भने पनि किनबेचको कुनै प्रक्रिया अघि नबढेको बताए । ‘मयूरले बस किन्ने भने पनि उहाँहरूको आन्तरिक विवादका कारण कुनै प्रक्रिया अघि बढेको छैन,’ उनले भने, ‘हामीले ३ महीनासम्मलाई पुग्ने बस स्टकमा राख्ने हुँदा उहाँहरूले बस किन्न चाहेमा उपलब्ध गराउन भने गाह्रो हुने छैन ।’ 

उता, श्रेष्ठ टाटासँग मात्र नभई आफ्नो कम्पनीले बस किन्नका लागि आइसर, अशोक लेल्यान्ड र एसएमएल लगायत कम्पनीसँग कुरा गरेको बताउँछन् । चक्रपथ र रत्नपार्कदेखि थानकोट, धुलिखेल र पनौतीसम्म बस सञ्चालनको रूट लिएको कम्पनीले हाल थानकोटको रूटमा भने बस चलाएको छैन । नयाँ बस आएपछि थानकोटसम्म र अन्य थप नयाँ रूटमा पनि बस सञ्चालन गर्ने योजना कम्पनीले बनाएको अध्यक्ष श्रेष्ठले बताए । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)