धनगढी । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सञ्चालन गरेका कृषि कार्यक्रममा कृषकहरूको पहुँच नै नपुग्ने गरेको पाइएको छ । मन्त्रालयले तयार पारेका कृषि कार्यक्रम र बजेटको विषयमा समेत यहाँका कृषक अनभिज्ञ रहेको पाइएको हो ।
मन्त्रालयले एक घर पाँच बिरुवा, उन्नत बीउ वितरण, उत्पादन र उत्पादकत्व वृद्धि, कृषि औजार, कोल्ड स्टोर, वधशाला निर्माणलगायत शीर्षकमा ३० करोड रुपैयाँभन्दा बढी अनुदान रकम वितरण गरिरहेको बताइरहेका बेला सो विषयमा आफूहरू अनभिज्ञ रहेको कृषक अर्जुन खत्रीले गुनासो पोखे । मन्त्रालयले कृषि अनुदानका कार्यक्रम सञ्चालनका लागि किसानको आवेदन माग गरे पनि किसान नै अनुदानबारे अनभिज्ञ रहेकाले कृषिका अधिकांश कार्यक्रम कार्यान्वयनमा समस्या भएको प्रदेश मन्त्रालयका एक अधिकारीले बताए ।
मन्त्रालयको घाँस काट्ने, जोत्ने, रोप्ने मेशिनलगायत कृषि औजारका लागि ७ करोड रुपैयाँ अनुदान वितरण कार्यक्रम पनि प्रभावकारी बन्न सकेको छैन । मन्त्रालयले किसानलाई सुसूचित गर्न नसकेपछि सो कार्यक्रम प्रभावहीन बनेको अगुवा कृषक बताउँछन् । सूचना अभावकै कारण यस्ता कार्यक्रममा कृषकको आवेदन समेत न्यून पर्ने गरेको बताइएको छ ।
त्यस्तै, आयआर्जन तथा उत्पादनमूलक कार्यक्रम भनेर सहकारी र कृषक संस्थाका लागि १२ करोड रुपैयाँको अनुदान वितरण कार्यक्रम पनि प्रभावकारी बन्न सकेको छैन । यो कार्यक्रमका लागि दुर्गम जिल्लाका सहकारी र संस्थाको आवेदन न्यून परेको मन्त्रालयले जानकारी दिएको छ । यसैगरी स्वरोजगार तालीमका लागि भनेर सहकारी संस्थालाई ४ करोड अनुदान वितरण कार्यक्रम पनि दुर्गम र पहाडी जिल्लाका अधिकांश किसानका संस्था वञ्चित भएको पाइएको छ ।
शीतभण्डार कार्यक्रम अलपत्र गत आवमा मन्त्रालयले सुदूरपश्चिमका पाँच जिल्लामा एक÷एक करोड कोल्डस्टोर (शीतभण्डार) बनाउन भन्दै ८ करोड बजेट विनियोजन गरिएको थियो । व्यक्ति वा सहकारीले आवेदन दिन सक्नेगरी सूचना निकालेको मन्त्रालयले जानकारी दिएको थियो । तर अधिकांश किसानले त्यसबारे जानकारी नै प्राप्त गर्न नसकेपछि सो कार्यक्रम अन्योलमा परेको पाइएको छ । मन्त्रालयका अनुसार सुदूरपश्चिमका नौ जिल्लामध्ये कैलाली, कञ्चनपुरलगायत केही जिल्लाबाट मात्र न्यूनरूपमा आवेदन परेको हो । त्यस्तै दुई करोड अनुदान रकम रहेको वधशालाका लागि कैलाली र कञ्चनपुरबाट मात्रै आवेदन परे पनि कार्यान्वयन अहिलेसम्म कहीँकतै भएको देखिँदैन ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले चालू आवमा कृषिलाई प्राथमिकता दिएर बजेट निर्माण र कार्यक्रम ल्याएको बताइरहेको बेला अघिल्लो आवमा ल्याएका कृषि कार्यक्रम नै कृषकको पहुँचमा पुग्न नसक्नुले कृषि कार्यक्रमप्रति कृषकको आकर्षण घट्दो क्रममा देखिएको अगुवा कृषक नन्दराज भट्ट बताउँछन् । कृषकले जानकारी पाउने गरी मन्त्रालयले कार्यक्रमको विषयमा सूचना सम्प्रेषण गर्नुपर्ने माग उनले गरे ।
प्रदेशभित्र एउटै शीतभण्डार नहुँदा किसानको उत्पादन खेर गइरहेको अवस्थामा मन्त्रालयले ल्याएको कोल्डस्टोर सञ्चालन गर्ने विषय किसानले जानकारी नै नपाउनु भनेको मन्त्रालयकै कमजोरी भएको गुनासो किसानको छ ।