ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धन्वन्तरी जयन्ती र नेपालमा आयुर्वेदको अवस्था

Oct 25, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दुर्गा लामिछाने

तिहारमा पुजिनेमध्ये आयुर्वेदका प्रणेता एवं हिन्दू धर्मशास्त्र अनुसार देवताहरूका चिकित्सक धन्वन्तरी पनि पर्दछन् । धन्वन्तरीको पूजा काग तिहारका दिन गरिन्छ । धन्वन्तरीले काग तिहारका दिन कागको रूप लिएर कागेश्वरी (सुन्दरीजल नजीकै)मा गएर महादेवको तपस्या गरेको भएर काग तिहारका दिन उनको पूजा गरी आरोग्य दिवसका रूपमा मनाउने प्रचलन रहेको आयुर्वेदका डा. शेषराज आचार्य दीक्षित बताउँछन् । उनका अनुसार खासगरी धन्वन्तरीको सन्देश हित कुरा खाऊ, अड्कलेर खाऊ, ऋतु अनुसारको आहारविहार गर भन्ने रहेको छ । दीक्षित नरदेवी आयुर्वेद चिकित्सालय (अस्पताल)का पूर्व निर्देशक हुन् । 

आयुसम्बन्धी ज्ञान दिने शास्त्रलाई आयुर्वेद भनिन्छ । रोग नलागेकालाई लाग्न नदिने र लागेकालाई निको गराउने काम आयुर्वेदले गर्दछ । आयुर्वेद वायु, पित्त, कफको सिद्धान्तमा रोग निदान गरी उपचार गरिने विधि हो । 

आयुर्वेदको शुरुआत नेपालबाटै भएको दीक्षितको दाबी छ । उनका अनुसार पहिले हिमालयको फेदीमा रोग लागेका जनताको चिन्ता लिएर त्यतिबेलाका बुद्धिजीवी (ऋषिमहर्षि)हरूको ठूलो सभा भएको, त्यस सभाले आयुर्वेद उपचारबाट रोग निको गर्न सकिने र त्यसको पठनपाठन गर्न जानुपर्ने तय गरेको थियो । त्यो ज्ञान देवताका राजा इन्द्रसँग भएको हुनाले उनीकहाँ आयुर्वेद सिक्न आत्रेय भन्ने ऋषिलाई पठाउने निर्णय सभाले ग¥यो । ब्रह्माबाट इन्द्रले पढेको १ लाख श्लोक, १ हजार अध्याय भएको ब्रह्म संहिता नामक किताब इन्द्रबाट सिकेर फर्किए । फर्किएर ऋषिहरूलाई आयुर्वेद पढाउन शुरू गरेको किम्वदन्ती छ । किताब ठूलो भएकाले त्यसलाई आठ भागमा बाँढे, जसमा १. शल्य (सर्जरी), २. शालाक्य (ईएनटी), ३. काय चिकित्सा (जनरल), ४. भूत विद्या (साइकोलोजी), ५. कौमार भृत्य (बालक गर्भमा रहेदेखि सोह्र वर्ष नपुगुञ्जेलसम्मको उपचार, प्रसूति चिकित्सा पनि यसैभित्र पर्दछ), ६. रसायनतन्त्र (पारो, गन्धक परेका रसायन औषधिहरू र हीरा, मोती, माणिक्य, सुनचाँदी आदिलाई खरानी बनाई औषधिको रूपमा उपचार गर्ने विधि), ७. अगदतन्त्र (विष विज्ञान), ८. बाजीकरण (बाँझोपन हटाउने) पर्दछन् । 
त्यसयता नै नेपालमा आयुर्वेद अनुसार उपचार हुँदै आएको पाइन्छ । संस्थागत रूपमा भने मल्लकालमा सिंहदरबार वैद्यखानाको स्थापना भई औषधि उत्पादन शुरू भएको हो ।
नेपालमा विसं १९७४ मा आयुर्वेद चिकित्सालयको स्थापना भई जिल्ला जिल्लामा औषधालय खुले । १९८५ सालमा नरदेवी आयुर्वेद क्याम्पस स्थापन भयो । आयुर्वेद विभागहरू बने र आयुर्वेदिक उपचारको आधुनिक शुरुआत भयो ।

अहिले नेपालका सातै प्रदेशमा गरी ४०० भन्दा बढी आयुर्वेदिक औषधालय छन् । आयुर्वेद क्याम्पस कीर्तिपुर, वीरगञ्ज आयुर्वेद कलेज, जनकपुर आयुर्वेद कलेज, नेपाल  संस्कृत विश्वविद्यालय आयुर्वेद क्याम्पस (दाङ) आदिमा आयुर्वेदको स्नातक तथा स्नातकोत्तरसम्मको पढाइ हुन्छ । मध्यमस्तरीय पढाइ (सीटीईभीटी) प्रमाणपत्र तहमा हुँदै आएको छ । साथै ९, १०, ११ र १२ कक्षामा आयुर्वेद ऐच्छिक विषयका रूपमा देशका सबै विद्यालयमा पढ्न पाइने व्यवस्था छ । 

आयुर्वेद पढ्न चाहनेको संख्या बढ्दै गएको दीक्षित बताउँछन् । प्रवेश परीक्षा दिनेहरूको संख्या प्रतिदिन बढिरहेको छ । तर एउटा क्याम्पसमा बढीमा ३५ जनाभन्दा बढी विद्यार्थी पढाउने व्यवस्था नभएकाले इच्छा भए पनि पढ्न नपाउने अवस्था छ । नेपालमा जनरल मेडिसिनको मात्रै एमडी गराउने व्यवस्था भएकाले यो शिक्षामा स्नातक गरिसकेपछि भारत अथवा चीन जानुपर्ने बाध्यता छ । पढिसकेपछि निजीक्षेत्रमा विभिन्न क्लिनिक अस्पताल खोलेर आफै संलग्न हुनुका साथै सरकारी सेवामा पनि प्रशस्त सीट छन् । खासगरी औषधालयमा अवसर छ । निजी विद्यालय र महाविद्यालयहरूमा पनि आयुर्वेद पढाउन थालिएकाले त्यहाँ पनि अवसर छ । 

हुन त जंगबहादुर बेलायत जाँदा उनले एलोपेथिक चिकित्सा भिœयाए भन्ने भनाइ पनि पाइन्छ । तर संस्थागत रूपमा नेपालमा एलोपेथिक चिकित्साले प्रवेश पाएको १२५ वर्षभन्दा बढी भएको छैन । सैनिक अस्पताल र वीर अस्पतालको स्थापना भएपछि मात्रै एलोपेथिक चिकित्सा नेपालमा शुरू भएको हो । एलोपेथिक चिकित्सा नयाँ हुँदा सबै देश एन्टिबायोटिक तथा सर्जरीका कारण त्यता आकर्षित भए पनि एन्टिबायोटिकको दुष्प्रभाव (रियाक्शन)ले गर्दा अहिले पुनः जनमानस आयुर्वेदतिरै आकर्षित हुन थालेको दीक्षितको दाबी छ । 

विश्व स्वास्थ्य संगठनले वैकल्पिक चिकित्साको रूपमा आयुर्वेदलाई मान्यता दिएको छ । पश्चिमी मुलुकमा पनि ‘हर्बल ट्रिटमेन्ट’ अथवा ‘नेचुरल ट्रिटमेन्ट’का रूपमा लिई यो विधिबाट उपचार शुरू गरिएको छ । नेपालमा पनि रूसदेखि अमेरिका, चीनसम्मका मानिस आयुर्वेदिक उपचार गर्न आउने गरेका छन् । 

बिरामी भएपछि लामो समयसम्म एलोपेथिक उपचार गरेर त्यहाँबाट निको नभएपछि आयुर्वेदिक उपचारमा जानेको संख्या धेरै छ । यसले गर्दा रोग जटिल अवस्थामा पुग्ने हुँदा निको पार्न कठिन रहेको यस क्षेत्रमा कार्यरतहरूको भनाइ छ । शुरूमै आउने हो भने छिट्टै र जरैदेखि निको पार्न सक्ने क्षमता आयुर्वेदमा रहेको दीक्षित बताउँछन् । अहिले नसर्ने रोगले देशसँगै विश्व पीडित छ, त्यसको सफल उपचार आयुर्वेदबाट हुने र भइरहेको उनको दाबी छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)