ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीपी प्रतिष्ठानमा बेथिति बढ्दो

Oct 25, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar दिनेश गजमेर


धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेथिति बढ्दै गएको छ । प्रतिष्ठानमा पछिल्लो समय आकस्मिक कक्षमा आएका बिरामीहरूलाई विभिन्न बहाना देखाएर चिकित्सकहरूले नै बाहिरका अस्पतालमा पठाउन थालेको पाइएको छ । कमिशनको प्रभावमा प्रतिष्ठानकै चिकित्सकले निजी अस्पतालमा बिरामीहरू ‘रेफर’ गर्न थालेको पाइएको हो ।

प्रतिष्ठानभित्र कमिशनको चलखेल, अनियमितता हुने गरेको पुष्टि यसअघि नै निवर्तमान उपकुलपति प्राडा. राजकुमार रौनियार ८ लाख रुपैयाँ घुस रकम सहित पक्राउ पर्नु, पूर्व उपकुलपति प्राडा. बलभद्र प्रसाद दास लगायतलाई अख्तियारले पक्राउ गर्नुबाटै भइसकेको छ । पछिल्लो समय अस्पतालमा कमिशनको खेल र अनियमितता झनै बढ्दै गएको छ । आकस्मिक कक्षमा उपचारका लागि आएका बिरामीलाई चिकित्सकहरूले ढिलोगरी चेकजाँच गर्ने, सम्बन्धित विभागमा नपठाएर आफै अन्य अस्पतालमा उपचारका लागि पठाउने गरेको सेवाग्राहीको गुनासो छ ।

आकस्मिक कक्षको काम बिरामीलाई यथाशक्य छिटो सेवा दिएर सम्बन्धित विभागमा पठाउने हो, तर चिकित्सकहरूले आफूले गर्न सक्नेसम्म गरेर सम्भव नभए बाहिर पठाउने गरेको पाइएको छ । प्रतिष्ठानको आकस्मिक कक्षमा ‘ल्याब टेस्ट’ नै ढिलो हुने गर्दछ भने पछिल्लो समय एक्सरे, भिडियो एक्सरे मेशिन समेत बिग्रिएका छन् । त्यसले काम नगर्दा पनि बिरामीहरूलाई बाहिर पठाउनुपर्ने हुन्छ । सिटी स्क्यान बिग्रिएको महीनौं बित्दा पनि नबन्दा बिरामीहरू विराटगनर पुग्न बाध्य छन् ।

आकस्मिक कक्षमा उपचारमा धेरै ढिलासुस्ती हुने गरेको बिरामीका आफन्तहरू बताउँछन् । डाक्टरले बिरामी हेरेपछि विभिन्न परीक्षण गर्न २ घण्टाभन्दा बढी लाग्छ । ‘परीक्षणको नतीजा आएपछि मात्र उपचार शुरू हुन्छ । त्यस बेलासम्म घन्टौं बितिसकेको हुन्छ,’ स्थानीय रामकुमार राईले भने, ‘आकस्मिक कक्षको उपचार पाउन २ घण्टाभन्दा बढी लाग्नु राम्रो होइन ।’

प्रतिष्ठान आन्तरिक द्वन्द्वका कारण अव्यवस्थित बन्दै गएको छ । त्यसमाथि कमिशनको लोभमा चिकित्सकहरूको लापरबाहीले प्रतिष्ठानप्रतिको विश्वास घट्दै गएको छ । प्रतिष्ठानमा कमिशनको चलखेल, जिम्मेवारीप्रति बेवास्ता, गुणस्तरहीन सेवा, कर्मचारीको मनपरी बढ्दै गएको एक चिकित्सकले बताए । ‘प्रतिष्ठानमा सेवा प्रवाहको माहोल बिग्रिसकेको छ,’ उनले भने, ‘वैज्ञानिक ढंगले कार्यविभाजन छैन, चाहिने ठाउँमा मान्छे छैनन्, नचाहिने ठाउँमा धेरै छन्, एउटै बिरामीमा १० जनासम्म चिकित्सक झुन्डिन्छन्, तर परिणाम देखिँदैन ।’
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)