ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैंकहरूलाई साइबर सुरक्षा बीमा गर्न निर्देशन दिने तयारीमा राष्ट्र बैंक

Oct 27, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई साइबर सुरक्षा बीमा गर्न निर्देशन दिने तयारी गरेको छ । बैंकहरूले स्वतस्फूर्त रूपमा यस्तो बीमा नगरेपछि राष्ट्र बैंकले नै निर्देशन दिने प्रक्रिया अगाडि बढाएको हो ।

नेपालमा नै साइबर जोखिम सम्बन्धी बीमा सुविधा भए तापनि हालसम्म एउटा पनि बैंकले यस्तो बीमा गराएका छैनन् । नेपाल इन्स्योरेन्स कम्पनीले २०७५ साउनदेखि नै ‘साइबर रिक्स प्रोटेक्टर’ बीमालेख प्रचलनमा ल्याएको छ । तर, बीमासँग प्रत्यक्ष सम्बन्ध राख्ने बैंकहरूले अहिलेसम्म त्यस्तो बीमा गराएका छैनन् । अन्य प्रकारका बीमाको तुलनामा साइबर सुरक्षा बीमा महँगो हुने भएकाले यसप्रति बैंकहरू आकर्षित भएका छैनन् । 

राष्ट्र बैंकका अनुसार अहिले यस विषयमा आवश्यक अध्ययन गर्ने काम भइरहेको छ । आवश्यक नीतिगत व्यवस्था गरेर ढिलोमा पनि आगामी असार मसान्तसम्म निर्देशन जारी गर्ने राष्ट्र बैंकको तयारी छ । 

हाल बैंकहरूले बैंकिङ ब्लांक्वेट बीमा (बीबीआई) मार्फत आफ्नो सम्पूर्ण सम्पत्तिको बीमा गरेका छ छन् । तर, उक्त बीमालेखले साइबर सम्बन्धीको जोखिमलाई रक्षावरण गर्दैन । 
‘बैंकहरूको साइबर जोखिम व्यवस्थापन गर्ने सिलसिलामा साइबर सुरक्षा बीमालाई समावेश गर्न लागेका हौं । तर, यो हाम्रो लागि नयाँ बिषय हो । त्यसैले अहिले नीतिगत र हुन सक्ने खर्चको विषयमा अध्ययन गर्दैछौं, आवश्यक प्रक्रिया पुगेपछि निर्देशन जारी हुनेछ,’ राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । उनका अनुसार नेपालको बीमा कम्पनीमा नै बैंकहरूले यस्तो बीमा गर्नुपर्ने गरी निर्देशन आउनेछ ।

गत भदौ १४ गतेको एटीएम ह्याकको घटनालाई अध्ययन गर्न बनेको समितिले पनि राष्ट्र बैंकलाइ साइबर सुरक्षाका लागि बीमा नीति ल्याउन सुझाव दिएको थियो । पछिल्लो समय बैंकिङ क्षेत्रमा साइबर हमला बढेको छ । गत भदौ १४ गते चिनियाँ ≈याकर समूहले यहाँका बैंकहरूको एटीएम नेटवर्क ह्याक गरेर रू. ३ करोड ५८ लाख ८४ हजार २० रुपैयाँ निकालेका थिए । त्यसमा नेपालबाट रू. १ करोड ८९ लाख ४४ हजार ५ सय र भारतबाट रू. १ करोड ७० लाख निकालिएको तथ्यांक नेपाल राष्ट्र बैंकले निकालिएको थियो । 

नेपालदेखि झिकिएको रकम पक्राउ परेका ६ चिनियाँ ह्याकर र २ मनी एक्सचेन्ज कम्पनीबाट बरामद भएको पैसा ‘रिकभर’ हुने देखिन्छ । तर, भारतबाट झिकिएको पैसा फिर्ता हुने विषयमा भने अझै अन्योलमा छ । 

यस्तै, गत असोजको पहिलो साता १२ जना नेपालीले कृषि विकास बैंकका कर्मचारीको युजरनेम ह्याक गरेर सोही बैंकको रू. ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ चोरी गरेका थिए । प्रहरीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । भारतको मुम्बईमा बस्ने पिटर नामक विदेशी नागरिकले उनीहरूलाई परिचालन गरेको शंका गरिएको छ । 

प्रहरीले पक्राउ गरेका नेपालीबाट रू. ४० लाख ५० हजार रकम मात्र बरामद गरेको थियो, जसअनुसार बाँकी पैसा फिर्ता हुने विषयमा भने अन्योल नै छ । यदि, उनीहरूले यस्तो साइबर बीमा गरेको भए बीमा कम्पनीबाट आर्थिक राहत पाउने थिए । 

त्यस्ता घटना भएपछि बैंकहरूको साइबर सुरक्षा बीमा गर्न विषयमा राष्ट्र बैंक अगाडि बढेको हो, जसले आगामी दिनमा हुनसक्ने साइबर हमलाको घटनामा केही राहत मिल्नसक्छ । 

त्यसो त पछिल्लो समय बैंकहरू साइबर बीमा गर्न सकारात्मक देखिएको बीमा कम्पनीहरूको भनाइ छ । तिहारपछि केही बैंकहरूले यस्ता बीमा गर्न सक्ने नेपाल इन्स्यारेन्सका नायब महाप्रबन्धकले विक्रान्त पाण्डेको भनाइ छ । ‘यस विषयमा राष्ट्र बैैंकले नै आवश्यक नीति ल्याउन लाग्नु सकारात्मक पक्ष हो । हालै भएका साइबर हमलाबाट भएको क्षति त्यति ठूलो होइनन् जस्तो लाग्छ । तर, भोलिका दिनमा ठूलो मात्रामा नोक्सानी भयो हामी पनि आवश्यक राहत दिन सक्छौं,’ उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)