ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जापानको नारितामा उडान  गर्ने नेवानिको तयारी

Oct 27, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । काठमाडौं–ओशाका उडान अपेक्षा गरिए अनुरूप सफल हुन नसकेपछि नेपाल वायुसेवा निगमले जापानकै अर्को शहर नारितामा उडान गर्ने तयारी तीव्र बनाएको छ । निगमको सन् २०२० को जनवरी (पुस दोस्रो साता)बाट नारितामा उडान शुरू गर्ने योजना छ । 

गत भदौ १२ गते देखि काठमाडौं–ओशाकामा उडान गरिरहेको निगमले सो रूटमा भने जस्तो यात्रु पाउन सकेको छैन । निगमले शुरूमा काठमाडौंबाट ओशाकास्थित कान्साइ अन्तरराष्ट्रिय विमानस्थलमा मंगलवार, बिहीवार र शनिवार गरी साताको तीनओटा उडान गर्ने तालिका बनाएको थियो । पछि यात्रु अभाव भएपछि साताको २ दिन मंगलवार र शनिवार मात्र ओशाकामा उडान गर्दै आएको छ । शुरूका दिनभन्दा हाल ओशाका उडानमा क्रमशः यात्रु संख्या बढ्दै गए पनि दीर्घकालका लागि नारिता राम्रो हुने भएकाले नारिताको तयारी गरिएको निगमका कार्यकारी अध्यक्ष मदन खरेल बताउँछन् । 

व्यापारिक दृष्टिले ओशाकाभन्दा नारिता राम्रो भए पनि केही प्राविधिक कारणले शुरूमा नारिता नगई ओशाका उडान गरेको उनले बताए । अहिले ती सबै बाँकी काम सकेर नारितामा उडान अनुमति मागिएको र अनुमति प्राप्त भए नेपाल भ्रमण वर्षको शुरू हुँदा नारिता पनि उडान शुरू भनाइ निगमको छ । 

‘हामी पहिले नै नारिता जान चाहन्थ्यौं तर केही प्राविधिक कुरा मिलाउनु थियो । अहिले जापानको सिभिल एभिएशनले मागेको कागजातहरू बुझाइरहेका छौं । अनुमति पाउना साथ नारिता उडान शुरू हुनेछ,’ खरेलले भने । निगमले ओशाकामा उडान गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत असन्तुष्टि व्यक्त गर्दै नारिता उड्नुपर्ने विमान ओशाका किन उडाएको भन्दै प्रश्न गर्नु भएको थियो ।

ओशाका उडानलाई लिएर आलोचित हुन पुगेको निगमले नारितामा साताको ३ दिन उडान गर्ने अनुमति माग्ने प्रक्रिया अगाडि बढाएको छ । नारितामा उडान शुरू भएपछि ओशाका उडान बन्द गर्न सकिने निगमले बताएको छ ।

सन् १९९४ देखि ओशाका उडान गर्दै आएकोमा सन् २००७ मा जहाजको संख्या अपुग भएको भन्दै निगमले उडान स्थगन गरेको थियो । 

त्यतिखेर निगमले बोईङ मार्फत काठमाडौं–साङहाई–ओशाका उडान गर्ने गथ्र्याे । अहिले भने वाइड बडी ए–३३०–२०० बाट भने काठमाडौं–ओशाका सीधा उडान भइरहेको छ । 

चिनियाँ सेफ्टी अडिट टोली डिसेम्बरमा नेपाल आउने 
निगमको चीन उडानका लागि अध्ययन गर्न डिसेम्बरसम्ममा चिनियाँ सेफ्टी अडिट टोली नेपाल आउने निगमले जानकारी दिएको छ । अध्यक्ष खरेलका अनुसार सिभिल एभिएशन एडमिनिस्ट्रेशन अफ चाइना (सीएएसी)सँग उडान अनुमति माग गरिसकेको छ । उनीहरूबाट निगमको सेफ्टी अडिट गर्न (सीएएसी) को टोली डिसेम्बरसम्ममा आउने जानकारी आएको उनले बताए । चीनबाट अडिटका लागि आउने टालीसँग सहजीकरण गर्न निगमले कार्यदल समेत बनाइसकेको छ । निगमले चीनको राजधानी पेचिङ तथा आर्थिक केन्द्रहरू क्वाङचाऊ र साङहाईमा उडान गर्ने योजना बनाएको छ । निगमले जापान सहित आठ देशका नौ गन्तव्यमा उडान गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)