ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डुइङ बिजनेश इन्डेक्स : आगामी वर्ष थप सुधार गर्ने सरकारको भनाइ

Oct 27, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे


काठमाडौं । ‘इज अफ डुइङ बिजनेश’मा नेपालको सुधारिएको वरीयताबाट उत्साहित सरकारले व्यावसायिक वातावरणलाई थप लगानीमैत्री बनाउने तथा सरकारी कामकाजलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने बताएको छ । 

डुइङ बिजनेशमा नेपालले गरेको सुधारबारे जानकारी दिन शुक्रवार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले हाल सरकारी सेवा लिँदा लाग्ने लागत र समय घटाउने गरी डिजिटल प्रणाली लागू गर्ने तयारी सरकारले गरेको बताए ।

विश्व बैंकले बिहीवार सार्वजनिक गरेको ‘इज अफ डुइङ बिजनेश’ प्रतिवेदनले गतवर्ष व्यावसायिक वातावरण सुधार गर्न गरिएको प्रयासको प्रतिफलका कारण नेपाल डुइङ बिजनेश र्‍याकिङमा १६ स्थान माथि उक्लँदै ९४औं वरीयतामा पुगेको देखाएको छ । 

यद्यपि नेपालमा व्यापार व्यवसाय शुरू गर्न अझै कठिन रहेको, लोडशेडिङको अन्त्य भए पनि उद्योगहरूमा विद्युत् आपूर्तिमा उल्लेख्य सुधार नआएको तथा सम्पत्ति दर्ता, हस्तान्तरणमा लाग्ने शुल्क वृद्धि गरेका कारण लगानीको वातावरणमा असर देखिएको विश्व बैंकको ठहर छ ।

अर्थमन्त्री खतिवडाले उक्त विषयहरूलाई थप सम्बोधन गरी अर्को वर्ष ८० औं वरीयतासम्म पुग्ने सरकारी लक्ष्य रहेको बताए । सूचना प्रविधिसम्बन्धी कानूनको मस्यौदा तयार पारेर सरकारले संसद्मा पेश भइसकेको बताउँदै उनले भने, ‘निजीक्षेत्रले सहजता महसूस गर्ने गरी कानूनी सुधार गर्न केन्द्रित छौं, सरकारले गरेको सुधारलाई निजीक्षेत्रले महसूस गर्न जरुरी छ ।’

अर्थमन्त्रीका अनुसार वित्तीय संघीयताको संक्रमणकाल व्यवस्थापनको छिटो व्यवस्थापन भएको छ र अर्को वर्षबाट दोहोरो कर र अधिक करको गुनासो हट्ने गरी सरकारले काम गरिरहेको छ । उनले संघीयता कार्यान्वयनसँगै व्यावसायिक लागत बढ्ने जोखिम देखिएकाले सूचक तल झर्ने डर आफूमा रहेको पनि उनले उल्लेख गरेका छन् ।
राजस्व सचिव शिशिरकुमार ढुंगानाले सुधारका हिसाबले नेपाल सही दिशामा अग्रसर भएको बताए ।  सरकारले व्यावसायिक वातावरण सुधारका लागि तीनवर्षे रणनीति बनाएको र आउँदो वर्षको प्रतिवेदनमा त्यो प्रतिबिम्बित हुने उनको दाबी छ ।

विश्व बैंकका नेपाल प्रबन्धक फरिस हदाद जर्भसले अघिल्लो वर्ष नेपालले व्यावसायिक वातावरण तयार गर्न धेरै सुधारको काम गरेको बताएका छन् । ‘व्यावसायिक वातावरण सूचकांकको हिसाबले यस वर्ष नेपाल सही गतिमा अघि बढिरहेको छ, नेपालले गरेको सुधारको प्रतिफल देखिएको हो ।’ 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले समग्र सूचकमा नेपालले गरेको प्रगति सन्तोषजनक भए पनि सुधार्नुपर्ने पक्ष अझै धेरै रहेको बताए । उनका अनुसार समग्र सूचकमा नेपालले गरेको प्रगति सन्तोषजनक हुँदा लगानी भित्र्याउन नेपाल अनुकूल रहेको सन्देश विश्वभर प्रवाह भएको छ । 

आगामी दिनमा समयसमयमा हुने लगानी योग्य रकमको अभावलाई हटाउँदै ऋण नपाउने समस्यालाई हटाउनेतर्फ सरकारको ध्यान जानुपर्ने गोल्छाको भनाइ छ ।
विद्युत अभाव मुलुकभित्र नरहे पनि विद्युत्को गुणस्तरप्रति समस्या रहेको उनको कथन थियो । सामाजिक सुरक्षामा सरकारले केही निर्णय हतासमा लिँदा उद्योगी, व्यवसायी मारमा परेको भन्दै उनले निजीक्षेत्रसँग सहकार्य गरेरमात्रै त्यस्ता योजना अघि बढ्न सुझाव दिए । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)