ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्मार्ट लाइसेन्स छपाइ : अझै सञ्चालनमा आएन मास प्रिन्टर

Oct 30, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

कात्तिक १३, काठमाडौं । यातायात व्यवस्था विभागले स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) छाप्ने मास प्रिन्टर ल्याएको साढे दुई महीना बितिसक्दा पनि लाइसेन्स छपाइको काम शुरू भएको छैन । एशियाली विकास बैंकको सहयोगमा एकैपटक ठूलो संख्यामा लाइसेन्स छाप्ने मेशिन खरीद गरेको विभागले दशैंसम्म लाइसेन्सको समस्या समाधान हुने दाबी गरेपनि हालसम्म मास प्रिन्टरमार्फत छपाइको काम शुरू भएको छैन ।

विभागले मद्रास सेक्युरिटी प्रिन्टरसँग ९ ओटा सामान्य प्रिन्टर खरीद गरी स्मार्ट लाईसेन्स छपाई गरिरहेकोमा लाइसेन्सको माग अत्यधिक भएपछि एकैपटक ठूलो संख्यामा कार्ड छाप्ने मेशिन मास प्रिन्टर खरीद गर्ने निर्णय गरेको थियो । उक्त मास प्रिन्टर २४ घण्टा नै चल्न सक्ने र प्रतिघण्टा ५०० का दरले कार्ड छाप्ने विभागको दाबी छ । विभागका आईटी प्रमुख श्रीचन्द्र शाहले मेशिनको क्षमता जाँच, मेशिन सञ्चालनको तयारी लगायतका कारण नयाँ मास प्रिन्टरको सञ्चालनमा ढिलाइ भएको बताए । ‘हामीले एक चरणमा जाँच ग¥र्यौं, तिहारलगत्तै दोस्रो चरणको जाँच हुन्छ । त्यसपछि मेशिन सञ्चालनमा आउँछ,’ उनले बताए ।

प्रिन्टर चलाउनका लागि दक्ष जनशक्तिको अभावका कारण पनि कार्ड छपाइमा ढिलाइ भएको विभागको ठहर छ । ‘बीचमा मद्रास सेक्युरिटीले नै सामान्य तालिम दिएर गएको थियो,’ विभागका सूचना अधिकारी तिर्थ राज खनालले भने, ‘हाल दक्ष प्राविधिकको अभाव भएकाले पनि मेशिन सञ्चालनमा ढिलो भएको हो ।’

विभागले गत बैशाख तेस्रो साता रू. ४ करोड ८३ लाखमा भारतको मद्रास सेक्युरिटी प्रिन्टर्ससँग मास प्रिन्टर र १० लाख थान खाली कार्ड खरीदको सम्झौता गरेको थियो । कम्पनीसँग असार मसान्तसम्म प्रिन्टरसहित १ लाख कार्ड र त्यसको १ महीनाभित्र बाँकी ९ लाख कार्ड उपलब्ध गराउने सम्झौता भएको थियो ।

तर कम्पनीले २० दिन ढिलो गरी प्रिन्टर नेपाल पठाएकोमा १ लाख कार्ड असोज पहिलो साता मात्रै नेपाल आइपुगेको थियो । बाँकी ९ लाख कार्ड प्रिन्टर पठाएको १ महीनाभित्र नेपाल पठाउने भनिएपनि अझै आइपुगेको छैन । सम्झौता गरेको दिनभित्र प्रिन्टर नेपाल उपलब्ध नगराए दैनिक कुल लागतको ०.०५ प्रतिशतका दरले जरिवाना तिर्नुपर्ने शर्त कम्पनीलाई थियो ।

मेशिनको अभावका कारण विभागले ‘आउटसोर्सिङ’ गरेर लाइसेन्स छपाइको काम गरेको थियो । विभागले २०७५ पुसमा मालिका इन्कर्पोरेटलाई ५ लाख स्मार्ट लाइसेन्स छपाइको जिम्मेवारी दिएको थियो । तर, मालिकाले छापेका लाइसेन्स सम्झौताअनुरुप गुणस्तरीय नभएको भन्दै विभागले बिचैमा ठेक्का रद्द गरेको थियो । सो अवधिमा ३ लाख कार्ड मालिकाले छापेकोमा करीब २५ हजार कार्डमा समस्या देखिई विभागमा आएकाले तिनको पनि रिप्रिन्टको तयारी विभागले गरिरहको छ ।

छपाइ ढिलो हुँदा चालकले परीक्षा पास गरेको वर्ष दिनभन्दा लामो समयसम्म रसिदको भरमा सवारी चलाउनुपर्ने बाध्यता छ । विभागकाअनुसार रसिदको भरमा सवारी चलाउनेको संख्या करीब ७ लाख रहेको छ । हालसम्म १० लाख स्मार्ट लाइसेन्स छापेको विभागसँग जम्मा ४ ओटा मात्र सामान्य प्रिन्टर मेशिन सञ्चालनमा छन् । मद्रास सेक्युरिटी प्रिन्टर्ससँगै विभागले खरीद गरेका ५ ओटा मेशिन भने बिग्रिएर थन्किएका छन् । उपलब्ध चारओटा मेशिनले दैनिक १ हजार ५०० ओटा मात्रै लाइसेन्स छाप्ने गरेको छ । तर, लाइसेन्सका लागि आवेदन दिनेको संख्या दैनिक ८ हजार हाराहारी रहेको विभागको तथ्यांक छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)