ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ब्रोकरको मार्जिन कर्जामा देखिएन लगानीकर्ताको आकर्षण

Oct 31, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । गत असोज १४ गतेदेखि धितोपत्र बजारमा शुरू भएको धितोपत्र दलालमार्फत मार्जिन कर्जा सुविधा प्रयोगप्रति लगानीकर्ताको आकर्षण देखिएको छैन । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरूले यो कर्जा सेवा शुरू गरे पनि प्रयोगका लागि कुनै लगानीकर्ता नआएको जानकारी उनीहरूले दिएका छन् । 

मार्जिन कर्जा सबैभन्दा पहिला असोज १४ गते ब्रोकर नम्बर ५० (क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज) ले शुरू गरेको थियो । त्यसयता, ब्रोकर नम्बर ३४ (भिजन सेक्युरिटिज प्रालि), ब्रोकर नम्बर ३५ ( कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज), ब्रोकर नम्बर ३३ (दक्षिणकाली इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज), ब्रोकर नम्बर ३६ (सेक्युर्ड सेक्युरिटिज) र ब्रोकर नम्बर ५७ (आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज) ले मार्जिन कर्जा कारोबार शुरू गरिसकेका छन् ।

क्रिस्टल कञ्चनजंघाका कार्यकारी अध्यक्ष प्रियराज रेग्मीले ब्रोकर कर्जाका बारेमा बुझ्न आउने लगानीकर्ताको संख्या धेरै भए पनि हालसम्म कसैले पनि यो कर्जा नलिएको जानकारी दिए । बजारको भविष्यबारे लगानीकर्तामा अन्योल रहेकाले पनि कर्जा लिएर लगानी गर्नेतर्फ उनीहरू आकर्षित नभएको भनाइ रेग्मीको छ । 

ब्रोकरहरूले लामो समयको प्रयासपछि शुरू गरेको नयाँ सेवाप्रति लगानीकर्ता आकर्षित नभएकोमा स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष भरत रानाभाटले दुःख व्यक्त गरेका छन् । बजार लामो समय घटिरहनुले पनि लगानीकर्ता यो कर्जाप्रति आकर्षित नभएको हुनसक्ने भन्दै रानाभाटले नयाँ सुविधा भएकाले पनि त्यसबारेमा बुझ्न समय लाग्ने बताए ।

लगानीकर्ताले भने वाणिज्य बैंकको तुलनामा ब्रोकरहरूमा मार्जिन कर्जाको ब्याजदर बढी भएको गुनासो गरेका छन् । लगानीकर्ता उत्तम अर्यालले वाणिज्य बैंकको तुलनामा ३ देखि ४ प्रतिशत ब्याजदर महँगो भएकाले पनि लगानीकर्ताहरू त्यति उत्साहित नदेखिएको बताए । मार्जिन कारोबारका लागि सीमित कम्पनीको शेयर मात्र योग्य रहेकाले यो सेवा त्यति प्रभावकारी नभएको उनले उल्लेख गरे ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कर्जाको ब्याजदर कायम गर्न ब्रोकर र लगानीकर्ताबीचको सहमतिमा छोडेको छ । यो सेवा वाणिज्य बैंकबाट ऋण लिएर प्रदान गर्ने हुनाले आफ्नो लागतमा ३ देखि ६ प्रतिशत थप गरेर यो सेवा प्रदान गर्ने क्रिस्टल कञ्चनजंघाका अध्यक्ष रेग्मीले बताए । ब्याजदरको कुरा सबै ब्रोकरमा फरक पर्ने समेत रेग्मीको भनाइ छ ।

नेपालमा ५० ओटा धितोपत्र दलाल कम्पनी रहे पनि मार्जिन कारोबार सुविधा प्रदान गर्न हालसम्म २१ ब्रोकर कम्पनीले नेप्सेको स्वीकृति पाएका छन् । लगानीकर्ताले मार्जिन कारोबारका लागि नेप्सेले योग्य भनी सार्वजनिक गरेको कम्पनीहरूको धितोपत्रको मार्जिन राखेर शेयर खरीद गर्न सक्नेछन् । यस वर्षका लागि नेप्सेले १२ वाणिज्य बैंकसहित ३३ कम्पनीको शेयर मार्जिन कारोबारका लागि योग्य भएको उल्लेख गरेको छ ।

ब्रोकरहरूले प्रचलित कानूनको अधीनमा रही नेपाल धितोपत्र बोर्डको नीति निर्देशन र नेप्सेको ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि २०७५’को परिधिभित्र रहेर यो सेवा प्रदान गर्नुपर्नेछ । आफ्नो प्रमाणित नेटवर्थको दुई गुणासम्म ब्रोकरहरूले मार्जिन कर्जा उपलब्ध गराउन सक्नेछन् । 

मार्जिन कर्जाका लागि सूचीकृत संस्थाको शेयरको १८० दिनको औसत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ सोको ५० प्रतिशतले हुन आउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिनको रूपमा लिनुपर्नेछ । यस सम्बन्धमा धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा अवधिभर बजारको अवस्था तथा जोखिम हेरी ग्राहकसँग ४० प्रतिशत मार्जिन लिनुपर्ने प्रावधान रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)