पर्वत । पर्वतमा मकै जोनको क्षेत्रफल विस्तार भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत फलेवास नगरपालिकाका ५ वडा समेटेर मकै जोन घोषणा भएको थियो । अहिले फलेवासका ११ ओटै वडासहित महाशिला गाउँपालिकाका ६ ओटा वडा र विहादी गाउँपालिकाका ६ ओटा वडामा जोन विस्तार भएको हो ।
तीन स्थानीय तहमा विस्तार भएको जोनको क्षेत्रफल बढेर १ हजार २० हेक्टर पुगेको मकै जोन फलेवासका कृषि विकास अधिकृत सुजित पौडेलले जानकारी दिए । २०७३ सालमा फलेवास जोन कार्यक्रम कार्यान्वयन हुँदा ५५३ हेक्टर जमीन मात्रै समेटिएको थियो । पौडेलका अनुसार जोनमा समेटिएको क्षेत्रका किसानहरूको मकै उत्पादन समूह गठन भइसकेको छ ।
उनका अनुसार महाशिलामा १४ र विहादीमा १२ ओटा मकै उत्पादन समूह बनेका छन् । किसानहरूले समूहमार्फत मकै उत्पादन गर्ने पौडेलले बताए । फलेवासमा ५७ ओटा समूहमा आबद्ध किसानहरूले मकै खेती गर्दै आएका छन् । फलेवासमा मकै उत्पादन राम्रो भएपछि अन्य क्षेत्र पनि समेटेर जोन क्षेत्र विस्तार गरेको उनले जानकारी दिए ।
फलेवासमा गतवर्ष २७ मेट्रिक टन मकै उत्पादन भएको थियो । मकै विक्री गरेर किसानले १२ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको कार्यालयले जानकारी दिएको छ । जोन क्षेत्रका किसानहरूले खाने मकै र मूल बीउ उत्पादन गर्दै आएका छन् । किसानले उत्पादन गरेको मकै जोन कार्यालयले नै बजारीकरण गर्दै आएको छ । मकै जोनले किसानलाई मल, बीउ, परामर्श र बजारीकरणका लागि अनुदान दिँदै आएको छ ।
जोनमा बाँदर आतंक बढ्दै गएको हुनाले नियन्त्रण गर्न पनि किसानहरूले माग गर्दै आएका छन् । ‘मकै उत्पादन बढ्दै गएपछि बाँदर पनि बढ्न थाले,’ शंकरपोखरीका प्रेमप्रसाद तिवारीले भने, ‘नियन्त्रणको उपाय ल्याउनुप¥यो ।’ कार्यालयले बाँदर नियन्त्रण सम्बन्धी कार्यक्रम भने सञ्चालन नगरेको जोन कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत धनबहादुर थापाले बताए ।