ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महेन्द्रनगर आधुनिक शहरीकरण योजना : ल्यान्डफिल साइट निर्माणस्थल छनोटमा ढिलाइ

Nov 3, 2019  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मदन गिरी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सञ्चालित महेन्द्रनगर आधुनिक शहरीकरण योजनाको रकम फिर्ता जाने सम्भावना बढेको छ । नगरले ल्यान्डफिल साइट निर्माणस्थल टुंगो लगाउन नसक्दा सडक लगायत अन्य पूर्वाधार निर्माणमा ढिलाइ भएको हो ।

एडीबीले सन् २०२२ सम्ममा भीमदत्तमा करीब ३ अर्ब रुपैयाँको पूर्वाधार निर्माण गर्ने योजना छ । एडीबीले व्यवस्थित ढल निकाससँगै कालोपत्रे सडक र फोहोरमैला संकलन तथा प्रशोधन केन्द्र (ल्यान्डफिल साइट) निर्माण गर्ने दुई कार्यक्रम तय गरेको छ, जसमा ल्यान्डफिल साइट निर्माणपछि मात्रै सडक तथा नाली निर्माण कार्य अगाडि बढाउनुपर्ने शर्त छ । भीमदत्तका इन्जिनीयर हिमाल सिंह ऐरले हालसम्म ल्यान्डफिल साइट निर्क्योल गर्न नसकेको बताए । 

उनका अनुसार नगरपालिकाले ल्यान्डफिल साइटका लागि नगरका विभिन्न वडामा सम्भावित क्षेत्र अध्ययन गरिसकेको भए पनि स्थानीयको विरोधका कारण कार्यक्रमले गति लिन सकेको छैन । आर्थिक वर्ष २०७२/७३ मा घोषित सो कार्यक्रममा भीमदत्त नगरपालिकामा सडक, ढल, फोहोर व्यवस्थापनको एकीकृत निर्माण योजनाका लागि सर्वे भइसकेको छ । 

इन्जिनीयर ऐरका अनुसार ल्यान्डफिल साइटका कारण एडीबीको पूरै बजेट फिर्ता जाने अवस्था आएपछि सडक निर्माणको कामलाई अगाडि बढाएको बताए । नगरपालिकाले संघीय योजना कार्यान्वयन एकाइसँग ५ महीनाभित्रमा ल्यान्डफिल साइट तय गरिसक्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

नगरपालिकाले आधुनिक सडक निर्माणका लागि रू. १ अर्ब ७६ करोडको टेन्डर आह्वान गरेको छ । ‘हामीले टेन्डर आह्वान गरिसकेका छौं,’ ऐरले भने, ‘ठेक्का सम्झौताका लागि हामीलाई करीब पाँच महीना जति लाग्छ, त्यति बेलासम्म ल्यान्डफिल साइट छनोट गरिसक्नु पर्छ ।’ ल्यान्डफिल साइटका लागि सर्वदलीय सहमतिका आधारमा निर्णय गरिने उनको भनाइ छ । ‘नगरपालिकाको ठेक्का सदर हुँदासम्म ल्यान्डफिल साइट छनोट हुन नसके ठेक्का रद्द पनि हुन सक्छ,’ उनले भने । 
नगरपालिकाले कुल ३५ किलोमिटर सडक सर्वे गरे पनि विभिन्न मापदण्ड पूरा गर्न कठिन भएकाले अहिले मुख्य बजार र आसपास क्षेत्रमा करीब १४ किलोमिटर कालोपत्रे सडक निर्माण गरिने जानकारी दिएको छ । महेन्द्रनगर बजारका पाँचओटै गल्लीमा नालीसहित उच्च गुणस्तरीय सडक बनाइने छ । साथै बजार क्षेत्रबाट बाहिर निस्किने बाटो समेत विस्तार गरी कालोपत्रे गर्ने योजना छ । 

त्यसका लागि हालका सडक पूर्ण रूपमा भत्काएर पूरै  नयाँ बनाइने उनले बताए । एडीबीले सन् २०२२ मा सबै निर्माण सक्ने लक्ष्य लिएको छ । कैलाली र कञ्चनपुरका ४ नगरपालिकालाई नमूना शहरी क्षेत्रको रूपमा विकास गर्ने उद्देश्यअनुरूप सडक निर्माण, फोहोर व्यवस्थापन, ढल व्यवस्थापनका लागि पूर्वाधार बनाउन लागिएको हो । कैलालीको गोदावरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा एडीबीको कार्यक्रम शुरू भइसकेको छ भने डम्पिङ साइट विवादका कारण धनगढी उपमहानगरपालिका र भीमदत्तमा कार्यक्रम कार्यान्वयन हुनसकेको छैन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)