काठमाडौं । लगानीको दायरा फराकिलो बनाउन नागरिक लगानी कोष (सीआईटी) ले ‘कर्जा लगानी कार्यविधि, २०७६’ ल्याउने भएको छ । लगानीसम्बन्धी प्रचलित व्यवस्थाले लगानीको दायरा बढ्न नसकेपछि कोषले नयाँ कार्यविधि ल्याउने तयारी गरेको हो ।
कोषका अनुसार हाल कार्यविधिको मस्यौदा तयार भई छलफलको क्रममा छ । मङ्सिरभित्र मस्यौदा पारित गरेर लागू गर्ने कोषको तयारी छ । कोषका कार्यकारी निर्देशक रमन नेपालले भने, ‘उत्पादनमूलक क्षेत्र तथा परियोजनाहरूमा लगानी बढ्ने गरी मस्यौदा तयार गरेका छौं । शायद, मङ्सिरभित्र उक्त कार्यविधि लागू हुन्छ ।’
नेपालका अनुसार कोषको विद्यमान नीतिगत व्यवस्थाका कारण उत्पादनमूलक क्षेत्र तथा परियोजनाहरूमा लगानी बढाउन सकिएको छैन । ‘कुनै पनि काम गर्नुभन्दा पहिले आवश्यक नीति बन्न आवश्यक छ, त्यसैले हामीले ठूला परियोजना तथा उत्पादनमूलक क्षेत्रमा लगानी बढ्ने गरी कार्यविधि तयार गरेका छौं । कार्यविधि कार्यान्वयनमा आएपछि ती क्षेत्रमा लगानी बढ्छ,’ उनले बताए । तर, बचतकर्ताको रकमलाई जोखिममा पर्ने गरी लगानी नगरिने उनको भनाइ छ ।
नेपालमा सबैभन्दा बढी पूँजी परिचालन गर्ने संस्थामध्ये सीआईटी पनि एक हो । तर, २०४८ माघ १ गतेदेखि कारोबार शुरू गरेको सीआईटीले अझै पनि बैंकहरूको मुद्दती निक्षेपमा बढी लगानी गर्दै आएको छ । तथ्यांकअनुसार कुल लगानीमध्ये कोषले बैंकको मुद्दती निक्षेपमा ६१ प्रतिशत र परियोजनाहरूमा १३ प्रतिशत मात्र लगानी गरेको छ । राष्ट्रिय गौरवका परियोजनाजस्ता क्षेत्रमा भने सीआईटीको लगानी अत्यन्त न्यून छ ।
सञ्चालनमा आएको लामो समयसम्म यसरी ठूला परियोजनाहरूमा लगानी बढ्न नसकेपछि कोषले आवश्यक नीति ल्याउने तयारी गरेको हो । कोषका अनुसार अब आउने कार्यविधिमा लगानीका क्षेत्र र जोखिम व्यवस्थापनका विषयमा पनि नीतिगत व्यवस्था हुनेछ । साथै, उक्त कार्यविधि आएपछि कोषको लगानीमा विविधीकरण देखिने नेपालको भनाइ छ ।
त्यस्तै, कोषले बैंकहरूको ऋणपत्र र दोस्रो बजारमा लगानी बढाउने योजना लिएको छ । ‘कोषले पछिल्लो समय त्यस्तो खास क्षेत्रमा लगानी गरेका छैन । अब बैंकहरूको ऋणपत्र र दोस्रो बजारमा लगानी गर्दै छौं । साथै, सरकारको प्राथमिकताको क्षेत्रमा पर्ने राम्रो परियोजना आए भने पनि लगानी गर्न सक्छौं,’ नेपालले बताए ।
सबैभन्दा बढी लगानी मुद्दती निक्षेपमा
कोषले गत असारसम्म विभिन्न क्षेत्रमा गरेर कुल रू. १ खर्ब २४ अर्ब ८७ करोड लगानी गरेको छ । त्यसमध्ये बैंकहरूको मुद्दती निक्षेपमा मात्र ६१ प्रतिशत अर्थात् रू. ७६ अर्ब ६९ करोड ७८ लाख लगानी गरेको छ । हाल कोषसँग कुल रू. १ खर्ब ४८ अर्ब ९० करोड ८३ लाख लगानी योग्य रकम छ ।
यस्तै, कोषले समयकालीन कर्जा अन्तर्गत विभिन्न परियोजनामा रू. १६ अर्ब ६३ करोड लगानी गरेको छ । कोषले नेपाल वायुसेवा निगमको वाइडबडी किन्न रू. १२ अर्ब, अपर तामाकोशी जलविद्युत् परियोजनामा रू. २ अर्ब, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा रू. २९ करोड लगानी गरेको छ । यस्तै, कोषले समयकालीन कर्जामार्पmत बचतकर्तालाई पनि आवास निर्माणका कर्जा प्रवाह गर्दै आएको छ ।
त्यस्तै, कोषले आफ्ना बचतकर्तालाई रू. २४ अर्ब १ करोड सापटी तथा कर्जा प्रवाह गरेको छ । साथै, नेपाल सरकारको ऋणपत्रमा कोषले रू. ६० करोड लगानीको गरेको तथ्यांकमा उल्लेख छ । यसैगरी कोषले धितोपत्र बजारको दोस्रो बजारमा रू. ६ अर्ब ९३ करोड लगानी गरेको छ ।