ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चक्रपथ सुधार आयोजना : कलंकी–चाबहिल सडक ८ लेनको बनाइँदै

Nov 4, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । सडक विभागले चक्रपथ सुधार आयोजना अन्तर्गत दोस्रो चरणमा कलंकीदेखि चाबहिलसम्म ८ लेनको सडक बनाउनका लागि पूर्वतयारी शुरू गरेको छ । उक्त सडक चौडा बनाउने कार्य चीनको अनुदानमा हुन लागेको हो । यसअघि चीनकै लगानीमा कोटेश्वर–कलंकी सडक खण्ड चौडा पारिएको थियो । चीनको सांघाइ कन्स्ट्रक्सन ग्रूपले उक्त सडक खण्ड चौडा पार्ने काम गरेको हो । चक्रपथको बाँकी खण्डको काम पनि सोही ग्रूपले गर्न लागेको छ । 

आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माण अन्तिम चरणमा पुगिसकेको र ‘साइट क्लियरेन्स’पछि मात्र कम्पनीले नेपाललाई डीपीआर उपलब्ध गराउने विभागका महानिर्देशक केशव शर्माले बताए । उनका अनुसार त्यसका लागि विभागले सडकमा पर्ने रूख काट्ने, पोल सार्ने, पुल भत्काउने, घर भत्काउने लगायत काम गर्न लागेको हो । रूख काट्ने र पोल सार्ने काम शुरू भइसकेको उनले बताए ।

साइट क्लियरेन्सका क्रममा दशैैंयता ५०० पोल सारिएको र ३०० रूख काटिएको विभागको भनाइ बछ । योजनाअनुसार सडक चौडा बनाउने क्रममा उक्त खण्डमा करीब २ हजार १०० रूख हटाउनु पर्नेछ । सडकको चौडाइ ६२ मीटर हुनेछ । सडकमा पर्नेे ५० ओटा घर पनि मुआब्जा दिएर भत्काइने चक्रपथ सुधार आयोजनाका प्रमुख अमृतमणि रिमालले जानकारी दिए । उनका अनुसार घरको मुआब्जाका रूपमा डेढ अर्बसमेत गरी रू. ३ अर्बमा साइट क्लियरेन्सको काम सम्पन्न हुनेछ । सीतापाइलास्थित सेनाको  ब्यारेकको केही भाग र नयाँ बसपार्कस्थित आकाशे पुल पनि भत्काइने विभागले बताएको छ । 

चीनले यसअघि २०७५ साल माघ दोस्रो साता कोटेश्वरदेखि कलंकीसम्मको १० दशमलव ३९ किलोमिटर सडक चौडा पारिसकेपछि नेपाललाई हस्तान्तरण गरेको थियो । २०६९ पुस ३ गते नेपाल सरकार र चिनियाँ कम्पनीबीच उक्त सडक खण्ड चौडा पार्नका लागि सम्झौता भएको थियो । सम्झौताअनुसार २०७० भदौबाट काम शुरू गरेको कम्पनीले ३ वर्षमा सडक बनाइसक्ने बताए पनि सडक चौडा गर्ने काम निर्धारित समयमा सम्पन्न हुन नसकी लम्बिएको थियो । उक्त सडक निर्माणमा केही त्रुटि पनि भएको पूर्वाधारविज्ञहरू बताउँछन् । 

आठ लेनको स्तरीय सडकबीचमा मेडियन, साइकल लेन, बस लेन, ट्राफिक संकेत, पर्याप्त आकाशे पुल र जेब्राक्रश छैनन् । उक्त त्रुटि नसच्याउँदा दुर्घटना बढेको विज्ञहरू बताउँछन् । अब बन्ने सडकमा त्यस्तो त्रुटि पहिले नै सच्याउनुपर्ने पूर्वाधारविद् किशोर थापाको मत छ । ‘कलंकी–कोटेश्वर सडक शहरी सडकका रूपमा डिजाइन भएन,’ उनले भने, ‘द्रुतमार्गजस्तो सडक बनेकाले पैदलयात्रु र गाडी चालक दुवैलाई असहज भयो र दुर्घटनाहरू बढे ।’ पहिलेको त्रुटिबाट सिकेर चिनियाँ ठेकेदार आउनुभन्दा पहिले नै साइट क्लियरेन्सको काम सके पहिलेको जस्तो समस्या नआउने उनले बताए । यसका साथै अहिलेदेखि नै काटिएका रूखको विकल्प सोच्नुपर्ने उनी बताउँछन् । 

शहरी सडक भए पनि सवारी साधनलाई मात्रै हेरेर कोटेश्वर–कलंकी खण्डको सडक बनाएकोमा आगामी दिनमा यस्तो त्रुटि दोहोरिन नहुने यातायात तथा ट्राफिक इन्जिनीयर आशिष गजुरेलको भनाइ छ । नेपाली टोलीले पहिले नै निर्माण कम्पनीसँग शहरी सडकको डीपीआर बनाउन लगाउनुपर्ने उनी बताउँछन् । उनले भने, ‘पैदलयात्रु अनुकूल सडक नबने त्यसले प्रतिकूल असर पार्छ ।’

चाबहिलसम्म सडक चौडा गर्ने योजना बनाएको विभाग तेस्रो चरणमा विस्तार गर्ने भनिएको चाबहिल–कोटेश्वर खण्डमा के गर्ने भन्ने अलमलमा छ । चाबहिलदेखि गौशालासम्म अत्यधिक घर भएको र सडक चौडा गरे विश्व सम्पदा सूचीमा परेको क्षेत्र पनि उक्त खण्डमा पर्न आउने हुँदा के गर्ने भन्ने निक्र्योल निस्किनसकेको महानिर्देशक शर्माले बताए । उनका अनुसार दोस्रो चरणको काम सकेर मात्रै तेस्रो चरणका लागि के गर्ने भन्ने विषयमा छलफल गरिनेछ । 

उक्त खण्डमा अत्यधिक घर पर्ने हुँदा सडक विस्तारभन्दा अन्य विकल्प सस्तो हुन सक्ने भएकाले अन्य विकल्प पनि सोच्न सकिने ट्राफिक इन्जिनीयर गजुरेल बताउँछन् । ‘उक्त खण्डमा सडक विस्तार गर्न खर्बौंै रुपैयाँ लाग्छ,’ उनले भने, ‘यसको विकल्पका रूपमा मेट्रोरेल, अर्बन केबलकार, अन्डरग्राउन्ड बस लगायत विकल्प अपनाउन सकिन्छ ।’
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)