पर्वत । पर्वतको कुश्मा नगरपालिकाका दुई युवाले माछापालनमा ३ करोड रुपैयाँ लगानी गरेका छन् । स्थानीय लालबहादुर हरिजन र दुर्गा पौडेलले कुश्मा नगरपालिका–४ अर्मादीमा बायो फ्लक्स प्रविधि भित्र्याएर माछापालन शुरू गरेका हुन् ।
व्यवसायमा हरिजन र पौडेलको बराबर लगानी छ । थोरै जमिनमा धेरै उत्पादन गर्नेगरी शुरू गरिएको उक्त फर्म धौलागिरि एकीकृत कृषि फर्मको नाममा दर्ता छ । हरिजन र पौडेलले २३ रोपनी जमिन २० वर्षका लागि भाडामा लिएर व्यवसाय शुरू गरेका हुन् ।
गोलाकार ढलान गरिएको जालीमा प्लास्टिक पोखरी बनाएर पानी भरिएको छ । युरोप र जापान लगायतका देशमा यस्तो माछापालन लोकप्रिय रहेको लगानीकर्ता दुर्गा पौडेलले बताए । ‘करीब दुई दर्जन पोखरीमा माहुर, तिलापिया र पंगाशेस (जलकपुर) जातका १ लाखभन्दा बढी माछा छन्,’ उनले भने, ‘माहुर, तिलापिया, र पंगासेस (जलकपुर) जातका माछा कम्तीमा ८ देखि १० महीनामा बेच्न मिल्छ ।
माहुर १ किलोसम्म हुन्छ । यसको बजारमुल्य प्रतिकिलो ३५० देखि ४०० रूपैयाँसम्म छ । पंगासेस आधा किलोको हुन्छ । यसको बजारमूल्य ५०० रुपैयाँ छ । तिलापिया बढीमा २०० ग्रामको हुन्छ ।’
माछापालनसँगै उनीहरूले बोइलर कुखुरापालन पनि शुरू गरेका छन् । कुखुरा र माछापालन एउटै फर्ममा गर्दा दुइतर्फी फाइदा हुने उनीहरूको भनाइ छ । पोखरा नजीकै भएकाले माछा र कुखुराको बजारका लागि चिन्ता नभएको उनीहरूले बताए ।
उनीहरूले पर्वत र बागलुङ बजारका विभिन्न स्थानमा आफ्ना उत्पादन विक्री केन्द्र सञ्चालनको तयारी समेत गरेका छन् । ‘बागलुङका तीन ठाउँमा शुरू भइसक्यो,’ दुर्गा पौडेलले भने, ‘पर्वतमा ४ ठाउँ र म्याग्दीको बेनीमा २ ठाउँमा विक्रीकेन्द्र सञ्चालन गर्दैछौं ।’
उनीहरूले फर्मकै नामबाट १ करोड रुपैयाँभन्दा बढी लागतमा धौलागिरिमै पहिलोपटक आधुनिक कुखुरा वधशाला सञ्चालनको तयारी समेत गरेका छन् । यससँगै उक्त ‘अटोमेटिक सटरिङ लाइन’ मार्फत धौलागिरिमा अव्यवस्थित कुुखुरा वध अन्त्य हुने विश्वास गरिएको पौडेलले बताए ।
वधस्थल निर्माण गर्न प्रदेश सरकारले १ करोड रुपैयाँ अनुदान दिएको छ । धौलागिरिका सबै जिल्लामा गुणस्तरीय माछामासु पुर्याउने फर्मको लक्ष्य छ । नयाँ प्रविधिको माछापालन शुरु भएपछि देशका विभिन्न स्थानबाट अवलोकनकै लागि दैनिक १०/ १२ समूह आउने गरेको उनीहरूले बताए ।