कात्तिक १८, धनगढी । बझाङको बुङ्गल नगरपालिका–१ स्थित कालंगा हाइड्रोको सुरुङ भत्किएको छ । सुरुङ भत्किँदा भित्र रहेका चार जना मजदूर सम्पर्कबिहीन भएका छन् । ७५ मेगावाट क्षमताको कालंगा हाइड्रोको ३०० मिटर लामो उक्त सुरुङभित्र आइतवार दिउँसो करीब ३ बजे छ जना मजदूर छिरेका थिए । जसमध्ये दुई मजदूर स्वास फेर्न गाह्रो भएको भन्दै तत्कालै बाहिर निस्किएका थिए । बाँकी चार जना सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, डीएसपी गणेशबहादुर बमले जानकारी दिए ।
प्रहरीका अनुसार सुरुङभित्र सम्पर्कबिहिन हुनेमा दैलेखको गुराँस गाउँपालिका–३ का कर्णबहादुर शाही, सोही ठाउँका ३२ वर्षीय महेन्द्रबहादुर शाही, अछामको तुर्माखाँद गाउँपालिका–६ का २८ वर्षीय महेन्द्र साउद र बझाङको बंगल नगरपालिका–१ का ३५ वर्षीय शेरसिंह धामी रहेका छन् । लामो समय सुरुङमा थुनिएका चारै जनाको मृत्यु भैसकेको आशंका प्रहरीले गरेको छ । घटनास्थलमा पुगेको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धारको प्रयास गरिरहेका छन् । भत्किएको सुरुङ छिचोल्न कठिनाई भएको र काठमाडौंबाट थप प्राविधिक बोलाइएको डीएसपी बमले बताए ।
बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेसहित जिल्लाका सुरक्षा निकाय प्रमुखहरु घटनास्थल पुगेका छन् । प्रजिअ पाण्डेले सुरुङमा अक्सिजनको अभाव हुँदा उद्दारमा कठिनाई भएको बताए । उद्दारका लागि काठमाडौंबाट हेलिकोप्टर बोलाईएको उनले बताए ।