ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खाद्य संस्थानले धान खरीद नगर्दा किसान मर्कामा, सस्तोमा अन्यत्रै बेच्न बाध्य

Nov 4, 2019  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

कात्तिक १८, महेन्द्रनगर । सरकारले धानको समर्थन मूल्य तोकेपनि साविकको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान) कार्यालयले भने हालसम्म धान खरीद शुरु गरेको छैन । सरकारले चालू आर्थिक वर्षमा देशभरीका लागि धानको समर्थन मूल्य निर्धारण गरिसक्दासमेत खाद्य संस्थानले धान खरीद नगर्दा किसान मर्कामा परेका हुन् ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले संस्थानले धान खरीद नगर्दा कैलाली र कञ्चनपुरका किसान मर्कामा परेका बताए । संस्थानले धान खरीद नगरेपछि किसान सस्तो मूल्यमा अन्य व्यापारीलाई धान बेच्न बाध्य भएको उनले बताए । अधिकांश किसानले धान काटीसकेको बताउदैं निमित्त प्रमुख भट्टले भने ‘सबैजसो किसानले लामो समय धान भण्डारण गरेर राख्न सक्दैनन्, गल्लावालले एकमुष्ट धान खरीद गर्दा किसानसँग बार्गेनिङ गरी सस्तैमा धान खरीद गरिरहेका छन् ।’ किसानको सहजताका लागि संस्थानले तत्काल डिपो सञ्चालन गरी धान खरीद गर्नुपर्ने उनको भनाइ छ । साहुको क्रण तिर्न, दैनिक खर्च धान्न तथा अन्न भण्डारको अभावका कारण किसान खेतबाटै धान बेच्न बाध्य छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१, बिचपुरीका राम बहादुर चौधरी सोमवार संस्थानको महेन्द्रनगर शाखामा पुगेर फर्किए । धान खरीदबारे बुझ्न आएका उनले सरकारले धान खरीद नगर्दा सस्तो मूल्यमा बाहिर बेच्नुपर्ने अवस्था आएको सुनाए । त्यस्तै सोही नगरपालिका वडा नं. २ उल्टाखामका किसान माधव जोशीले पनि संस्थानले धान खरीद नगर्दा किसान समस्यामा परेको बताए । किसानले विभिन्न समस्याका कारण धान भण्डारण गरेर राख्न सक्ने अवस्था नरहेको उनको गुनासो छ । छिट्टै डिपो सञ्चालन गरी धान खरीदका लागि किसानले संस्थानसँग आग्रह गरेका छन् । त्यस्तै खाद्य अधिकार सञ्जाल कञ्चनपुरका अध्यक्ष कोमल निरञ्जन भाटले पनि तत्काल धान खरीद केन्द्र सञ्चालनमा ल्याउनुपर्ने बताए ।

यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड महेन्द्रनगर शाखाका प्रमुख जयराज जोशी भने केन्द्रिय कार्यालयबाट धान खरीदका लागि निर्देशन नआएको बताउँछन् । सरकारले समर्थन मूल्य तोकेपनि उक्त मूल्यमा संस्थानले धान खरीद गर्न केन्द्रबाट निर्देशन आउनुपर्ने उनको भनाइ छ । सरकारले तोकेको मूल्यमा संस्थानले धान खरीद गर्न सक्ने वा नसक्ने यकिन नहुदाँ निर्देशन नआएको उनले बताए । शाखा प्रमुख जोशीले भने, ‘सरकारले तोकेको मूल्यमा संस्थानले किनेर बेच्न सक्नुपर्छ, घाटा हुने देखिए सरकारले त्यसका लागि अनुदानको व्यवस्था गर्नुपर्छ ।’

यद्यपि केन्द्रिय कार्यालयलाई धान खरीदका लागि आदेश माग भईसकेको उल्लेख गर्दै उनले आदेश आए लगत्तै महेन्द्रनगर शाखाले १० हजार क्विन्टल धान खरीद गर्ने जानकारी गराए । कैलालीमा ७१ हजार तथा कञ्चनपुरमा ३८ हजार हेक्टरमा धानबाली लगाईएको छ । यस वर्ष कैलाली र कञ्चनपुरमा प्रतिहेक्टर ३ मेट्रिक टन धान उत्पादन हुने आंकलन गरिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले बताएको छ ।

मन्त्रिपरिषद्को कात्तिक ५ गने बसेको बैठकले धानको समर्थन मूल्य तोकेको थियो । जसअनुसार मोटा धान प्रतिक्विन्टल २ हजार ५३१ रुपैयाँ २२ पैसा र मध्यम धानको मूल्य प्रतिक्विन्टल २ हजार ६७३ रुपैयाँ १६ पैसा तोकिएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)