ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धान खरीदमा खाद्य संस्थानको ढिलाइ : किसान सस्तोमा धान बेच्न बाध्य

Nov 5, 2019  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मदन गिरी

महेन्द्रनगर । सरकारले धानको समर्थन मूल्य तोके पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान) ले हालसम्म कैलाली र कञ्चनपुरमा धान खरीद शुरू गरेको छैन । संस्थानले धान खरीदमा ढिलाइ गर्दा किसान भने व्यापारीलाई सस्तोमा धान बेच्न बाध्य भएका छन् । 

संस्थानले विगतका वर्षमा किसानबाट धान खरीद गर्दै आएको थियो । गत वर्ष १० हजार क्विन्टल धान खरी गर्ने लक्ष्य राखिए पनि किसानबाट ५०० क्विन्टल मात्र धान खरीद गरेको संस्थानको तथ्यांक छ । सरकारी निकायले समर्थन मूल्यअनुसार खरीद गर्ने भएकाले किसानले व्यापारीलाई सस्तोमा बेच्नु नपर्ने हुन्थ्यो । कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले संस्थानले धान खरीद नगर्दा कैलाली र कञ्चनपुरका किसान मर्कामा परेको बताए । 

अधिकांश किसानले धान काटिसकेको उनले जानकारी दिए । उनले भने, ‘सबैजसो किसानले लामो समय धान भण्डार गरेर राख्न सक्दैनन्, गल्लावालले एकमुष्ठ धान खरीद गर्दा किसानसँग बार्गेनिङ गरी सस्तैमा धान खरीद गरिरहेका छन् ।’ किसानको सहजताका लागि संस्थानले धान खरीदका लागि तत्काल डिपो सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । 

साहुको ऋण तिर्न, दैनिक खर्च धान्न तथा अन्न भण्डारको अभावका कारण किसान खेतबाटै धान बेच्न बाध्य छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१ बिचपुरीका राम बहादुर चौधरी सोमवार संस्थानको महेन्द्रनगर शाखामा पुगेर फर्के । धान खरीदबारे बुझ्न आएका उनले सरकारले धान खरीद नगर्दा सस्तो मूल्यमा बाहिर बेच्नुपर्ने अवस्था आएको सुनाए । 

त्यस्तै, भीनपामा–२ उल्टाखामका किसान माधव जोशीले पनि संस्थानले धान खरीद नगर्दा किसान समस्यामा परेको बताए । किसानले विभिन्न समस्याका कारण धान भण्डारण गरेर राख्न नसक्ने उनको भनाइ छ । किसानले समयमै डिपो सञ्चालन गरी धान खरीदका लागि संस्थानसँग आग्रह गरेका छन् । खाद्य अधिकार सञ्जाल कञ्चनपुरका अध्यक्ष कोमल निरञ्जन भाटले पनि तत्काल धान खरीद केन्द्र सञ्चालनमा ल्याउन जोड दिए । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड महेन्द्रनगर शाखाका प्रमुख जयराज जोशीले केन्द्रीय कार्यालयबाट धान खरीदका लागि निर्देशन नआएको बताए । उनका अनुसार सरकारले समर्थन मूल्य तोके पनि उक्त मूल्यमा संस्थानले धान खरीद गर्न सक्ने वा नसक्ने यकिन नहुँदा निर्देशन नआएको हो । ‘सरकारले तोकेको मूल्यमा संस्थानले किनेर बेच्न सक्नु पर्छ, त्यसका लागि सरकारले अनुदानको व्यवस्था गर्नुपर्छ,’ उनले भने । केन्द्रीय कार्यालयलाई धान खरीदका लागि आदेश माग भइसकेको उल्लेख गर्दै आदेश आएलगत्तै महेन्द्रनगर शाखाले १० हजार क्विन्टल धान खरीद गर्ने जानकारी दिएको छ । 

कैलालीमा ७१ हजार तथा कञ्चनपुरमा ३८ हजार हेक्टरमा धानबाली लगाइएको छ । यस वर्ष कैलाली र कञ्चनपुरमा  प्रतिहेक्टर ३ मेट्रिक टन धान उत्पादन हुने आँकलन गरिएको कृषि ज्ञानकेन्द्र कञ्चनपुरले जानकारी दिएको छ । केन्द्रीय सरकारको मन्त्रिपरिषद्को गत कात्तिक ५ गते बसेको बैठकले धानको समर्थन मूल्य तोकेको थियो, जसअनुसार मोटा धान प्रतिक्विन्टल २ हजार ५३१ रुपैयाँ २२ पैसा र मध्यम धामको मूल्य प्रतिक्विन्टल २ हजार ६७३ रुपैयाँ १६ पैसा तोकिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)