ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पिल्लरीफाँटामा २५ वर्षपछि विद्युत् पुर्‍याइँदै

Nov 6, 2019  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मदन गिरी

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाकै दुर्गम बस्ती पिल्लरीफाँटामा विद्युत् सेवा पुर्‍याइने भएको छ । यहाँ २०५१ सालदेखि बस्ती बस्न थालेको भए पनि हालसम्म विद्युत् पुग्न सकेको थिएन । नगर प्रमुख दिलबहादुर ऐरले उक्त बस्तीमा ४ महीनाभित्र बिजुली पुर्‍याइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

केही दिनअघि पिल्लरीफाँटा पुगेका नगर प्रमुख ऐरले विद्युत् आपूर्तिका लागि प्रक्रिया अघि बढिसकेको बताए । ‘लामो समयदेखि पिल्लरीफाँटामा विद्युत्को पहुँच पु¥याउने प्रयास गरिए पनि सफल हुन सकेना थिएनौं,’ उनले भने, ‘अब छिट्टै यो समस्याको समाधान गर्छौं ।’ पूरै बस्तीमा विद्युतीकरणका लागि लाइनको सर्भे भइरहको उनले जानकारी दिए । गत आर्थिक आवमा ४० ओटा पोल पुर्‍याइसकिएको उनले बताए ।

त्यस्तै जिल्लाभरिमा विद्युत् प्रसारण लाइन विस्तारको जिम्मा पाएको जगन्नाथ बेताल निर्माण सेवाका सुरेन्द्र भट्टले लाइन विस्तारका लागि सर्भे भइरहेको बताए । पिल्लरीफाँटामा बिजुली बत्ती पुर्‍याउन २०० पोल र दुईओटा ट्रान्समिटर आवश्यक पर्ने उनको भनाइ छ । विद्युत् प्राधिकरण र नगरपालिकाले आवश्यक बजेट उपलब्ध गराए चाँडै विद्युत् आपूर्ति हुने उनको दाबी छ ।

पिल्लरीफाँटाका स्थानीय लामो समयदेखि विद्युत् अभाव झेलिरहेका छन् । विद्युत् सेवा नहुँदा आफूहरूको दिनचर्या कष्टकर बनेको स्थानीय दुबरदास चौधरीले गुनासो गरे । ‘बिजुली बत्ती भएपछि सबैजसो कामकाज सजिलै गर्न सकिन्थ्यो,’ उनले भने, ‘यो नहुँदा श्रम र पैसा धेरै खर्च हुने गरेको छ ।’ बिजुली बत्ती नहुँदा आफूहरू सोलार र टर्च लाइटको भरमा जीवनयापन गर्न बाध्य रहेको स्थानीय कल्पना ठगुन्नाले बताइन् । करीब ७०० घरपरिवार रहेको उक्त बस्तीमा विकासका अन्य पूर्वाधारको पनि अभाव छ । गाउँमा विद्यालय, खानेपानी र यातायातको सुविधा नभएको स्थानीय कमानसिंह धामीले गुनासो गरे । ‘५ कक्षा सम्म पढाइ हुने विद्यालय भएपछि माथिल्लो कक्षा अध्ययनका लागि बेलडाँडी धाउनुपर्छ,’ उनले भने । चारैतिर वनजंगल रहेको उक्त बस्तीमा जंगली जनावरको त्रास हुने गरेको समेत स्थानीयले बताएका छन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)